देशभर २४३ नयाँ पुल

विमल खतिवडा

काठमाडौँ — देशभर निर्माण सुरु भएका १ हजार ५ सय ३६ मध्ये असार मसान्तसम्म २४३ पुलको निर्माण सकिएको छ । हुलाकी सडक, मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्गलगायत १ हजार २ सय ९३ पुलको निर्माण जारी रहेको सडक विभागअन्तर्गत पुल महाशाखाले जनाएको छ ।

केही पुल भने ठेकदारको लापरबाही र डिजाइनमा समस्या हुँदा लामो समयदेखि निर्माण पूरा हुन सकेको छैन ।

महाशाखाअन्तर्गत स्थानीय सडक पुल र रणनीतिक सडक पुल रहेका छन् । स्थानीय सडक पुलअन्तर्गत ९२५ मध्ये १३९ वटा पुलको निर्माण सकिएको छ । महाशाखाका प्रमुख दीपक भट्टराईका अनुसार सबैभन्दा राम्रो प्रगति स्थानीय सडक पुलमा भएको छ ।

‘स्थानीय सडक पुलको सुरु बजेट २ अर्ब ९० करोड थियो,’ प्रमुख भट्टराईले भने, ‘असार अन्तिमसम्म १३ अर्ब ८० करोड बजेट हुन पुग्यो, जसमा १२ अर्ब ५५ करोड खर्च भयो ।’ स्थानीय सडक पुलमा बजेट अभावले काम नरोकिएको उनले दाबी गरे ।

‘स्थानीय सडक पुल निर्माणमा ९१ प्रतिशत खर्च भएको छ,’ उनले भने । महाशाखाले सबैतिर संयोजकका रूपमा काम गर्छ । ‘हाम्रो काम संयोजन गर्ने मात्र हो,’ प्रमुख भट्टराईले भने, ‘बजेटको अख्तियारी सबै डिभिजन र योजना कार्यालयलाई छ ।’

उनका अनुसार अहिले रणनीतिक सडक पुल २९८, स्थानीय सडक पुल ९२५, हुलाकी राजमार्गमा ८५, मध्यपहाडी लोकमार्गमा ३०, मदन भण्डारी राजमार्गमा ८०, उत्तर–दक्षिण सडकअन्तर्गत ६८ र वैदेशिक सहयोगमा सञ्चालित महाशाखाबाट ५३ वटा पुल निर्माणका क्रममा छन् । ‘निर्माणको काम सबैतिर भइरहेको छ, औसतमा पुलको आयु ५० वर्षसम्म हुन्छ,’ उनले भने, ‘अहिले हामीले डिजाइन गर्दा सय वर्षसम्म टिक्ने गरी गर्दै छौं । अहिले आयुभन्दा पनि ट्राफिक बढेर समस्या भएको छ ।’

यता हुलाकी सडक निर्देशनालयका अनुसार २१९ पुलमध्ये ८५ वटा पुलको निर्माण सकिएको छ । ‘हुलाकीमा सडक र पुल दुवैको निर्माण तीव्र रूपमा भइरहेको छ,’ आयोजनाका निर्देशक अशोक तिवारीले भने, ‘८० वटा पुल बन्दै छन्, अन्य पुलको सर्भे भइरहेको छ ।’ हुलाकी सडकको लम्बाइ कुल १ हजार ७ सय ७९ किलोमिटर रहेको छ ।

यो आर्थिक वर्षभित्र ३५० किमि कालोपत्रे गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । ‘बजेट पर्याप्त नभएर पनि कतिपय पुलको निर्माणमा ढिलाइ भइरहेको हो,’ महाशाखाका प्रमुख भट्टराईले भने, ‘ढिलाइ हुनुको अर्को कारण प्राविधिक समस्या र ठेक्का व्यवस्थापन हो ।’ निर्माण व्यवसायीले ठेक्का लिएर पनि काम नगर्दा केही पुलको काममा भने प्रगति हुन सकेको छैन ।

प्रकाशित : भाद्र ५, २०७६ ०८:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

आलु प्रवर्द्धन मेला

हरिराम उप्रेती

गुम्दा, गोरखा — आलुको माला । आलुकै परिकार । धार्चे गाउँपालिका–५ गुम्दाका किसान यतिखेर अतिथि स्वागतमा व्यस्त छन् । प्रवेशद्वारमा स्वागतार्थ डालीमा आलु बोकेका महिला समूह गाउँ पुगेका पाहुनालाई आलुको महत्त्व बुझाउँदै छन् ।

आलु प्रवर्द्धन गर्न सोमबारबाट आलु मेला सुरु भएको हो । मेलाको रौनक बेग्लै छ । आन्तरिक पर्यटक थेगिनसक्नु छन् । किसानलाई आलु बिक्री गर्न भ्याइनभ्याई छ ।

छिमेकी गाउँ बारपाक, लाप्राक, गुम्दा, सौरपानी, आरुघाटलगायत क्षेत्रबाट मेला हेर्न गएका आलु लिएर फर्किएका छन् । केही आलु लिनकै लागि गुम्दा गएका छन् । कृषि उपजसँग जोडेर वर्षैपिच्छे मेला गर्दा कृषकलाई हौसला थपेको लाप्राकका मीनबहादुर गुरुङले बताए । ‘सहर बजारका महोत्सवभन्दा गाउँको जात्रा छुट्टै मज्जा,’ उनले भने, ‘रमाइलो छँदै छ, धार्चेमा मिठो आलु पाइन्छ भनेर पनि प्रचारहुने भयो ।’

