कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चिनियाँ अनुदानको खाद्यान्न स्थगित

राजबहादुर शाही

मुगु — मुगमकार्मारोङ गाउँपालिकाका बासिन्दालाई उपलब्ध गराउँदै आएको खाद्यान्न अनुदान कार्यक्रम चीन सरकारले स्थगित गरेको छ ।

उसले सात वर्षदेखि करिब ३५ लाख रुपैयाँको चामल, नुन, तेललगायत खाद्यान्न स्थानीय बासिन्दालाई निःशुल्क उपलब्ध गराइरहेको थियो ।


चीन सरकारले अनुदानको खाद्यान्न रोकेपछि न्यून उत्पादन हुने गाउँपालिकाका बासिन्दा समस्यामा परेका छन् । स्थानीयले चीन सरकारले उपलब्ध गराएको खाद्यान्न चाडपर्वमा प्रयोग गर्दै आइरहेका थिए । चिनियाँ प्रतिनिधिले अनुदानको खाद्यान्न सीमा क्षेत्र हयाजिमारमा पुर्‍याउने गरेका थिए ।


हयाजिमारमा ल्याइएको खाद्यान्न गाउँपालिकाका प्रतिनिधि, कर्मचारी र स्थानीयले बुझेर ल्याउने गरेका थिए । गाउँपालिकाका अनुसार उक्त खाद्यान्न पालिकाका ९ वटै वडाका बासिन्दालाई समान रूपले वितरण गरिन्थ्यो । यसपटक चीन सरकारले रोक लगाउँदा खाद्यान्न अभावको समस्या झेल्नुपर्ने अवस्था आएको मुगु गाउँका टासी तामाङले बताए । कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा मुगुलगायत चीनसँग सीमा जोडिएका जिल्लामा खाद्यान्न अभाव पूर्ति गर्न चीन सरकारले निःशुल्क खाद्यान्न दिने सम्झौता भएको थियो ।


मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले यस वर्ष चीन सरकारले खाद्यान्न नदिँदा स्थानीयबासी समस्यामा परेको बताए । ‘चीन सरकारले अनुदानको खाद्यान्न रोकेको विषयमा संघीय सरकारले पहल गर्न जरुरी छ,’ उनले भने, ‘हामीलाई खाद्यान्न रोकिएको विषयमा पनि औपचारिक जानकारी दिइएको छैन ।’


उनका अनुसार चीनले उपलब्ध गराएको खाद्यान्न १ हजार ३ सय घरधुरीलाई वितरण गरिन्थ्यो । गत वर्षको असार २६ गते गाउँपालिकाका जनप्रतिनिधि र तिब्बत सरकारका प्रतिनिधिबीच भएको भेटवार्ताका क्रममा चिनियाँ पक्षले केन्द्रीय सरकारबाट त्यसबारे कुनै सर्कुलर नआएको जनाएको थियो ।


लामाका अनुसार भौगोलिक विकटता र सिँचाइको असुविधाले गाउँपालिकाका स्थानीयलाई चिनियाँ खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ । स्थानीयले चिनियाँ सीमा हयाजिमारमा १५ दिन लाग्ने हाटबजारमा गई वर्षभरिका लागि खाद्यान्न र दैनिक उपभोग्य सामग्री ल्याउने गरेका छन् ।


गाउँपालिकाका स्थानीयको सहजताको लागि पुलुमा स्थापना गरिएको खाद्य डिपोमा पर्याप्त चामल ढुवानी नहुँदा बर्सेर्नि समस्या हुने गरेको गाउँपालिका अध्यक्ष लामाले बताए । ‘स्थानीयलाई चीन सरकारले उपलब्ध गराएको खाद्यले ठूलो राहत पुगेको थियो,’ उनले भने, ‘खाद्यान्न सहयोगले गर्दा चीन र गाउँपालिकाको सम्बन्ध सुमधुर बन्दै गएको थियो ।’

प्रकाशित : भाद्र ६, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?