बजारमा अस्वस्थकर पानी

अर्जुन राजवंशी

(बिर्तामोड) — झापाका बजारमा सामान्य मापदण्डसमेत पूरा नगरेका पानी बिक्री वितरण हुने गरेको पाइएको छ । पिउनयोग्य पानीमा हुनुपर्ने पीएचको मात्रा प्रशोधित भनी दाबी गरिएका जिल्लाका केही ब्रान्डका पानीमा न्यूनतमभन्दा कम भेटिएको छ ।

बजारमा अस्वस्थकर पानी

बिर्तामोड क्षेत्रको ट्युबवेलको पानीमा पीएचको मात्रा ६ पाइएको छ । जिल्लाका शाश्वत, लाइफ केयर र माईधार नामक ब्रान्डको पानीमा पीएचको मात्रा न्यूनतम ६ भन्दा पनि कम भेटिएको छ ।


सरकारले पिउन योग्य पानीमा पीएचको मात्रा न्यूनतम ६ देखि ८.५ प्रतिशतसम्म हुनुपर्ने प्रावधान तोकेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले मंगलबार बिर्तामोडका १९ वटा विभिन्न ब्रान्ड, एउटा ट्युबवेल र खानेपानी संस्थानको गरी २१ वटा पानीको नमुनामा पीएचको मात्रा परीक्षण गरेको थियो ।


पानीमा अम्लीय र क्षारीयपनको मात्रालाई ‘पीएच’ भनिन्छ । नेपाल गुणस्तरले ६ देखि ८.५ पीएचसम्मको पानीलाई पिउनयोग्य भनेको छ । अन्तर्राष्ट्रिय गुणस्तरले ६.५ देखि ८.५ पीएचसम्मको पानीलाई पिउनयोग्य तोकेको छ । पानीमा ७ पीएच सबैभन्दा उत्तम मानिन्छ ।


६ पीएचभन्दा कमको पानीलाई अम्लीय अर्थात् एसिडिक भनिन्छ । ८.५ पीएचभन्दा माथिको पानीलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ । नेपालमा उत्पादित अधिकांश पानीमा पीएचको मात्रा न्यूनतमभन्दा कम

रहेको विभिन्न परीक्षणका क्रममा पाइने गरेको विज्ञहरूको दाबी छ । ६ पीएचभन्दा कमको पानी पिउँदा मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने तथा दीर्घरोग लाग्न सक्ने विज्ञहरूको भनाइ छ ।


मंगलबार डिजिटल प्रविधिबाट गरिएको पीएच मापनमा शाश्वत ब्रान्डको पानीमा ५.६, लाइफ केयरमा ५.७ र माइधारमा ५.६ पीएच मात्र पाइएको थियो । अन्य ब्रान्डअन्तर्गत तृष्ण पानीमा पीएचको मात्रा बोर्डरलाइन ६ मात्र पाइएको थियो । कनकाई र लाइफ लाइनमा ६.१, इस्ट स्प्रिङ, ड्यु ड्रब्स, एक्वामेरी, ओसिस जल र जिरो एक्वामा पीएचको मात्रा ६.२ पाइएको थियो ।


बेला र कन्चन ब्रान्डमा ६.४ पीएच, हिमालयन र प्युरिकममा ६.५ पीएच, मकालु र बेल्लीमा ६.७ पीएच, किन्लेमा ७.१ पीएच र सुनमाई झरना ब्रान्डको पानीमा पीएचको मात्रा ७.३ पाइएको खाद्य प्रविध तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अधिकृत भरत पुरीले जानकारी दिए । बिर्तामोड खानेपानी तथा उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानीमा ६.८ पीएचको रहेको पुरीले बताए ।


विज्ञहरूले मानव स्वास्थ्यमा असर पर्ने पानी बिक्री वितरण नगर्न प्रशोधन कम्पनीहरूलाई आग्रह गरेका छन् । बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले न्यूनतम ६ भन्दा कम पीएचको पानी बिक्री वितरण गर्ने कम्पनीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे । उनले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी सामान्य पीएचसमेत पूरा नगर्ने पानी कम्पनीमा तत्काल अनुगमन गर्न स्थानीय सरकारलाई आग्रह गरे ।


राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बाले गुणस्तर मापदण्डको ‘पीएच’ मापनमै असफल हुनु दुर्भाग्य भएको बताए । कम पीएचको पानी बिक्री वितरण गर्ने कम्पनीमाथि स्थानीय सरकारले निगरानी बढाउनुपर्ने उनको भनाइ छ । डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत पुरीले न्यूनतम पीएचसमेत पूरा नगर्ने पानीप्रति आम उपभोक्ता सचेत रहनुपर्ने बताए ।


‘बजारमा बिक्री वितरण भइरहेका यी पानीमा सामान्य पीएचको मात्रा समेत पूरा देखिएन । मानव स्वास्थ्यका दृष्टिकोणले पानीमा हुनुपर्ने फिजिकल पारामिटर, क्यामिकल पारामिटर र माइक्रो बायोलोजिकल पारामिटर मापन गर्ने हो भने कस्तो अवस्था आउँछ होला,’ पुरीले भने । बजारमा अहिले बिक्री वितरण भइरहेका पानीको नमुना संकलन गरेर चाँडै विराटनगरस्थित ल्याबमा लगेर पानीको गुणस्तर मापन गर्ने उनले बताए ।


शाश्वत पानी प्रशोधन कम्पनीका सञ्चालक आनन्द आचार्यले आफ्नो कम्पनीको पानीले न्यूनतम पीएचसमेत पूरा नगर्दा अच्चम्मित बनेको बताए । उनले भने, ‘हामीले ६.४ पीएचभन्दा कमको पानी बजारमा पठाउँदैनौं । परीक्षणका क्रममा कसरी ५.६ पीएच मात्र देखियो । मलाई पनि अच्चम लागिरहेको छ ।’ उनले पानीको गुणस्तर कायम राख्न प्रत्येक ३ महिनामा फिल्टर परिवर्तन गर्ने गरेको दाबी गरे । पानीको पीएच मापन कार्यक्रमलाई संवाद समूह र राष्ट्रिय उपभोक्ता मञ्चले संयोजन गरेको थियो ।

प्रकाशित : भाद्र ४, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?