कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रोगको संक्रमणले मासिँदै अलैंची

विप्लव भट्टराई

इलाम — रोगका कारण बगान नै सखाप भएर पुनः जगाइएको अलैंची खेतीमा पनि रोगको संक्रमण देखिएको छ । खोलाखोल्सी र जंगलमा सखाप भएपछि घरबारीमा लगाइएको अलैंचीमा पनि उस्तै प्रकृतिको रोगको प्रकोप बढ्न थालेपछि उत्पादनमा पनि कमी आएको छ ।

रोगको संक्रमणले मासिँदै अलैंची

वैदेशिक मुद्रा आर्जनका लागि अब्बल मानिएको अलैंची बगानमा रोगको संक्रमण बढ्दै गए पनि निदानको भरपर्दो उपाय नहुँदा समस्या भएको कृषकले बताए । ‘अघिल्लो वर्ष १२ मन हाराहारीमा अलैची उत्पादन भएको थियो,’ माईजोगमाई ६ प्याङका रमेश दाहालले भने, ‘अहिले क्षेत्रफल बढे पनि पुरानो बगानमा रोग देखिएकाले पहिलेको जस्तो उत्पादन छैन ।’

रोग निदानका लागि भरपर्दो प्राविधिक ज्ञान नहुनुले पनि कृषकले यो खेतीमा अपेक्षाअनुसार फाइदा लिन सकिरहेका छैनन् । गाउँमा उपलब्ध गहुँत, तितेपातीलगायत जैविक विधिवाट केही कृषकले रोग निदानको उपाय गरे पनि सफल भएन । नयाँ मौलाएको बगानमा केही वर्ष राम्रो उत्पादन दिए पनि क्रमशः रोगले गाँजेर उत्पादन नै शून्य हुने अवस्थामा पुग्दै गएको धेरै कृषकको भनाइ छ ।

लेकाली क्षेत्रमा मात्र गरिँदै आएको अलैंची खेती पछिल्लो समयमा औल क्षेत्रमा पनि खेतबारी मासेर लगाउने क्रम बढेको थियो । कृषकले लहडको भरमा जुनसुकै उचाइ र माटामा जस्तोसुकै जातको बिरुवा लगाउँदा पनि समस्या आउने गरेको पाइएको छ । औल क्षेत्रका लागि सिफारिस गरिएको सलकपुरे अलैंची लेकाली क्षेत्रमा पनि पुगेको छ । त्यस्तै भार्लाङ र रैथाने अलैंची पनि उत्तिकै प्रचलनमा छ । माटो, हावापानी र उचाइको वास्तै नगरी आफूखुसी अलैंची रोप्दा यस्तो समस्या आउने गरेको कृषि प्राविधिक रविकिरण अधिकारीले बताए ।

‘अलैंचीलाई उचाइ र हावापानीअनुसारको जात छनोट गर्नेसँगै मलखाद, जैविक विषादी र सिँचाइको पनि उचित समयमा प्रबन्ध गरिनुपर्छ,’ अधिकारीले भने, ‘तर अधिकांश कृषकले त्यो विधि अपनाएका छैनन् ।’ दाम महँगो भएकाले कालो हिराको समेत उपमा पाएको अलैंचीको फूलमै रोग देखा परेको छ । फूल नै कालो हुँदै गएपछि दाना लाग्न पाउँदैन । यही समस्याका कारण बोटै मर्नर् थालेको कृषकले बताए । स्वस्थ फल रातो तथा कलेजी रंगको हुन्छ । अलैंचीमा छिर्के, फुर्के रोग, गानो कुहिने रोगसँगै फैलिएको झाँग सुक्ने रोगका कारण किसानका बगानमा समस्या देखिन थालेको छ ।

पछिल्लो दशकमा कृषकले अलैंचीबाट राम्रो आम्दानी लिने उद्देश्यले मेहनत बढाएका थिए । महँगो बिरुवा किनेरै कृषकले बगान बनाएका हुन् तर मुख्य आम्दानी सुरु हुन थालेपछि रोगको संक्रमण बढेपछि अर्को विकल्प खोज्न कृषक वाध्य छन् । अलैंची खेतीको समस्या निदान गर्दै प्राविधिक ज्ञान दिने उद्देश्यले सूर्योदय नगरपालिकाको पान्दाममा अवस्थित अलैंची विकास केन्द्रले पनि कृृषकलाई उचित सेवा पुर्‍याउन सकेको छैन । न्यून जनशक्ति र स्रोतसाधनबीच पनि आवश्यक सेवा दिँदै आएको केन्द्रको भनाइ छ ।

सजिलो खेती र राम्रो मूल्य पाउने भएकाले प्रायः किसानले अलैंची खेती गर्दै आएका छन् । हाल अलैंचीको मूल्य प्रतिमन २६ हजारदेखि ३० हजार रूपैयाँसम्म छ । पहाडी जिल्लाबाट सुरु अलैंची खेती देशका अन्य जिल्लामा विस्तार भइरहेको छ । सरकारले २०३९ मा इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमलाई अलैंची विकास क्षेत्र घोषणा गरेको थियो । त्यसपछि अलैंचीलाई जोगाउने कार्यक्रम अघि सार्न नसकेको किसानको गुनासो छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?