१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

त्रिवेणी नाकाबाट सामान आयात खुला

नवीन पौडेल

नवलपुर — गण्डकी प्रदेशको भारतसँग जोडिएको त्रिवेणी छोटी भन्सारबाट २५ हजार रुपैयाँ बराबरको सामान निकासी पैठारी सुरु भएको छ । यसअघि सवारी सुविधा काट्ने मात्र सेवा हुँदै आएकामा आइतबारदेखि यस्तो सेवा थपिएको हो । 

त्रिवेणी पश्चिम नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयमातहत छ । संघीयतापछि गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र त्रिवेणी नाका भएकाले यसको स्तरोन्नतिको माग हुँदै आएको छ । पूर्वी नवलपरासीका उद्योगी व्यवसायी र स्थानीयले जनप्रतिनिधिमार्फत प्रदेश र केन्द्र सरकारलाई छोटी भन्सारको स्तरोन्नतिको माग गर्दै आइरहेका छन् ।


नाकाको स्तरोन्नति नभए पनि घरायसी सामान किनमेलका लागि सर्वसाधारणलाई सहज हुने भएको छ । प्रदेश नम्बर ५ को नाका हुँदै किनमेलका लागि जानुपर्ने सीमावर्ती नाकाका स्थानीयलाई सहज भएको छ ।


भन्सार सेवाको संघिय सांसद तिलक महतले भारतबाट नेपालमा सामान ल्याएका ३ जना सन्तोष सिंह, राजेश शाह र दिनेश उरहुलाई प्रज्ञापन पत्र प्रदान गरी सेवाको प्रारम्भ गरेका थिए । ‘वर्षौंदेखि बन्द जस्तै अवस्थामा रहेको त्रिवेणी भन्सारलाई स्तरोन्नति गर्ने कार्यको थालनीस्वरूप २५ हजारसम्मको भन्सार काट्ने सुविधा सुरु भएको छ,’ महतले भने, ‘आगामी २ महिनाभित्र १ लाख बराबरको भन्सार काट्न सक्ने गरी स्तरनोन्नति गर्न भन्सार विभागमा पहल गर्नेछु ।’


सर्वसाधारणलाई घरायसी सामान किनमेलका लागि २५ हजारसम्मको भन्सार सुविधा पर्याप्त भए पनि व्यवसायीका लागि भने यसले खासै महत्त्व नराख्ने व्यवसायीको भनाइ छ ।


उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोख्रेलका अनुसार २५ हजार रुपैयाँसम्मको सामान भारतबाट नेपाल ल्याएर व्यवसायीलाई कुनै पनि फाइदा नहुने बताए । ‘सामान्य किनमेलका लागि खुला नाका भएको कारण घरायासी प्रयोजनका लागि दैनिक उपभोग्य वस्तु यसअघि पनि भारत र नेपाली पक्ष कसैले पनि रोकेका थिएनन्,’ उनले भने, ‘यसको भौतिक रूपमा पूर्वाधार निर्माण गरेर आयात र निर्यात दुवै हुने गरेर करोडौंको सामान ओसारपसार गर्न पाउने गरी स्तरोन्नति हुन आवश्यक छ ।’


महेशपुर भन्सार कार्यालयका प्रमुख हेमचन्द्र शर्माका अनुसार मूल भन्सारबाटै सोचेजस्तो आयात निर्यात नभएको बताए । ‘छोटी भन्सार सञ्चालनका लागि भारततर्फ पनि भारतीय कस्टम (नाका) हुन आवश्यक छ,’ उनले भने, ‘दुवै देशका भन्सार विभागका अधिकारी बसेर भौतिक पूर्वाधार पूरा गरेपछि स्तरोन्नति गर्न सकियो भने बल्ल नाका पूर्ण रूपमा सञ्चालन हुन सक्छ ।’

प्रकाशित : भाद्र ३, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?