खाद्यान्न आयात घट्यो

देवनारायण साह

मोरङ — विराटनगर भन्सार कार्यालयबाट खाद्यान्न आयातमा कमी आएको छ । विगत वर्षभन्दा गत आव ०७५/७६ मा १७ दशमलव १४ प्रतिशत कम खाद्यान्न आयात भएको हो । खुला नाकाबाट चोरी तस्करी बढेपछि आयातमा कमी आएको भन्सार कार्यालयको दाबी छ ।

गत आवमा ७ अर्ब ८८ करोड ९१ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको २ लाख ५० हजार ८ सय १८ टन खाद्यान्न आयात भएको छ । आव ०७४/७५ मा ८ अर्ब ८७ करोड ११ लाख ११ हजार रुपैयाँ मूल्य बराबरको ३ लाख २ हजार ६ सय ९८ टन खाद्यान्न आयात भएको थियो । यस्तै ०७३/७४ मा ३ लाख ५ हजार ३ सय २८ टन खाद्यान्न आयात भएको तथ्यांक छ ।


प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार यस प्रदेशमा खेतीयोग्य जग्गा र खाद्यान्न उत्पादन दुवै घट्दै गएको छ । प्रदेश १ का १४ जिल्लामा १५ वर्षयता धान उत्पादनमा कमी आएर १४ लाख १५ हजार ८ सय टनमा समिति भएको हो ।


१५ वर्षअघि प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुँदै आएको थियो । धानको वार्षिक उत्पादन १६ लाख ४७ हजार टन थियो । १५ वर्षको अन्तरालमा धानको वार्षिक उत्पादन १४ लाख १५ हजार ८ सय टनमा झरेको मन्त्रालयको तथ्यांक छ । धान खेती हुने जग्गा पनि खुम्चिएर ३ लाख १२ हजार हेक्टरमा सीमित भएको छ ।


प्रदेशमा खाद्यान्न उत्पादनमा कमी आइरहेको अवस्थामा भन्सार कार्यालयको आयात घट्नुले भन्सार छलेर चोरी तस्करी भइरहेको प्रस्टिने कृषिविज्ञ काशी चौधरीले बताए । जिल्लास्थित छोटी भन्सार नाकाबाट सुरक्षाकर्मीकै मिलेमतोमा निर्बाध खाद्यान्नको चोरी पैठारी हुने भएकाले भन्सार नाकाबाट आयात घटेको भन्सार स्रोतले जनाएको छ । खुसा सीमाको फाइदा उठाउँदै भारतबाट तस्करी हुने क्रम अनियन्त्रित बनेको छ । तस्करहरूले धान, गहुँ, मकैलगायत खाद्यवस्तु भन्सार छलेर भित्र्याउने गरेका छन् ।


धनपालथान गाउँपालिका २ स्थित खैरबाना, तरिगामा, रंगेली, आमगाछी, डायनियाको सिक्टी, बरडंगा, झुरकिया, घर्रुचोक, धनापट्टी, चोपरा, सौराभागलगायत नाकाबाट खाद्यान्न चोरी तस्करी हुँदै आएको स्थानीयले बताए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले खुला सिमाना, गोदाम र धर्मकाँटाहरू सीमा क्षेत्रमै रहेको स्विकारे ।


‘प्रहरी एक्लैले यो नियन्त्रण सम्भव नभएकाले स्थानीय नागरिकलाई आआफ्नो क्षेत्रमा भइरहेको चोरी तस्करीलगायत अवाञ्छित क्रियाकलापबारे जानकारी गराउन आग्रह छ,’ उनले भने, ‘हामीलाई जानकारी प्राप्त भएपछि तत्काल त्यस्ता कार्य गर्ने र त्यस्ता कार्यमा संलग्न सुरक्षाकर्मीलगायत जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउँछौं ।’


सशस्त्र प्रहरी नेपाल नम्बर ३ गण टंकिसिनुवारीका सशस्त्र प्रहरी उपरीक्षक नेत्र कार्कीले आफू नयाँ भएकाले गत वर्षको बारेमा खासै जानकारी नभएको बताए । ‘सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण गर्नु हाम्रो दायित्व हो,’ उनले भने, ‘भन्सार छलेर अवैध कारोबार गर्ने र गराउने दुवैलाई नियन्त्रण गर्छौं ।’


विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले गत आवमा विगत आवभन्दा १७ दशमलव १४ प्रतिशत कम अर्थात् ७ अर्ब ८८ करोड ९१ लख ४५ हजार रुपैयाँ मूल्य बराबरको २ लाख ५० हजार ८ सय ८१ टन खाद्यान्न आयात भएको बताए । ‘गत वर्ष धान ४९ हजार ६ सय ५३, गहुँ मुडुला, जौ, जुनेलो ३६ हजार ३ सय ७, चामल र किनका ४० हजार ४ सय ६४ र मकै १ लाख २४ हजार ३ सय ९४ टन आयात भएको छ,’ उनले भने, ‘अघिल्लो वर्षमा धान ५५ हजार ८ सय ६१, गहुँ ३९ हजार ७ सय ६४, चामल र कनिका ५१ हजार ९ सय ४२ र मकै १ लाख ५५ हजार १ सय ३१ टन आयात भएको थियो ।’


फलफूल आयात दोब्बर

विराटनगर भन्सारमा गत आर्थिक वर्षमा फलफूल आयात दोब्बरले वृद्धि भएको छ । गत वर्षमा ७१ करोड ७१ लख ५० हजार रुपैयाँ मूल्य बराबरका १० हजार ९ सय १ टन अम्बा, आँप, सुन्तला, स्याउ र अंगुर आयात भएको हो ।


विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पौडेलका अनुसार विगत वर्ष ४५ करोड ५० लाख ७४ हजार रुपैयाँ मूल्य बराबरका ७ हजार ४ सय २० टन अम्बा, आँप, सुन्तला, स्याउ र अंगुर आयात भएको थियो । ‘गत वर्ष अम्बा र आँप १ हजार ६ टन, सुन्तला १ हजार ६६ टन, स्याउ ७ हजार १४ र अंगुर १ हजार ८ सय छ टन आयात भएको छ,’ उनले भने, ‘विगत वर्ष अम्बा र आँप ५ सय ४२, सुन्तला ६ सय १०, स्याउ ४ हजार ७ सय ४९ र अंगुर १ हजार ५ सय ११ टन आयात भएको थियो ।’

प्रकाशित : भाद्र ३, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?