कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बिक्न छाड्यो भारतीय तरकारी

भारतीय तरकारीमा अत्यधिक मलखाद र रसायन प्रयोग हुने थाहा पाएपछि उपभोक्ता महँगो भए पनि विषादीरहित स्वदेशी तरकारी किन्न थाले
जितेन्द्र साह

विराटनगर — बजारमा नेपाली बोडी पाउको ३० रुपैयाँ, भारतबाट आयातितको १५ रुपैयाँ । विराटनगरकी गृहिणी ४३ वर्षीया सानु दुलालले आइतबार बिहान आधा किलो स्थानीय बोडी नै किनिन् । मूल्य बढी परे पनि स्थानीय खेतबारीकै हरिया तरकारी एवं सागपात किन्दै आएको उनले बताइन् ।

बिक्न छाड्यो भारतीय तरकारी

‘पहिले दाम होइन, कहाँ उत्पादन भएको सोध्छु,’ दुलालले कान्तिपुरसँग भनिन्, ‘अत्यधिक रसायनको प्रयोग हुने गरेको थाहा पाएर भारतको तरकारी किन्नै छाडेकी छु ।’

रोचक के छ भने भारतबाट आयातित तरकारीहरूको तुलनामा स्वदेशी तरकारीहरूको मूल्य झन्डै दोब्बर प्रतिकिलो परवल ८०/१०० रुपैयाँ, इस्कुस ४० रुपैयाँ, काउली १ सय ५०, बन्दा ४० रुपैयाँ, काँक्रा ८० रुपैयाँ, गोलभेंडा सय रुपैयाँ, घिरौंला ५० रुपैयाँ, भिन्डी ४० रुपैयाँ, भान्टा ८० रुपैयाँ, खुर्सानी १ सय २० रुपैयाँ, धनियाको पात प्रतिमुठा २० रुपैयाँ, निग्रो २० रुपैयाँ र लौका प्रतिगोटा ६० रुपैयाँ पर्छ ।

‘स्वास्थ्यको सवालमा मूल्य हेर्नुभएन, बरु थोरै खाने तर शुद्ध खाने बानी बसाल्नुपर्छ,’ विराटनगरकी स्वाथ्यकर्मी मैयाँ कार्कीले भनिन् । स्थानीय गोल्डेन अस्पतालमा कार्यरत उनले ड्युटीबाट समय निकालेर आफैं तरकारी किन्छिन् । ‘नियमित किनिराख्नेले तरकारीको मुहार हेरेरै नेपाली र विदेशी ठम्याउन सक्छन्,’ कार्कीले भनिन्, ‘हाम्रा तरकारी आकार, प्रकार, रङरुप एवं तौलमा ठिक्कको हुन्छ ।’

भान्छाका लागि बन्दोबस्ती आफैंले गर्ने स्थानीय कपडा व्यवसायी राजेश अग्रवालको छनोटमा वरिपरिकै गाउँका तरकारी पर्छन् । १२० रुपैयाँमा भारतबाट आयातित तरकारी किन्दा दुई छाकलाई र नेपालका किन्दा केबल एक छाकका लागि पुग्ने गरेको उनको अनुभव छ । ‘महँगो भए पनि हाम्रो तरकारी एक त ताजा हुन्छ, अर्को कुरा विषादी पनि कम हुन्छ,’ उनले भने, ‘बेच्ने पनि चिनेजानेका भएकाले बिग्रेको भएमा पैसा पनि फिर्ता गर्छन् ।’

अर्का स्थानीय ५५ वर्षीया पवित्रा वंशलले अहिलेसम्म भारतीय तरकारी नकिनेको बताइन् । ‘भारतका तरकारीमा बढी विषादी भएको अहिले आएर सबैले थाहा पाए तर म दुई दसशदेखि नेपाली तरकारी नै खाइरहेको छु,’ उनले भनिन्, ‘नेपाली लौका, काँक्रा, भिन्डी र मुलाको जस्तो स्वाद संसारमै कहीँको तरकारीमा हुन्न ।’

