पर्यटनमन्त्रीले अवलोकन गरे नियमित उडान नहुने आफ्नै जिल्लाको विमानस्थल

आनन्द गौतम

ताप्लेजुङ — संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले गृहजिल्लाको एकमात्र सुकेटार विमानस्थल अवलोकन गरेका छन । मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला आएका भट्टराइले बिहीबार बिहान विमानस्थल अवलोकन गरेका हुन् ।

पर्यटनमन्त्रीले अवलोकन गरे नियमित उडान नहुने आफ्नै जिल्लाको विमानस्थल

उनले नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर रुपेश मुरारकाबाट विमानस्थलमा हुने कामको बारेमा जानकारी लिएका थिए । सुकेटार विमानस्थलका लागि १६ करोड रुपैयाँ छुट्याइएको छ । यस्को ठेक्का लागिसकेको छ । यो रकमबाट दुई सय मिटर धावन मार्ग कालोपत्रे गरिने छ ।


अहिले विमानस्थलको धावनमार्ग ७ सय मिटर कालोपत्रे छ । थप दुई सय मिटर कालोपत्रे हुन बाँकी रहेको छ । कालोपत्रे पछि पूर्वतिरको ढिस्को फुटाउने र माटो फाल्ने गरिनेछ । यति भएपछि विमानस्थलको दुवैतिरबाट जहाज अवतरण हुने अपेक्षा गरिएको मन्त्री भट्टराईले बताए । मुरारकाले भने ९ सय मिटर कालोपत्रे भएपछि र ढिस्को फुटाएपछि दुवैतिरबाट लेन्डिङ र टेकअप हुने बताए । निर्माण अवधिमा उडान भने नरोकिने प्राधिकरणले जनाएको छ ।


अहिले नेपाल वायु सेवा निगमले सातामा सोमबार, बुधबार र शनिबार गरी काठमाडौं–ताप्लेजुङ तीन उडान राखेको छ । तर असार ४ गतेपछि उडान हुन सकेको छैन । निजी कम्पनीले भने चार्टर उडान मात्रै गर्दै आएका छन् ।


दुई महिनापछि सुरु भएर दुई वर्षमा पुरा हुने विमानस्थलको प्रवेश मार्ग बनाउने र यात्रुहरुको सहजताका लागि भवन व्यवस्थापनका लागि पनि बजेट छुट्याइएको छ । आफ्नै जिल्लामा विमानस्थल भएर पनि जहाज चढ्न झापाको भद्रपुर धाउन बाध्य भट्टराईले विमानस्थललाई व्यवस्थित गर्नेतर्फ ध्यान दिने बताएका छन् । यो २०२८ सालमा निर्माण गरिएको विमानस्थल हो ।

प्रकाशित : भाद्र ५, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?