२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

लेकाली क्षेत्रमा कृषि अनुसन्धान केन्द्र

(रुकुम पूर्व) — मारिङ एकीकृत कृषि तथा वन अनुसन्धान केन्द्रले उत्पादन सुरु गरेको छ । आलु, बन्दा, स्कुस र सिमी उत्पादन भएको हो । यसअघि हिउँदे सिजनमा मुला, काउली र रायोको साग उत्पादन भएको थियो । व्यावसायिक रूपमा पहिलोपटक आलु र बन्दा उत्पादन गरिएको केन्द्रले जनाएको छ ।

भूमे गाउँपालिका–२ र ७ वडामा रहेको मारिङलाई गाउँपालिकाले एकीकृत कृषि तथा वन अनुसन्धान केन्द्रका रूपमा अघि बढाइरहेको छ । आलु अहिले भण्डारण गरिएको छ । बन्दा टिप्न सुरु भएको छ । उचाइमा रहेको केन्द्रमा गाउँपालिकाले लगानी गर्दै आएको छ । समुद्री सतहबाट २ हजार ८ सय मिटर उचाइमा अर्गानिक खेती र अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजनाअनुसार पहिलोपटक आलु, बन्दा, स्कुस र सिमी फलाएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।


मारिङमा पाँच क्विन्टल आलु लगाइएको थियो । त्यसबाट राम्रो उत्पादन भएको र भण्डारण गरिएको अध्यक्ष बुढाले बताए । ‘पहिलो चरणमा उच्च भूभागमा के फल्दो रहेछ भनेर हेर्दै छौं,’ उनले भने, ‘अहिलेसम्म गरिएका खेतीमध्ये आलु, बन्दा र रायो सागको राम्रो उत्पादन भयो ।’ मारिङमा उत्पादन भएको तरकारीलाई खाना र बीउका रूपमा प्रयोग गरिनेछ । कृषि उपजको दुई तरिकाले परीक्षण गरिने जनाइएको छ ।


यहाँ अहिले दुई कृषिका नायब प्राविधिक सहायकसहित तीन जनाले कृषि र वनको सामान्य अनुसन्धान गरिरहेका छन् । खेती लाउने तथा उत्पादन मापन गर्ने काम गरिरहेको कृषि प्राविधिक रचना सोनीले बताइन् । मारिङमै एक हल गोरु पालिएको छ । वन पैदावारअन्तर्गत स्याउको परीक्षण खेती भइरहेको छ । अघिल्लो र गत असारमा गरी तीन सयभन्दा बढी स्याउका बोट रोपिएको सोनीले जानकारी दिइन् । १० वर्षअघि रोपिएका स्याउका बिरुवा हराएका थिए । भूमे–२ का वडाध्यक्ष नरबहादुर बुढा मगरले गाउँपालिकाले लेकाली क्षेत्रलाई सदुपयोग गर्दै अनुसन्धानको काम भइरहेको बताए । उत्पादन गरेर बजार पठाउने र राम्रो उत्पादनलाई बढाउने उद्देश्यले अनुसन्धान केन्द्र बनाइएको उनको भनाइ छ ।


प्रकाशित : भाद्र ४, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?