१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बाढीले माथिल्लो मर्स्याङ्दी ‘ए’ मा क्षति

क्षति पुगेको ठाउँमा ३ दिनयता मर्मत कार्य सुरु गरिएपछि आयोजनाले विद्युत् उत्पादनसमेत सुचारु गरेको छ
आश गुरुङ

लमजुङ — मर्स्याङदी गाउँपालिका–७ ङादीको सिस्नेरी खोलाको बाढीले ५० मेगावाटको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ ।

बाढीले माथिल्लो मर्स्याङ्दी ‘ए’ मा क्षति

आयोजनाको इन्टेक, ड्यामको गेट, डिसेन्डरबाट सुरुङ जाने बाटो र बिग्रनुका साथै पर्खालसमेत बाढीले भत्काएको छ ।


आयोजनाका अनुसार बाढीले क्षति पुर्‍याएपछि आइतबारदेखि बुधबारसम्म आयोजनाको उत्पादन बन्द भयो । यस्तै बाहुनडाँडालगायत उत्तरी क्षेत्र जाने बाटोसमेत अवरुद्ध भएको थियो । तीन दिनयता मर्मत गरी आयोजनाबाट विद्युत् उत्पादन थालिएको जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए ।


आयोजनामा क्षति पुगेको भागमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोको ब्युरो ६ ले मर्मत गरिरहेको छ । उक्त ब्युरोले आयोजनाका १३२ केभी राष्ट्रिय प्रसारण लाइन र पुलको निर्माण गरेको थियो । ‘आयोजनाको इन्टेकमा क्षति पुग्दा विद्युत् उत्पादन ३ दिन बन्द भयो,’ अधिकारीले भने, ‘यसबाट ३ हजार मेगावाट (३० लाख युनिट) विद्युत् उत्पादन घाटा भएको छ ।’


अमेरिकी डलर प्रतियुनिट लागत ७ सेन्ट (७ रुपैयाँ) मा विद्युत् प्राधिकरणसँग खरिद बिक्री सम्झौता भएको थियो । आयोजनाबाट ३ दिन उत्पादन बन्द हुँदा कम्तीमा २ करोड १० लाख रुपैयाँ विद्युत् उत्पादन घाटा व्यहोर्नुपरेको आयोजना स्रोतले बताएको छ । आयोजनाबाट विद्युत् उत्पादन भएको २ वर्षयता यो सबैभन्दा ठूलो क्षति हो ।


आयोजनाका दोभासे प्रमुख दयाराम दाहालका अनुसार बाढीले खोलामा ढलान गरी बनाइएको पक्की पुलमा समेत क्षति पुर्‍याएको छ । बाढीले बगाएर ल्याएको ढुंगामाटोसहितको लेदो पन्छाउने काम भइरहेको छ । ‘केही मर्मतपछि विद्युत् उत्पादन सुरु गर्‍यौं,’ उनले भने, ‘सबै पन्छाउन महिनादिन लाग्छ ।’ उनले तत्काल सर्वसाधारणका लागि बाटो खुलाउने र आयोजनाबाट विद्युत् उत्पादनको काम थालिएको बताए ।


सिस्नेरी खोलामा आएको बाढीले ङादी भएर बाहुनडाँडा क्षेत्र जाने र हिमाली जिल्ला मनाङ जाने बाटो अवरुद्ध बनेको थियो । बाढीले स्थानीय डिलबहादुर गुरुङको कुखुराको फार्मबाट ६ सय लेयर्स कुखुरा बगाएको र आयोजनाका २ कामदारका मोटरसाइकल पुरेको थियो ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?