स्थानीयले ५ वर्षअघिसम्म यसै समयमा कला संस्कृति प्रदर्शन गर्थे । झ्याउरे लगाउँथे । आलुको परिकार बनाएर खुवाउँथे । यतिबेला भने परिस्कृत गरी बृहत् खाले मेलाको आयोजना गर्न थाले ।गाउँ चिनाउन आलु उत्पादन कृषक समूहगठन गरे ।

गाउँका २५० ले व्यावसायिक आलु खेती गरेको समूहका अध्यक्ष कर्णमाइला गुरुङले बताए । उनले भने, ‘यहाँ धान हुँदैन, आलु बेचेर चामल किन्ने हो ।’ आलु खेती पुख्र्यौली पेसा रहेको उनले सुनाए । एक घरले कम्तीमा वर्षको १५ मुरीसम्म आलु उत्पादन गर्छन् । ‘धेरै लगाउनले ३०–३५ मुरीसम्म उत्पादन गर्छ,’ उनले भने, ‘एक वर्षमा ८०–९० हजारसम्म आलु बेचेरै कमाइ गर्ने छन् ।’ आलु बेचेर चामल, नुन, तेललगायतका उपभोग्य सामग्री खरिद गर्ने उनले बताए ।

पाखोबारीमा मंसिरमा रोपेको आलु जेठ अन्तिममा खन्न सुरु हुने उनले बताए । अहिले आलु थन्काएर यसको बिक्री र प्रवर्द्धनमा सघाउन स्थानीय सक्रिय छन् । गुम्दामा ३ प्रकारका खुमल सेतो, खुमल रातो र स्थानीय जातको आलु उत्पादन हुन्छ ।

बजारको समस्या छैन
६६ वर्षीय सुमती गुरुङ २ दशकअघिसम्म आलु बोकेर गोरखा, आँबुखैरेनीलगायत सहरमा बिक्रीका लागि पुग्थिन् । मोटर बाटो थिएन, पिठ्युँमा १० पाथी आलु बोकेर गोरखा बजार ३ दिन हिँडेर पुगिन्थ्यो । कोदोको पिठो र ताउलो साथै लगेर, ओढारमा बसेर पकाएर खाने उनले सम्झिइन् ।

आलु बेचेको पैसाले चामल, नुनतेल लिएर फर्कने गरेको उनले सुनाइन् । ‘फर्कन ३ दिन कम्तीमा सात दिन छुट्टयाएर बजार पुग्नुपथ्र्यो,’ उनले भनिन् । अहिले गाउँमै मोटरबाटो पुगेको छ । यस वर्ष सुमतीले १० मुरी आलु उत्पादन गरेकी छिन् । ‘अहिले गाउँमै आलु किन्ने मान्छे आउँछन्,’ उनले भनिन्, ‘उत्पादन गर्न सके बिक्री नहुने डर छैन ।’ आलु बिक्रेताहरू हिउँदयाममा गाडी लिएर गाउँमै पुग्ने गरेको उनले सुनाइन् । विषादी र बजारको मल खेतीबारीमा प्रयोग नगर्ने भएकाले पनि यहाँको आलुमा तल्लो क्षेत्रका स्थानीयको खरिदमा आकर्षण बढ्दो छ ।

बीउ जोगाउन भण्डारण केन्द्र
वर्षौंदेखि रैथाने बीउ मात्र स्थानीले लगाउने गरेकाले पनि गुम्दाको आलुको छुट्टै पहिचान भएको कर्ण माइला बताउँछन् । ‘अन्यत्रबाट खरिद गरेर ल्याएको बीउ कसैले लगाउँदैनन्,’ उनले भने, ‘बाजेबराजुदेखि चल्दै आएको बीउको संरक्षण गरेका छौँ, अहिलेसम्म त्यही लगाउँछौँ ।’ बीउ जोगाउन भण्डारण केन्द्र स्थापना भएको छ ।

कृषकले इच्छाअनुसार भण्डारण केन्द्रमा बीउ राख्ने गरेको उनले बताए । २०७० मा स्थापना भएको केन्द्रको भवन भूकम्पले भत्काएपछि पुनर्निर्माण भइसकेको छ । ‘अहिले दुई टन बीउ अट्छ, संरचना थप्न सके ६ टनसम्म अटाउँछ,’ उनले भने । हाल ५२ जना किसानले भण्डार केन्द्रमा बीउ सुरक्षित राखेका छन् ।

आलु खाने प्रतियोगिता
बिहीबारसम्म चल्ने मेलामा स्थानीयले आफ्नो कला संस्कृति प्रदर्शन गरे । मेलाको मुख्य आकर्षण आलु खाने प्रतियोगिता बन्यो । प्रतियोगितामा विजयीलाई समापनको दिन आलु नै पुरस्कार दिइन्छ ।

‘एक प्रतियोगीको भागमा २० वटा उसेनेको आलु राखेका थियौं,’ आयोजक थामरा युवा क्लबका अध्यक्ष धनप्रसाद गुरुङले भने, ‘पाँच मिनेटभित्र जसले धेरै आलु खान सक्यो उनै विजेता हुने नियम राखेर प्रतियोगिता सञ्चालन गर्‍यौं ।’ उत्त प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई ५, ३ र २ पाथी आलु पुरस्कारको व्यवस्था छ ।

२०७१ सालयता आलु प्रवर्द्धनकै लागि मेला हुँदै आएको गुरुङले बताए । ‘यसले आलु खेती प्रवर्द्धनका लागि निकै सघाएको छ,’ उनल भने ।

प्रकाशित : भाद्र ५, २०७६ ०८:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT