१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रुद्राक्षको आकार बिगार्दै किसान

चिनियाँ व्यापारीलाई आकर्षित गर्न रुद्राक्षका बोटमा विषादी छर्किने र कृत्रिम क्लिप लगाउन थालिएको छ 
दीपेन्द्र शाक्य

संखुवासभा — चिनियाँ व्यापारी आकर्षित पार्न भोजपुर र संखुवासभामा रुद्राक्षको बोट बिगार्न थालिएको छ । चिनियाँ व्यापारीले चिल्लो, थेप्चे, मदाने र कन्ठे आकारका रुद्राक्षको धेरै माग गर्न थालेपछि धेरैले रुद्राक्षको आकार बिगार्न थालेका हुन् ।

रुद्राक्षको आकार बिगार्दै किसान

रुद्राक्षको राजधानी भनेर चिनिने संखुवासभाका स्याबुन, वाना, धुपु, चेवाबेंसी, माङतेवा र भोजपुरको दिङला, नेपालेडाँडा र सोमबारेलगायतका क्षेत्रमा बेग्लै आकृति बनाउन थालिएको छ ।


यो बेला दुवै जिल्लामा रुद्राक्षको चहलपहल सुरु भइसकेको छ । केही व्यापारी र कृषकले राम्रो फल्ने रुद्राक्ष बगानमा अझै बहुमूल्य बनाउनका लागि कलिलो अवस्थामा रुद्राक्ष दानामा विषादी छर्किने र कृत्रिम क्लिप लगाउने गरेको पाइएको छ ।


व्यापारिक चहलपहल सुरु भएसँगै अप्राकृतिक रुद्राक्षको उत्पादन र बगानमा विषादी छर्किन थालेपछि किसान व्यवसायी दुवैलाई पिरोल्न थालेको छ ।


असार अन्तिमदेखि नै रुद्राक्षको बगान ठेक्का लगाउने गरिएको छ । केही किसान र व्यापारीले तत्कालको फाइदा हेरेर रुद्राक्षको बोटमा विषादी छर्किने र क्लिप लगाएर बिगार्न थालेपछि यसको महत्त्व घटेको रुद्राक्ष व्यवसायी महासंघका अध्यक्ष चक्र बिसुन्केले बताए ।


संखुवासभा र भोजपुरमा उत्पादन भएको रुद्राक्षको मुख्य बजार केही समयअघिसम्म भारत मात्रै थियो । भारतको एकाधिकार बजार भइरहेको अवस्थामा करिब ५ वर्षअघि व्यापारिक प्रयोजनमा चिनियाँ व्यापारीहरू संखुवासभा भित्रिए, उनले भने, त्यो समयमा जस्तोसुकै रुद्राक्षले मूल्य पायो । रुद्राक्षको काँचो बोक्रासमेत प्रतिकिलो १० हजार रुपैयाँभन्दा बढीमा बिक्री भएपछि त्यो बेला व्यापारी हौसिए, उनले भने, अहिले चिनियाँले जे भन्यो, जसरी तोडमोड गर भन्छ त्यसरी नगरे बिक्री हुँदैन ।


उत्कृष्ट नभएको भन्दै चिनियाँ व्यापारीले बर्सेनि रुद्राक्षको मूल्य घटाउन थालेका हुन् । उनीहरूले चाहेजस्तो रुद्राक्ष उत्पादन नभएको भन्दै करिब तीन वर्षदेखि बोटमै प्लास्टिकका कृत्रिम क्लिप प्रयोग गर्ने मेसिन राख्न थालिएको छ । जसका कारण रुद्राक्षको मूल्यमा भारी गिरावट आएको छ । गएको वर्षदेखि भने रुद्राक्षको दानामा विषादी छर्किन थालिएको छ ।


ठूलो साइज र राम्रो देखाउन विषादी प्रयोग भएको हो । गएको वर्ष चैनपुर नगरपालिकाको लोहाकोटमा १५ लाख रुपैयाँ ठेक्कामा लिइएको रुद्राक्ष बगानमा २ वटा बोटमा परीक्षणका लागि विषादी प्रयोग गरिएको हो । खराङ, लोहाकोटका साथै पाँचखपन नगरपालिका विभिन्न ठाउँमा पनि विषादी प्रयोग गर्ने गरेको पाइएको छ । खाँदबारी आसपासका क्षेत्रमा भने ठेक्का लिएका बोटमा विषादी प्रयोग गर्न दिइएको छैन ।


