२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

बगानमा लटरम्म स्याउ, किसान भने बेखुसी

हरि गौतम

रुकुम पूर्व — बगानैपिच्छे लटरम्म स्याउ । फल धान्न नसक्ने बोटलाई टेको लगाइएको छ । बगान हेरेरै मन फुरुंग हुन्छ । पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्पा र झार्लुङका बगानमा स्याउ लटरम्म छन् । आफ्नै लगानी र दुःखले रोपेका स्याउका बोटमा फल लागे पनि यहाँका बासिन्दा खुसी छैनन् ।

बगानमा लटरम्म स्याउ, किसान भने बेखुसी

हाँगा लच्किने गरी फल लागे पनि गत वर्ष लाभ लिन नसकेका कारण किसान उत्साहित नभएका हुन् ।

‘यस वर्ष अपेक्षाभन्दा धेरै स्याउ फल्यो, बोट लच्किएका छन्, टेको लाएर अड्याएका छौं,’ स्थानीय जिताराम कामीले भने, ‘स्याउले हाम्रो जीवनलाई टेको लाउँदैन ।’ पेल्पा र झार्लुङको स्याउ बजार अभावमा प्रत्येक वर्ष कुहिन्छ ।’ कि खोलाबाट आउने ओत र कागले स्याउ खान्छन् कि रूखमै कुहिएर झर्छ । टिपेका पनि खेर जान्छन् । स्याउ बिक्री गरेर जीविकोपार्जन गर्ने स्थानीयको सपना पूरा भएको छैन ।

स्याउ बिक्री नहुने भएपछि किसान चिन्तामा छन् । गत वर्ष पनि स्याउ बिकेन । गाउँघरमा खपत हुँदैन । बजार टाढा छ । ढुवानी भाडा महँगो छ । धेरै पैसा तिरेर बजार पुर्‍याए महँगो भएर कोही खरिद गर्दैनन् । यसपालि पनि स्याउ बगानमै कुहिने चिन्ता बढेको छ । यहाँ स्याउ जाँड बनाउन प्रयोग गरिन्छ ।

स्थानीयका अनुसार यस वर्ष पालिकाभरि ५० टनभन्दा बढी स्याउ फलेको छ । उत्पादित स्याउमध्ये आधा मात्रै बजारसम्म पुर्‍याउन सके ठूलो आम्दानी हुने कामीले बताए । ढुवानी व्यवस्था नभएकाले हरेक वर्ष स्याउ खेर जाने गरेको छ ।

प्रदेश सरकारलाई हेलिकप्टरमार्फत स्याउ ढुवानी गरिदिन अनुरोध गर्ने तयारीमा रहेको कामीले बताए । ‘गाउँ कार्यपालिका बैठक गरेर हेलिकप्टरमार्फत स्याउ ढुवानीका लागि आग्रह गर्न बुटवल जाने तयारीमा छौं,’ उनले भने, ‘प्रदेश सरकारले निःशुल्क स्याउ ढुवानी गरिदियो भने मात्रै किसानको दुःख केही कम हुन्छ ।’

उनी गाउँ कार्यपालिका सदस्य हुन् । कार्यपालिका बैठकमा किसानका तर्फबाट स्याउ ढुवानी गर्न प्रस्ताव लैजाने तयारी भइरहेको उनले बताए । चाँडै सडक सञ्जालमा नजोडिने भएकाले विकल्प प्रयोग गरिएन भने स्याउका बोट फँडानी गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।

गाउँपालिकाका हरेक घरमा स्याउका बोट छन् । व्यावसायिक बगान भने १, २, ५, ६, ८, १०, ११ वडामा धेरै छन् । हरेक वर्ष स्याउका बोट रोप्ने र फलाउने किसानको संख्यामा बढदै छ । ‘हाम्रो क्षेत्रको जीवन उकास्न स्याउ नै प्रमुख विकल्प हो,’ पेल्माका कर्म बुढा मगरले भने, ‘फलेको स्याउ बिक्री नभएपछि निराशा मात्रै बढेको छ ।’

स्थानीय, प्रदेश र संघीय सरकारले किसानको स्याउ बिक्री हुने वातावरण मिलाइदिनुपर्ने माग उनको छ । राम्रो स्याउ उत्पादन हुने भएपछि किसान आकर्षित भइरहेका छन् ।

उक्त क्षेत्रमा गोल्डेट, रिच, रेड, डेलिसियसलगायत जातका स्याउ फलेका छन् । पेलमा, झार्लुङ, मैकोट, पुसर, हुकाम, मयाङ, अंगाउ, घुम्लीबाङ, दमचनलगायत ठाउँमा ठूला बगान छन् र स्याउ पनि धेरै फलेका छन् । गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले पनि पुथामा फलेका स्याउले बजार पाउन नसकेको बताए ।

‘सरकार आफैंले ढुवानी गरिदिने वा ढुवानी अनुदान दिने विषयमा प्रदेश र संघले सोच्नुपर्छ,’ अध्यक्ष घर्तीले भने, ‘हामीले पनि स्थानीय सरकारबाट गर्न सक्नेजति सहयोग गर्न छलफलमा जुटिरहेका छौं ।’

प्रकाशित : भाद्र ६, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?