१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित

यज्ञ बञ्जाडे

काठमाडौँ — बैंकको सहायक कम्पनीलाई सेयर ब्रोकरको अनुमति दिने प्रक्रिया स्थगित भएको छ  । सोमबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिको बैठकले केही समयका लागि भन्दै सो प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो  ।

बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया स्थगित

संघीय संसद्को अर्थ समितिको पत्रका आधारमा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषय स्थगित गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘यस बारेमा अध्ययन गर्न अर्थ समितिले एक उपसमिति गठन गरेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘अर्थ समितिले अध्ययन गरिरहेको विषयमा ब्रोकर लाइसेन्स बाँड्नु उचित देखिएन, यसकारण केही समयका लागि स्थगित भएको हो ।’


नेप्सेले गत साउन १७ मा बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरणका लागि कार्यविधि सँगै आवेदनका लागि सूचना पनि जारी गरेको थियो । सूचनामा पहिलो चरणका लागि १५ दिनको समयावधि दिइएको थियो । कार्यविधि जारी गरेको १७ दिन पछि उक्त प्रक्रिया स्थगित भएको छ । यो निर्देशन पनि करिब एक दर्जन बैंकका सहायक कम्पनीले नेप्सेका आवेदन दिएका छन् । अर्थसमितिले नेप्सेलाई पठाएको पत्रमा बैंकको सहायक कम्पनीलाई लाइसेन्स वितरण प्रक्रिया स्थगित गर्नु भन्ने उल्लेख छैन । पत्रमा मुद्रा बजार र पुँजी बजारसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरिएको जानकारी पठाइएको छ । नेप्सले भने सोही पत्रको ‘भावना अनुरूप’ भन्दै प्रक्रिया स्थगित गरेको सूचना जारी गरेको छ ।


नेप्से धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त एक्सचेञ्ज कम्पनी हो । यसकारण सरकार वा अर्थ मन्त्रालयले कुनै निर्देशन वा पत्र पठाउदा धितोपत्र बोर्डमाार्फत पठाउने प्रचलन छ । अर्थ समितिले भने सोझै नेप्सेलाई पत्र पठाएको छ । ‘यो प्रक्रियामा धेरै चलखेल छ,’ स्रोतले भन्यो, ‘पत्रमा सामान्य जानकारटी लेखिए पनि टेलिफोनमार्फत नेप्से सञ्चालक समितिका पदाधिकारीलाई निर्देशन आएको छ ।’ अर्थ समितिले गठन गरेको उपसमितिलाई प्रतिवेदन पेस गर्न दुई महिनाको समयावधि दिइएको छ । ‘नेप्सेले पनि दलालको चंगुलमा परेर उक्त निर्णय गरेको हो,’ स्रोतले भन्यो, ‘अन्यथा पत्रकै आधारमा प्रक्रिया स्थगित गरिहाल्नुपर्ने अवस्था थिएन ।’ नेप्सेले प्रक्रिया स्थगनको निर्णय गर्दा उपसमितिको प्रतिवेदन प्राप्त नभएसम्मका लागि भनिएको छ । यसको अर्थ अब यो प्रक्रिया छिट्टै खुल्न कठिन रहेको ती अधिकारीले बताए । ‘हेर्दै जानुस उपसमितिले २ महिनामा प्रतिवेदन बुझाउँदैन, अर्थ समितिले समय थप गर्दै जानेछ,’ स्रोतले भन्यो, ‘प्रतिवेदन प्राप्त नभएसम्मका लागि लाइसेन्स प्रक्रिया स्थगित गर्ने नेप्सेको निर्णय छ ।’ सञ्चालनमा रहेका धितोपत्र ब्रोकरले बैंकको सहायक कम्पनीलाई सेयर कारोबार गर्न दिन नहुने भनेर विरोध गरिरहेको बेला नेप्सेले नयाँ लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो । अहिले पनि ब्रोकर र बैंकलाई लाइसेन्स दिनु हुँदैन भन्ने समूहको प्रभावमा परेर अर्थ समितिले प्रक्रिया रोकेको जानकारीहरू बताउँछन् ।


‘अब यो विवाद बैंक र ब्रोकर बिच चल्ने छ,’ स्रोतले भन्यो, ‘ब्रोकर सञ्चालनका लागि बैंकले ठूलो लगानी गरीसकेका छन, अब उनीहरू लाइसेन्स खुलाउन र ब्रोकरहरू बन्द गराउन लाग्छन । यो क्रम चलिरहन्छ । केही समय बैंकले लाइसेन्स पाउँदैनन् ।’ सरकारले एकातिर पुँजी बजार विस्तार गर्ने भने पनि अर्कोतिर संसदीय समितिले त्यसलाई रोक्ने काम गरेको ती अधिकारीले बताए । ‘बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिने बेलामा संसदीय समितिले चासो देखाउनुलाई अर्थपूर्ण मान्नुपर्छ,’ उनले भने । कार्यविधिअनुसार सेयर कारोबार सञ्चालनका लागि स्थापित बैंकको सहायक कम्पनीमा वाणिज्य बैंकको शतप्रतिशत लगानी भएको र न्यूनतम चुक्ता पुँजी २ करोड रुपैयाँ हुनुपर्नेछ । हाल ५० वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् । राष्ट्र बैंकबाट धितोपत्र व्यवसाय गर्नका लागि वाणिज्य बैंकले सहायक कम्पनीमार्फत धितोपत्र व्यवसाय सञ्चालन गर्ने स्वीकृति लिएको हुनुपर्ने तथा कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्था कार्यविधिमा उल्लेख छ ।

प्रकाशित : भाद्र ३, २०७६ २०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?