चैनपुरका रुद्राक्ष व्यवसायी वीरबहादुर तामाङका अनुसार विषादी प्रयोग गरिएको रुद्राक्ष चिल्लो हुने, तर एक महिनापछि रङ खुइलिने, हलुका हुने र कालो देखिने समस्याले बहुमूल्य रुद्राक्षसमेत बिक्री गर्न समस्या भएको व्यवसायी बताउँछन् ।


त्यसरी उत्पादन गरिएका रुद्राक्ष बिक्री नहुने समस्याका कारण व्यापारी र किसान दुवैलाई नोक्सान भएको छ । गएको वर्ष परीक्षण गरिएका रुद्राक्षको बोटमा यसै वर्षदेखि क्वालिटीका रुद्राक्ष फल्न छाडेको छ । उनले भने, ‘किसान र व्यापारी क्षणिक लाभका लागि विषादी हाल्ने र क्लिप प्रयोग गर्ने गरेका छन्, यो गलत हो ।’


गत वर्षदेखि किसानका रुद्राक्ष बगान ठेक्का लिएर व्यापारीले जथाभावी क्लिप प्रयोग गरेर कृत्रिम दाना उत्पादन गरिरहेका थिए । तर प्राकृतिक उत्पादन जस्तो थेप्चे भए पनि चिल्लो नभएको भन्दै रुद्राक्ष बिक्री वितरणमा समस्या आयो । यस वर्ष भने रुद्राक्ष छिप्पिन लाग्दा बोटमै विषादी छर्किएर राम्रा दाना उत्पादन गर्न व्यापारी लागि परेका हुन् ।


व्यापारीलाई रुद्राक्ष बगान ठेक्कामा दिए पनि विषादी छर्किन र क्लिप प्रयोग गर्न दिन नहुने अध्यक्ष बिसुन्केले बताए । ‘त्यस्ता रुद्राक्ष नयाँ तथा पुराना व्यापारीले खरिद गरेर बिक्रीका लागि अन्य देश लैजाँदा जिल्लाको छवि धमिलियो,’ उनले भने, ‘भारतका व्यवसायीले स्वरूप बिगारेको रुद्राक्ष किन्दैनन्, त्यसैले यो रोक्नुपर्ने देखिएको छ ।’ यसरी क्षणिक रूपमा रुद्राक्षको व्यापारले फाइदा दिए पनि बोट नै बिग्रिन थालेको छ । अहिले रुद्राक्ष खरिद बिक्रीमा समस्या आइसकेको छ ।


भगवान् शिवजीको तेस्रो नेत्रबाट उत्पादन भएको मानिने रुद्राक्ष धार्मिक हिसाबले महत्त्वपूर्ण मानिन्छ । धार्मिक हिसाबले यसको मूल्य यति नै हो भन्न नहुने तर ठूलो रकममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ ।


स्वरूप बिगार्नेलाई कारबाही माग

संखुवासभा– स्वरूप बिगार्नेलाई रुद्राक्ष व्यवसायी संघले कारबाहीको माग गरेको छ । संघले प्रमुख जिल्ला अधिकारीसमक्ष कारबाहीको माग गर्दै निवेदन दिएको छ ।


रुद्राक्षको प्राकृतिक स्वरूप बिगार्न प्रयोग गरिएका विभिन्न औजार बेलाबेलामा जफत गरिएको र यस्ता क्रियाकलाप नगर्न पटकपटक ध्यानाकर्षण गरिए पनि अटेर गरेकाले कारबाहीको माग गरिएको हो ।


व्यवसायीले लाखौं आम्दानीका कृषकका रुद्राक्ष विषादी प्रयोगबाट नष्ट हुने उल्लेख गरेका छन् । विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमा दीर्घकालीन असर पर्ने भएकाले यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिई शीघ्र कारबाही गर्न अनुरोध गरिएको छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?