कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

'नक्कली’ भूकम्पपीडितले पैसा फिर्ता गर्न थाले

विमल खतिवडा

काठमाडौँ — झूटो विवरण पेस गरेर रकम बुझ्ने नक्कली भूकम्पपीडितले धमाधम रकम फिर्ता गर्न थालेका छन् । स्थानीय पूर्वाधार तथा अनुदान व्यवस्थापन आयोजनाका अनुसार असार मसान्तसम्म १० करोड ८६ लाख रुपैयाँ फिर्ता भएको छ । रकम फिर्ता गर्ने क्रम जारी रहेको आयोजनाले जनाएको छ । अहिलेसम्म १ हजार ९ सय ३९ जनाले रकम फिर्ता गरिसकेका छन् । 

'नक्कली’ भूकम्पपीडितले पैसा फिर्ता गर्न थाले

पहिलो किस्ता बुझेर रकम फिर्ता गर्ने १३६ जना छन् । त्यस्तै दोस्रो किस्ता बुझ्ने २ र तेस्रो किस्ता बुझेका १ जनाले रकम फिर्ता गरेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार पहिलो किस्ताका रूपमा पीडितलाई ५० हजार दिइन्छ । दोस्रो किस्ताका रूपमा डेढ लाख र तेस्रो किस्ताका रूपमा १ लाख पाउने व्यवस्था छ । त्यस्तै दोहोरो भुक्तानी लिएर फिर्ता गर्नेको संख्या १ हजार ७ रहेको छ ।


जसमा पहिलो किस्ता बुझ्ने १ हजार ५ सय ९५, दोस्रो किस्ता बुझ्ने ९७ र तेस्रो किस्ता ८ जनाले बुझेको पाइएको छ । आयोजनाका इन्जिनियर सम्रक कर्मचार्यका अनुसार बैंकमा पीडितको नाममा रकम गएर पनि नबुझ्नेको संख्या १ सय छ । जुन रकम फिर्ता भएको उनले बताए । पहिलो किस्ता ८७ र दोस्रो किस्ता १३ जनाको नाममा बैंकमा गएको थियो । ‘अझै रकम फिर्ता हुने क्रम जारी छ,’ उनले भने, ‘सबैभन्दा बढी रकम अति प्रभावित जिल्लाबाट फिर्ता भएको छ ।’


कम प्रभावित जिल्लाबाट अति प्रभावित जिल्लाको तुलनामा कम रकम फिर्ता भएको छ । झुटो विवरण पेस गरेर रकम बुझ्नेलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फिर्ता गर्न सूचना जारी गरेसँगै नक्कली भूकम्पपीडितले रकम फिर्ता गर्न थालेका हुन् । ‘प्राधिकरणले रकम फिर्ता गर्न ताकेता गरेको र फिर्ता नगरे नियमअनुसार कारबाही गर्ने कुरा सूचनमा उल्लेख गरेको थियो,’ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने, ‘पहिला नक्कली भूकम्पपीडितले रकम पाए भन्ने गुनासो आयो, त्यहीअनुसार कडाइ गरिएको हो ।’ उनका अनुसार भूकम्पपीडित कोही नछुटुन् र कोही नदोहोरिउन भन्ने छ ।


अति प्रभावित १४ र कम प्रभावित १७ जिल्लाबाट रकम फिर्ता भएको हो । सबैभन्दा बढी नुवाकोटबाट मात्र २ करोड १७ लाख रुपैयाँ फिर्ता भएको छ । त्यस्तै उपत्यकाका तीन जिल्लामध्ये सबैभन्दा बढी ललितपुरबाट फिर्ता भएको छ । आयोजनाका अनुसार ललितपुरबाट १ करोड ३१ लाख रुपैयाँ फिर्ता भएको छ ।


‘ढाँटेर लाभग्राहीको सूचीमा सूचीकृत भएकाहरूले रकम फिर्ता गर्दै छन्,’ सहप्रवक्ता घिमिरेले भने, ‘यसरी रकम फिर्ता गर्नेको नाम लाभग्राहीको सूचीमा रहने छैन ।’


एउटै व्यक्तिले सुरुमा गैरसरकारी संस्था र सरकार दुवैतर्फबाट सहयोग रकम बुझेका हुन् । नियममा एकतिरबाट मात्र रकम पाउने व्यवस्था छ । गैरसरकारी संस्था र सरकारबाट रकम बुझ्नेहरूले पनि एकतिरको मात्र फिर्ता गरेको उनले बताए । प्राधिकरणका अनुसार अनुदान लिएर घर नबनाउनेहरूले रकम फिर्ता गरेको पाइएको छ । ‘पहिलो किस्ता लगेकामध्ये स्वेच्छाले फिर्ता गर्नेहरू छन्,’ केन्द्रीय आयोजना कार्यान्वयन इकाई स्थानीय पूर्वाधार तथा अनुदान व्यवस्थापन आयोजनाका प्रमुख गणेशराज वस्तीले भने ।


प्रकाशित : भाद्र ४, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?