२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

इन्जिनियरले खोले ठ्टेनो मकै घर

नुमा थाम्सुहाङ

काठमाडौँ — नेपाली ठेट शब्द हो ठेट्नो । भुट्दा फुल नउठेको मकैलाई ठेट्नो भनिन्छ । नेपाली मौलिक शब्दलाई इंगित गर्ने यो शब्दले स्थानीय मकैको स्वाद पनि झल्काउँछ । यही स्वादलाई बचाइराख्न नयाँ बानेश्वरको संगम चोकमा खुलेको छ– ठेट्नो मकै घर । 

मकैका पारखीहरूलाई यो घरले लोभ्याउँदै छ । बीबीए सकेका विद्यार्थी अभिषेक सिंह साथी रिचा केसीसँग मकैको फरक परिकार चाख्न यहाँ आएका थिए । साथीले भनेपछि पहिलोपकट मकै घर आएका दुवैलाई भिन्न परिकारको स्वाद लिन हतारो थियो । ‘साथीले मकै घरको परिकार भिन्न छ भनेपछि हामी पनि एकचोटि स्वाद लिई हेरुम् भनेर आएका हौं,’ रिचाले भनिन्, ‘ठेट्नो नामै फरक छ । खाना पकाउने शैली र परिकार पनि नयाँ ।’


त्यही मेसोमा मकै घरमा पुगेका थिए– ठमेलका अनील खड्का । उनलाई भने मकैघरको मःमः मिठो र फरक लाग्यो । परिकारको मूल्य पनि सबै नेपालीले धान्न सक्ने लागेको उनले बताए । ‘म ठमेलबाट मकैघरको मःमः चाख्न आएको हुँ,’ खड्काले भने, ‘मःमःको स्वादै बेग्लै छ । मकैको परिकारको मूल्य पनि ठिकै छ ।’


स्वयम्भूका चन्द्रसिंह तामाङ र कविता तामाङ पनि पहिलोपटक मकैघर आएका थिए । मकैघर मकैका पारखीहरूका लागि राम्रो, सफा, व्यवस्थित र क्रिएटिभ लागेको कविताले बताइन् । ‘मकैघरले साँच्ची नै मकै प्रेमीलाई लोभ्याउँछ,’ उनले भनिन्, ‘यहाँको वातावरण नै व्यवस्थित र क्रिएटिभ छ । नयाँ मानिसले मकैको परिकारको मज्जा लिँदा हुन्छ ।’ मकैघरले स्थानीय खानाको पनि झल्को दिने उनले बताइन् ।


पाल्पाका विपिल कँडेलले जेठ २३ गतेबाट ठेट्नो मकै घरको सुरुवात गरेका हुन् । मकैका पारखीहरूलाई व्यवस्थित, सफा र शुद्ध मकैको परिकार तथा स्थानीय खानालाई प्रवर्द्धन गर्ने उद्देश्यले ठेट्नो मकैघर खोलेको उनले बताए ।


०६७ सालमा स्नातक तहमा इन्जिनियरिङ गर्न काठमाडौं आएका कँडेलले आफ्नै फर्म पनि सञ्चालन गरेका छन् । पुल्चोक इन्जिनियरिङ कलेजबाट मास्टर सकेका उनले फार्म सञ्चालन गरेको २ वर्ष नबित्दै आफ्नै मिहिनेत र लगानीमा खानाको व्यवसाय सुरु गरेका हुन् ।


अफिसमा साथीहरूसँग बसेर चिया खाइरहेको समयमा बाहिर एक महिलाले गाह्रो तरिकाले मकै पोलेको देखेपछि केही गर्ने सोच पलाएको उनले बताए । ‘मैले ती महिलाले एकदम अप्ठ्यारो तरिकाले मकै पोलेको देखेँ,’ कँडेलले भने, ‘त्यतिबेलै केही गर्ने सोच भयो ।’


मकैका पारखीहरूलाई व्यवस्थित रूपले खाने ठाउँ छैन । सफा, शद्ध र व्यवस्थित मकैको परिकार खाने वातावरण उपलब्ध गराउन यसको सुरुवात गरेको उनले बताए ।


केही गर्ने सोच भए पनि कसरी सुरुवात गर्ने समस्या कँडेललाई थियो । यसलाई व्यवस्थित गर्न उनले मकै पोल्ने मेसिन तयार गर्ने सोचमा इन्टरनेटमा खोजी सुरु गरे । इन्टरनेटमा खोज्दा पनि केही नभएपछि उनी आफैंले प्रयास गरे । ६ महिनापछिको प्रयासले मकै पोल्ने मेसिन तयार गरे ।


‘आफैंले ट्राइल गर्दै बनाउँदा ६ महिना लाग्यो,’ कँडेलले भने, ‘१ लाख ५० हजार रुपैयाँ लगानीमा मकै पोल्ने मेसिन तयार भयो ।’ मेसिनले एकपटकमा १० वटा र एकदिनमा १ हजारवटासम्म मकै पोल्न सक्ने उनी बताउँछन् । ‘अहिलेसम्म मकै पोल्ने मेसिन मैले यहाँबाहेक अन्त प्रयोगमा आएको देखेको छैन । ग्राहकले माग गरे भने बनाएर बेच्ने सोचमा छु,’ कँडेलको भनाइ छ । ८ लाख रुपैयाँ लगानी गरेर सञ्चालन गरेको व्यवसायले तीनजनाले प्रत्यक्ष र दुईजनाले अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।


भक्तपुर र सिन्धुपाल्चोकको पाँचखालबाट दिनमा ६० वटाका दरले मकै मगाउने गरेको कँडेलले बताए । लोकल उत्पादन र नेपाली प्रविधिलाई प्रवर्द्धन गर्न नेपालकै स्थानीय क्षेत्रमा पाइने खाद्यान्न बाली तथा प्रविधिको प्रयोग गरेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?