रक्सौल नाका अवरुद्ध 

भूषण यादव

वीरगन्ज — भारतीय सवारी साधन प्रवेशमा कठिनाइ भएको भन्दै सीमावर्ती भारतीय बजार रक्सौलका बासिन्दाले बुधबार वीरगन्ज–रक्सौल नाका ठप्प पारेका छन् । उनीहरूले वीरगन्ज–रक्सौल जोड्ने मितेरी पुलमा सवारी साधन तेस्र्याएर आवागमन ठप्प पारेका थिए ।

रक्सौल नाका अवरुद्ध 

प्रवेशाज्ञा नहुँदा प्रहरी प्रशासनले सवारी नै सिज गर्ने गरेको उनीहरूको आरोप छ । मंगलबार मात्र भन्सार राजस्व गस्ती प्रहरीले ४ वटा भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर भन्सारमा बुझाएको थियो ।

‘जरुरी काम परेकाले बिनाइन्ट्री हतारमा वीरगन्ज गएको थिएँ,’ रक्सौल अहिरवा टोला निवासी विपुल यादवले भने, ‘उताबाट फर्किंदा सशस्त्र प्रहरीले भन्सार अगाडि रोकेर चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएका थिए ।’ जरिवाना गरी छाड्ने प्रावधान हुँदाहुँदै मोटरसाइकल ‘सिज’ गरेको उनको गुनासो छ ।

कोढीआर चौक निवासी निरज कुसवाहाको मोटरसाइकलसमेत मंगलबार भन्सार गस्ती प्रहरीले नियन्त्रणमा लिएको थियो । कुसवाहाका अनुसार बिहान करिब ५ बजे उनी वीरगन्जको एक निजी अस्पतालमा बिरामी लिएर आएका थिए । ‘भन्सारमा सवारी इन्ट्री बिहान ७ बजे मात्र खुल्छ,’ उनले भने, ‘इमरजेन्सी परेकाले बिनाइन्ट्री नै ५ बजे प्रवेश गरें, फर्किदा प्रहरीले नियन्त्रणमा लियो ।

जरिवाना गरेर छाड्नुपर्नेमा गाडी नै सिज गरेका छन् ।’ भारतीय नम्बरका एम्बुलेन्स चालकले समेत इन्ट्रीमा कठिनाइ भएको गुनासो गरेका छन् ।

एम्बुलेन्स चालक मुस्तफा अन्सारीले इन्ट्रीको ढिलाइका कारण केही दिन अगाडि भन्सार अगाडि एक बिरामीको एम्बुलेन्सभित्रै मृत्यु भएको जनाए । ‘अहिले इन्ट्री कम्प्युटरमार्फत प्रिन्ट भएर आउँछ,’ उनले भने, ‘त्यसपछि त्यसमा हस्ताक्षर गर्ने कर्मचारी खोज्नुपर्छ, कहिलेकाहीँ कर्मचारी खोज्न आधा घण्टा लाग्छ ।’ एम्बुलेन्सले बिरामी बोक्ने भएकाले नजिकैको अस्पतालसम्म बिनाइन्ट्री नै प्रवेश पाउनुपर्ने एम्बुलेन्स चालकको माग छ । इन्ट्री र भन्सारको कागज चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरीले दुव्र्यवहारसमेत गर्ने गरेको उनीहरूको आरोप छ ।

वीरगन्ज भन्सार कार्यालयले हातले गर्दै आएको इन्ट्री अहिले कम्प्युटरमार्फत गर्दै आएको छ । नियम परिवर्तन भएकाले इन्ट्रीमा कम्तीमा एक घण्टा लाइन लाग्नुपर्ने समस्या रहेको भारतीयको गुनासो छ । ‘नेपाली गाडीहरू नजिकैको बजारमा बिनाइन्ट्री सजिलै ओहोरदोहोर गर्छन्,’ रक्सौलका सन्नी गुप्ताले भने, ‘हामीलाई त इन्ट्री गर्दा पनि समस्या छ ।’ नेपालमा गाडी राखेर भन्सार इन्ट्री गराउने प्रवृत्ति बढेको पाइएपछि भन्सारले कम्प्युटर इन्ट्रीको सुरुवात गरेको हो ।

नेपालका सीमावर्ती क्षेत्रमा भारतीय गाडीको प्रयोग बढदो छ । इन्ट्रीमा नजिकैको बजारसम्म पुगी एकदिनमै फर्किंदा भन्सार महसुल नलाग्ने प्रावधान छ । नेपालभित्र बस्नुपरेमा चारचक्के गाडीले एकदिनको ५ सय रुपैयाँ र मोटरसाइकलले १५० रुपैयाँ राजस्व बुझाई अस्थायी पैठारी प्रज्ञापनपत्र लिनुपर्छ । कतिपयले नेपालमै गाडी राखेर कर्मचारीको मिलेमतोमा इन्ट्री लिँदै आएका थिए ।

पछिल्लो समय भन्सार र प्रहरीले भन्सार इन्ट्रीमा कडाइ गरेपछि करिब एक सय चारचक्के गाडीहरू भन्सार अगाडिको सडकमा पार्किङ गर्ने गरिएको छ । ‘विगतमा ती गाडी वीरगन्जमै राखिन्थे,’ भन्सारका एक कर्मचारीले भने, ‘बिना गाडी इन्ट्री नपाउने भएपछि गाडी बाध्य भएर वीरगन्ज बाहिर राख्नुपरेको हो ।’ पर्सा प्रहरीले कागजात नभएका १३ वटा चारचक्के गाडी नियन्त्रणमा लिएर भन्सार र राजस्व विभाग बुझाएको छ । वीरगन्ज भन्सारका प्रवक्ता मनीष महतोले भारतीय गाडी इन्ट्री छिटोछरितो गर्नकै लागि कम्प्युटरमार्फत इन्ट्री सुरु गरिएको जनाए ।

‘कम्प्युटरमा एकपटक गाडी नम्बर, च्याचिस र इन्जिन नम्बर इन्ट्री गरेपछि पटकपटक इन्ट्री गर्नुपर्दैन,’ उनले भने, ‘सुरुमा केही झन्झटिलो देखिएको मात्र हो, केही दिनमै सहज भइहाल्छ ।’ नाका अवरोध हटाउन भन्सारका कर्मचारीले बिहानैदेखि रक्सौल कस्टमका समकक्षीसँग छलफल गरे पनि साँझ साढे ५ बजे मात्र नाका सुचारु भएको थियो ।

प्रकाशित : भाद्र ५, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?