सुन तोलाको ३ सयले बढ्यो, खपत घट्यो

रासस

काठमाडौँ — पछिल्लो एक महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा बुधबार फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ र चाँदीमा प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन प्रतितोला ७१ हजार ३ सय पुगेको छ । मंगलबार छापावाला सुन प्रतितोला  ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । 

सुन तोलाको ३ सयले बढ्यो, खपत घट्यो

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ पुगेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।


सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । बुधबार चाँदीको मूल्य पाँच रुपैयाँले वृद्धि भएर प्रतितोला ८ सय ३० पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ८ सय २५ मा खरिदबिक्री भएको थियो ।


भदौ लागेसँगै स्थिर भएको सुनको मूल्य बुधबार वृद्धि भएको हो । गत साउनको सुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन महिनामा सुनको मूल्य प्रतितोला सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ ।


साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५ सय, तेजाबी सुन ६४ हजार दुई सय र चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । साउनको अन्तिममा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँ, तेजाबी सुन ७१ हजार २ सय रुपैयाँ तथा चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।


पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस एक हजार ५ सय अमेरिकी डलर पुगेको छ ।


अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।


सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसंघले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।

प्रकाशित : भाद्र ४, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?