कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

तिब्बतमै बिकेन यार्चा

पाटन क्षेत्रमा प्रतिकिलो ८ देखि १० लाख रुपैयाँमा खरिद गरिएको यार्चा तिब्बतमा ५ लाखदेखि ८ लाखमा मात्र बिक्री गर्नुपरेको व्यापारीको गुनासो
राजबहादुर शाही

मुगु — करिब डेढ महिना लेकाली पाटनमा बसेर संकलन गरिएको यार्चागम्बु बिक्री हुन सकेको छैन । मुख्य बजार मानिएको चीनको तिब्बतमा समेत भाउ नपाएपछि व्यापारी मर्कामा परेका छन् । संकलकबाट किनेको यार्चा बिक्रीका लागि केही व्यापारी तिब्बत पुगेका थिए ।

तिब्बतमै बिकेन यार्चा

पाटन क्षेत्रमा प्रतिकिलो ८ देखि १० लाख रुपैयाँमा खरिद गरिएको यार्चा तिब्बतमा प्रतिकिलो ५ लाखदेखि ८ लाखमा मात्र बिक्री गर्नुपरेको उनीहरूको गुनासो छ । झोलामा यार्चा बोकेर उत्साही हुँदै तिब्बत पुगेका व्यापारी घाटा भएपछि निराश हुँदै फर्किएका छन् ।

प्रतिकिलो १० लाखमा खरिद गरिएको यार्चा २ लाख घाटा सहेर ८ लाख रुपैयाँमा बिक्री गर्नुपरेको मुगमकार्मारोङ गाउँपालिका २ का वडाध्यक्ष कार्मा तामाङले बताए । प्रतिगोटा ५ सयदेखि ८ सय रुपैयाँमा किनिएको यार्चा तिब्बतमा प्रतिगोटा ३ सय रुपैयाँमा बिक्री भएको उनको भनाइ छ ।


विगत वर्षमा व्यापारीले पाटनमा खरिद गरिएको यार्चा तिब्बत पुर्‍याएर प्रतिकिलो १८ लाख रुपैयाँसम्ममा बिक्री गरेका थिए । ‘तिब्बतमा यार्चाको मूल्य घटेको छ, सुरुमा बजार मूल्य नै नबुझी यार्चा खरिद गरियो,’ उनले भने, ‘अहिले पछुताउँदै घाटा खाएर बिक्री गर्नुपर्ने बाध्यता भयो ।’ उनले यार्चाको मूल्य बर्सेनि घटदा व्यवसाय नै चौपटमा परेको जनाए ।


केही स्थानीयले भने तिब्बतमै राम्रो मूल्य पाउने भन्दै व्यापारीलाई यार्चा बिक्री गरेका थिएनन् । आफूले खरिद गरेको मूल्य नपाएपछि अधिकांश स्थानीय र व्यापारीले यार्चा फिर्ता ल्याएका छन् । तिब्बतमा यार्चाले मूल्य पाउन मुस्किल हुन थालेपछि स्थानीयलाई जीवन निर्वाहमा समस्या हुन थालेको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘पाटनमा यार्चा खरिदबिक्रीमा प्रतिस्पर्धा हुने भए पनि तिब्बतमा बेच्न गाह्रो हुन थालेको छ,’ उनले भने, ‘भाउ नपाउँदा यार्चाको अस्तित्व नै संकटमा पर्न थालेको छ ।’


मुगमकार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलो कोइकी, रिमार, टाँकेलगायत क्षेत्रमा करिब ४ क्विन्टल यार्चा संकलन भएको उनको भनाइ छ । उनका अनुसार गत वर्षदेखि यार्चाको मूल्यमा गिरावट आएको हो । जिल्लाको पाटन क्षेत्रमा संकलन हुने यार्चा व्यापारीले अवैध रूपमा नाक्चेनाङला नाका हुँदै तिब्बत पुर्‍याएर बेच्ने गरेका हुन् ।


यार्चाको बिक्री पुर्जी नै नलिई व्यवसायीले तिब्बतमा बिक्री गर्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । यार्चा अवैध रूपमा तिब्बत निकासी हुने गरेपछि सरकारी राजस्वमा गिरावट आएको छ । यस वर्ष प्रतिकिलो ३० हजार राजस्व तिरेर ६ जनाले मात्र यार्चाको बिक्री पुर्जी लिएको कार्यालयका सूचना अधिकारी वसन्त शाहीले बताए ।

प्रकाशित : भाद्र ५, २०७६ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?