१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चाडपर्वसँगै मिसावट र महँगी बढ्यो

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिमेलीको चाडपर्व भदौ १ को ओल्के संक्रान्तिदेखि सुरु भइसकेको छ । दसैं र तिहारजस्तै ठूलो पर्वका रूपमा लिइने गौरा पर्वको रौनक पनि सुरु भइसकेको छ । मंगलबारदेखि नै सुदूरका गाउँबस्ती सहर बजार जताततै गौराको चहलपहल देखिन थालेको छ ।

चाडपर्वसँगै मिसावट र महँगी बढ्यो

घर बाहिर कमाउन गएका सुदूरपश्चिमेलीहरू घर फर्कन थालेका छन् । गौरालगायतको चाडबाड मनाउन जोहो गरेको पैसाले स्थानीय बजारमा किनमेल गर्दा महँगी भने हवात्तै बढेको छ । यतिबेला नयाँ लुगा सिलाउने, खाद्यान्न किन्ने, मिठो पक्वान्न बनाउन सुरु भएको छ । सँगै विभिन्न स्थानमा मेला र जात्राको चहलपहल पनि सुरु भएको छ ।

‘सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक सहर धनगढीबाटै खाद्यान्न र अन्य मालसामानको आपूर्ति हुने गरेको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष हरि रेग्मीले भने, ‘चाडबाडकै अवसर पारेर व्यवसायीद्वारा खाद्य तथा अन्य वस्तुमा उपभोक्ता ठगिने गरेका छन् ।’ उनकाअनुसार खाद्यवस्तुमा मिसावट, नापतौलमा बदमासी र म्याद गुज्रेका वस्तुको बिक्री बढ्ने गरेको छ । त्यसैले यतिखेर बजार अनुगमनमा सरोकार निकायहरूको ध्यान पुग्न जरुरी रहेको उनको भनाइ छ ।

उनले सरकारका विषयगत नियमनकारी निकायहरूले बजार अनुगमनको कुनै प्रभावकारी काम देखाउन नसकेको आरोप लगाए । ‘नियमनकारी निकाय नै प्रभावकारी भएनन्,’ रेग्मीले भने, ‘उपभोक्ताहरूले अखाद्य वस्तु खानुपरेको छ । झन् चाडबाड सुरु भएको बेला बजारमा लुट चलिरहेको हुन्छ । त्यसलाइ नियन्त्रण गर्नु परेन ?’ उनी जिल्ला प्रशासनको नेतृत्वमा सरोकार पक्ष सबैको संयुक्त अनगमन हुनुपर्ने बताउँछन् ।

खाद्य पसलमा ४० प्रतिशत मिसावट र म्याद गुज्रिएका वस्तु भेटिने गरेको धनगढीका वीरबहादुर महराले बताए । ‘धनगढी मुख्य बजारका भित्री खाद्य तथा खुद्रा पसलमा अनुगमन गर्नुहोस्,’ उनले भने, ‘आधा सामान गुणस्तहीन भेटिनेछन् ।’ उनका अनुसार दाल, तेल, घिउमा धेरैनै मिसावट छ । म्याद गुज्रेका चिसो पेय पदार्थ, ड्राइफुड बिस्कुट चाउचाउलगायतका वस्तुहरू रहेका छन् । चामल र पिठोमा पनि र ढुसी परेको पाइने गरेको उनले जानकारी दिए ।

बजार अनुगमन तथा नियमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण, वाणिज्य र नापतौल कार्यालयको प्रभावकारिता नभएको महराको भनाइ छ । उनले उक्त निकायले व्यवसायीलाई अनुगमनका नाममा तर्साएर पैसा मात्रै असुल्ने गरेको आरोपसमेत लगाए ।

‘विषयगत कार्यालयका वार्षिक क्यालेन्डरअनुसार अनुगमन भए होलान्,’ उनले भने, ‘ती अनुगमन देखावटी मात्रै सावित भएका छन् ।’

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक दीपक कुँवरले बजार अनुगमन भइरहेको बताए । उनले गएको आर्थिक वर्षमा १६७ पटक सुदूरपश्चिम प्रदेशका विभिन्न बजार अनुगमन गरिएको बताए । ‘अनुगमनका क्रममा १४ सय २९ वस्तुको नमुना परीक्षण भएको छ,’ उनले भने ।

प्रकाशित : भाद्र ५, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?