मूल भन्सारमै छैन क्वारेन्टाइन

गणेश चौधरी

टीकापुर — टीकापुरमा रहेको सत्ती छोटी भन्सार मूल भन्सार बनेको एक वर्ष पुगे पनि बनस्पती र पशु क्वारेन्टाइन चेकपोस्ट नहुँदा व्यवसायी मर्कामा परेका छन् । उनीहरूलाई धनगढी त्रिनगरस्थित भन्सारबाट क्वारेन्टाइन जाँचको कागज बनाउनुपर्ने बाध्यता छ ।

फलफूल, तरकारी, पशुपक्षी र खाद्य सामग्री आयात निर्यात गर्न खाद्य प्रयोगशाला स्थापनाका लागि सम्बन्धित कार्यालयमा अनुरोध गरे पनि सुनुवाइ नभएको सत्ती भन्सार कार्यालयका प्रमुख वसन्त केसीले बताए । उनका अनुसार सामान सत्ती भन्सारबाट आउँछ तर प्रयोगशाला नहुँदा व्यवसायीले क्वारेन्टाइन जाँचको कागज बनाउन धनगढी जानुपर्ने बाध्यता छ ।


वाणिज्य बैंकनै भन्सार कार्यालयबाट करिब ३० किलोमिटर टाढा छ । धरौटी रकम जम्मा गर्न टाढा जानुपर्ने झन्झटले पनि व्यवसायी हैरान छन् । खानेपानी, टेलिफोन र इन्टरनेट समस्याले पनि कार्यालय सञ्चालनमा कठिनाइ भइरहेको केसीले बताए ।


यस्तै छोटी भन्सार हुँदा आर्थिक वर्ष ०७४/७५ मा २ करोड १५ लाख रुपैयाँ राजस्व संकलन गरेको सत्तीले मूल भन्सार बनेपछि भने ५ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ तर राजस्व चुहावट भने अझै रोकिएको छैन । खुला सीमा नाकाका कारण चोरीनिकासी भइरहेको भन्सार प्रमुख केसीले स्विकारे । ‘करिब ४ सय मान्छे चोरीतस्करीमा संलग्न छन् । कतिलाई निगरानी गर्ने,’ उनले भने । भारतबाट लत्ताकपडा, हार्डवेयर र मेसिनरी सामानका पार्टलगायत चोरीपैठारी हुने गरेका छन् ।


केही दिनयता विदेशबाट आयात भएको केराउको चोरी निकासी भइरहेको भन्सार प्रमुख केसीको भनाइ छ । उनले भने, ‘करिब ४/५ ट्रक केराउ भारत गयो होला । करिब १० क्विन्टल जति समातियो ।’ उद्योग वाणिज्य संघसित व्यापार सहजीकरणका लागि आफूले बैठक गर्न खोजे पनि संघले सहयोग नगरेको केसीको गुनासो छ ।


टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रशुराम चपाईले आफूहरूले सोचेजस्तो ठूला सामान ल्याउन सकिने अवस्था नरहेको बताए । ‘भारतमा नेपालको भन्सारसम्म आउने सडक राम्रो छैन । ठूला कन्टेनर आउन सक्दैनन् । साना सामान मात्रै आइरहेका छन् । बाटो बनाउने कुरामा भारतीय पक्षसित छलफल चलिरहेको छ,’ उनले भने ।


टीकापुर बजारका व्यापारी ध्रुव खत्रीले मूल भन्सार बने पनि आयात निर्यातमा सिस्टम बस्न नसकेको बताए । ‘कुन सामानमा भन्सार लाग्ने ? कुनमा नलाग्ने थाहा छैन,’ उनले भने, ‘भन्सार र व्यापारीबीच के कसरी सहकार्य गर्ने भन्ने कुराको समन्वय भइरहेको छैन ।’

कालाकुन्डा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कुलबहादुर साउदले प्रहरी सक्रियताकै कारण विगतका वर्ष भन्दा धेरै राजस्व संकलन सम्भव भएको बताए । ‘तस्करी पुरै रोकिएको भन्दिनँ तर एक वर्षको अवधिमा प्रहरीले चोरी पैठारी गर्दा समातेको सामानको रेकर्डले पनि प्रहरीले गरेको कामको मूल्यांकन गर्न सकिन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र ३, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?