गृहिणीलाई गलैंचाको सहारा

पर्वत पोर्तेल

भद्रपुर, झापा — झापा भद्रपुर ३ कि विनिता नेम्बाङ समयमै बिहानको घरधन्दा सक्छिन् । सिकुवाको थक्ता (फलामे तान) तिर जान्छिन् अनि गलैंचा बुन्न थाल्छिन् । पहिला दिनभर फुर्सदिली थिइन् । दिन काट्न गाह्रो थियो ।

गृहिणीलाई गलैंचाको सहारा

अहिले उनलाई भ्याइनभ्याइ छ । ‘पहिला घरको काम सकेपछि दिनभरि फुर्सदिलो हुन्थें,’ विनिताले भनिन्, ‘अहिले सास फेर्न पनि फुर्सद छैन ।’


विनिताकी छिमेकी भुलमाया राईको दिनचर्या पनि उस्तै । दिनभर सिकुवाको तानमा हात सल्वलाउँछन् उनका । भुलमायाका त काम गर्ने बुहारी छिन्, त्यसैले सजिलो छ । घरधन्दा बुहारीको जिम्मा लगाएर उनी बिहान उठेदेखि राति अबेरसम्म गलैंचा बुन्न बस्छिन् ।


अर्की देवीमाया मावोको कथा पनि उनीहरूसँग मिल्छ । उनको तान भुलमायाकै घरमा छ । उनी पनि घरधन्दा सक्छिन् । बालबच्चालाई स्कुल पठाउँछिन् र दौडेर आइपुग्छिन् भुलमायाकामा । नाताले नन्द–भाउजू पर्ने यी दुई गफिँदै दिनभरि गलैंचासँग लुकामारी खेल्छन् ।


भुलमायाको कथा अलि भिन्न छ । उनीसँग गलैंचा बुन्ने अनुभव लामो छ । २०५१ सालतिरै उनले काठमाडौंमा तालिम लिएकी थिइन् । काम खोज्दै घर छाडेर काठमाडौं पुग्दा जोरपाटीको एक गलैंचा उद्योगमा उनी पुगेकी थिइन् । त्यही काम सिकिन् । त्यहीँ सात वर्षजति काम गरिन् । घरजम पनि उतै भयो । पछि पतिले कान्छी बिहे गरेपछि छोरो च्यापेर माइत फर्किइन् ।


घरको स्थिति दयनीय थियो । त्यही भएर यिनले विदेश ताकिन् । तीनपटक गरी कुवेतमा ८ वर्ष बिताइन् । घरेलु कामदारका रूपमा कुवेत बसेकी थिइन् । कमाइ राम्रै थियो । कमाए जति बुबा आमाको उपचार र एउटा छोराको पढाइमै सकियो । अन्तिममा बुबा आमा पनि बिते । ११ महिनाअघि घर फर्किएकी उनी अहिले पुनः पुरानै कामलाई निरन्तरता दिइरहेकी छन् । ‘केही महिना चियापत्ती टिप्ने काम गरें,’ उनले सुनाइन्, ‘बुढेसकाल लागेछ कि क्या हो काम गर्नै सकिनँ, छाडिदिएँ ।’


विदेशकै कमाइले थोरै जमिन जोडेकी थिइन् । त्यही जमिनमा सानो घर बनाएकी छन् । विदेशबाट फर्किएपछि बेरोजगार भएर बसिरहेकी थिइन्, गाउँका अरू महिलाले गलैंचा बुनेको देखिछन् । सोधखोज गर्दा थाहा भएछ, बिर्तामोड ८ देउनियाँका मोहन पी राई दम्पतीले बेरोजगार महिलालाई गलैंचा बुन्न लगानी गरेको कुरा । गलैंचा उद्योगका सञ्चालकलाई भेटेर काम गर्ने प्रस्ताव राखिन् । त्यसपछि सुरु गरिन् काम ।


काम सुरु गरेयता उनले सातवटा गलैंचा बुनेर उद्योगलाई बुझाइसकिन् । यिनको घरमा चारवटा तान छन् । महिनामा एउटा त अनिवार्य बुन्नैपर्ने बाध्यता छ । ‘महिनामा एउटा चैं बुनिसक्छु,’ भुलमायाले भनिन् । उद्योगले एउटा गलैंचा बुनिसक्दा ८ हजार रुपैयाँ ज्याला दिन्छ । त्यही ज्यालाले तीनजनाको परिवार पाल्छिन् । ‘हातमा सीप हुँदा भोकले चैं मरिन्न रहेछ,’ उनी भन्छिन् ।


बिर्तामोड ८ देउनियाँमा एलईएम नामको एउटा गलैंचा उद्योग छ । त्यही उद्योगले ग्रामीण भेगका महिलाहरूलाई आत्मनिर्भर बनाइरहेको छ । उद्योग घरेलु तथा साना उद्योग झापामा दर्ता गरेर करिब तीन वर्षदेखि उद्योग सञ्चालन गरिएको सञ्चालक मोहन पी राईले बताए ।


उनका अनुसार झापाको भद्रपुर, हल्दिबारी, बाह्रदसीलगायत पालिकाका करिब ४० जनाभन्दा बढी गृहिणीहरूलाई उद्योगले लगानी गरिदिएको छ । फलामे तान, धागोदेखि गलैंचा बुन्न चाहिने सबै कच्चा पदार्थ उद्योगले उपलब्ध गराउँदै आएको राईले बताए । उनका अनुसार महिलाहरूले बुनेका गलैंचा काठमाडौं जोरपाटीको एक उद्योगले खरिद गर्ने गरेको छ ।

प्रकाशित : भाद्र ७, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?