कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

देशभर २४३ नयाँ पुल

विमल खतिवडा

काठमाडौँ — देशभर निर्माण सुरु भएका १ हजार ५ सय ३६ मध्ये असार मसान्तसम्म २४३ पुलको निर्माण सकिएको छ । हुलाकी सडक, मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्गलगायत १ हजार २ सय ९३ पुलको निर्माण जारी रहेको सडक विभागअन्तर्गत पुल महाशाखाले जनाएको छ ।

देशभर २४३ नयाँ पुल

केही पुल भने ठेकदारको लापरबाही र डिजाइनमा समस्या हुँदा लामो समयदेखि निर्माण पूरा हुन सकेको छैन ।


महाशाखाअन्तर्गत स्थानीय सडक पुल र रणनीतिक सडक पुल रहेका छन् । स्थानीय सडक पुलअन्तर्गत ९२५ मध्ये १३९ वटा पुलको निर्माण सकिएको छ । महाशाखाका प्रमुख दीपक भट्टराईका अनुसार सबैभन्दा राम्रो प्रगति स्थानीय सडक पुलमा भएको छ ।


‘स्थानीय सडक पुलको सुरु बजेट २ अर्ब ९० करोड थियो,’ प्रमुख भट्टराईले भने, ‘असार अन्तिमसम्म १३ अर्ब ८० करोड बजेट हुन पुग्यो, जसमा १२ अर्ब ५५ करोड खर्च भयो ।’ स्थानीय सडक पुलमा बजेट अभावले काम नरोकिएको उनले दाबी गरे ।


‘स्थानीय सडक पुल निर्माणमा ९१ प्रतिशत खर्च भएको छ,’ उनले भने । महाशाखाले सबैतिर संयोजकका रूपमा काम गर्छ । ‘हाम्रो काम संयोजन गर्ने मात्र हो,’ प्रमुख भट्टराईले भने, ‘बजेटको अख्तियारी सबै डिभिजन र योजना कार्यालयलाई छ ।’


उनका अनुसार अहिले रणनीतिक सडक पुल २९८, स्थानीय सडक पुल ९२५, हुलाकी राजमार्गमा ८५, मध्यपहाडी लोकमार्गमा ३०, मदन भण्डारी राजमार्गमा ८०, उत्तर–दक्षिण सडकअन्तर्गत ६८ र वैदेशिक सहयोगमा सञ्चालित महाशाखाबाट ५३ वटा पुल निर्माणका क्रममा छन् । ‘निर्माणको काम सबैतिर भइरहेको छ, औसतमा पुलको आयु ५० वर्षसम्म हुन्छ,’ उनले भने, ‘अहिले हामीले डिजाइन गर्दा सय वर्षसम्म टिक्ने गरी गर्दै छौं । अहिले आयुभन्दा पनि ट्राफिक बढेर समस्या भएको छ ।’


यता हुलाकी सडक निर्देशनालयका अनुसार २१९ पुलमध्ये ८५ वटा पुलको निर्माण सकिएको छ । ‘हुलाकीमा सडक र पुल दुवैको निर्माण तीव्र रूपमा भइरहेको छ,’ आयोजनाका निर्देशक अशोक तिवारीले भने, ‘८० वटा पुल बन्दै छन्, अन्य पुलको सर्भे भइरहेको छ ।’ हुलाकी सडकको लम्बाइ कुल १ हजार ७ सय ७९ किलोमिटर रहेको छ ।


यो आर्थिक वर्षभित्र ३५० किमि कालोपत्रे गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । ‘बजेट पर्याप्त नभएर पनि कतिपय पुलको निर्माणमा ढिलाइ भइरहेको हो,’ महाशाखाका प्रमुख भट्टराईले भने, ‘ढिलाइ हुनुको अर्को कारण प्राविधिक समस्या र ठेक्का व्यवस्थापन हो ।’ निर्माण व्यवसायीले ठेक्का लिएर पनि काम नगर्दा केही पुलको काममा भने प्रगति हुन सकेको छैन ।

प्रकाशित : भाद्र ५, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?