कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

एक महिनामै अर्ब राजस्व

रसुवा — रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा १ अर्ब ३ करोड ५ लाख ४८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

एक महिनामै अर्ब राजस्व

कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा यति धेरै राजस्व संकलन गरेको जनाएको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा ४६ करोड ७८ लाख ९१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।

साउन महिनामा मासिक लक्ष्यभन्दा १२०.२५ प्रतिशत बढी संकलन भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड ४ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यर्थाथपरक रूपमा आफूले सामान आयात गरेको बिलबिजक राखेर मूल्यांकन गरी त्यसअनुसारको भन्सार महसुल तिर्न व्यवसायीहरू राजी भएकाले राजस्व संकलनमा वृद्धि भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताए ।


‘नाकामा दिन प्रतिदिन व्यावसायिक गतिविधि बढ्दै गएको छ,’ खड्काले भने, ‘यस वर्ष नाका जोड्ने सडक अवरुद्ध भएको छैन ।’ गत वर्ष पहिरोका कारण एक महिनाभन्दा बढी नाका जोड्ने सडक अवरुद्ध भएको थियो ।


भन्सार विभागले आर्थिक वर्ष ०७६/७७ का लागि रसुवा भन्सार कार्यालयलाई ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य दिएको छ । पछिल्लो समय नाकाबाट अर्बौं मूल्य बराबरको सामान पैठारी भइरहेको छ । सामान पैठारीमा वृद्धि भएसँगै राजस्व संकलन पनि बढेको भन्सार कार्यालयले जनायो ।


यो नाकाबाट तयारी कपडा, स्याउ, लेडिज सेन्डल, रबर, प्लास्टिकका जुत्ता चप्पल, हातेझोला, छालाका जुत्ता, मोटरको ब्याट्री, यूपीएस, चस्मा/चस्माको फ्रेम, प्लास्टिकका सामानलगायत वस्तुहरू पैठारी भइरहेका छन् ।


नेपालबाट चीनतर्फ धातुका मूर्ति, मेहन्दी, दन्तमञ्जन, शृंगारका सामान, चाउचाउ, पास्ता, जुस जाम, चकलेट, उनी गलैंचा कार्पेट, चुइङगम, हेयर आयल, हेयर क्रिमलगायत निकासी भइरहेका छन् । पैठारीको तुलनामा निकासी भने घटदो छ ।


भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट भइरहेको छ । भन्सारले मासिक अर्बौं राजस्व संकलन गरे पनि नाकामा पर्याप्त मात्रामा भौतिक पूर्वाधारको भने अभाव छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?