उत्पादन गर्दादेखि ट्रकमा लादेर यहाँ ल्याउँदासम्म भारतको तरकारीमा अत्यधिक मलखाद र रसायन प्रयोग हुने गरेको सबैले थाहा पाइसकेको खुद्रा तरकारी व्यवसायी ४० वर्षीय रामकुमार यादवले बताए । उनले यसै कारणले नेपाली बजारमा भारतको हरिया तरकारी बिक्नै छाडेको जानकारी दिए ।

‘भारतीयहरूले तरकारीलाई हरियो र पोटिलो देखाउन मनग्य मलखाद हाल्छन््, त्यसपछि नेपालमा ढुवानी गर्ने क्रममा नबिग्रिउन् भनेर तरकारीमा थप रसायन छर्किइन्छ,’ उनले भने, ‘भारतबाट हाम्रो बजारमा आइपुग्न तीन दिन लाग्ने हुनाले तरकारी ताजा रहँदैन, भान्छामा दुई दिनमै बिग्रन थाल्छ, हाम्रो खेतबारीको तरकारी त सातासम्म राख्दा पनि बिग्रिँदैन ।’

सुनसरीको देवानगन्ज गाउँपालिका–७ का यादवले नेपाली खेतबारीकै तरकारी ल्याएर विराटनगरमा बेच्छन् । तरकारीको खुद्रा बिक्रेता उनले सम्पूर्ण खर्च काटेर वार्षिक २ लाख रुपैयाँ बचत गरिररहेको बताए । ‘स्थानीय तरकारीको माग बढेकोले व्यापार अझै बढ्छ,’ यादवले भने ।

यादवकै गाउँका युवा विनोद मेहताले चार बिघामा खेतमा आफैंले तरकारी उत्पादन गरी विराटनगरको बजारमा बेच्छन् । ‘दुई महिनाअघिसम्म सस्तो भारतीय तरकारी खोज्ने अधिकांश सहरियाले जे जस्तो भए पनि यहीँकै खेतबारीको सागसब्जी खोज्न थालेकाले राम्रो दाम पाइरहेका छौं, मनोबल बढेको छ,’ उनले भने, ‘अर्को वर्ष दोब्बर उत्पादन गर्छु ।’

मेहता सरकारप्रति भने असन्तुष्ट छन् । ‘उत्पादन बढाउन सरकारले किसानसम्म पुग्ने गरी कृषि ऋण, सहुलियत र राहत दिनुपर्छ,’ उनले भने, ‘अहिलेसम्म पहुँचवाला किसानले मात्र पाएका छन्, सरकारले गरिखाने किसानलाई हेर्नुपर्‍यो ।’

चार वर्षदेखि यहाँकै बजारमा तरकारी बिक्री गर्ने भारत विहार दरभंगाका गणेश सिंहले नेपाली उत्पादन नै बेच्ने गरेको बताए । ‘भारतको तरकारी खुवाएर मान्छेको ज्यान लिनु छ र ?’ उनले भने । सिंहले पूर्वी पहाडी जिल्लाका उत्पादनहरू निग्रो, मुला, काउली, बन्दा, गोलभेंडा, मुन्टा र काँक्रो ल्याएर बेच्छन् ।

मुख्यतः स्थानीय उत्पादन पाइने विराटनगरको साप्ताहिक हाटहरूमा अचेल हिलो र पानी छिछोल्दै तरकारी किन्नेको घुइँचो लाग्छ । विराटनगर र कटहरी सीमासँग जोडिएको सिंघिया खोलामा आइतबार एवं बुधबार, विराटनगरको तीनपैनीमा सोमबार, अशोक चोकमा मंगलबार, बरगाछीमा बिहीबार, कञ्चनबाडीमा शुक्रबार र नगरपालिका मार्गमा शनिबार हाट लाग्छ ।

घरेलु तरकारीप्रति बढदो आकर्षणले हाटबजारका खुद्रै तरकारी व्यवसायीहरूमा उमंग छाएको छ । ‘सबैभन्दा पहिले कहाँको तरकारी हो भनेर सोध्छन्, सानकासाथ जहदाको हो भनेर जवाफ दिन्छु, त्यसपछि मात्रै दाम सोध्छन्,’ तरकारी व्यवसायी ३८ वर्षीया सीतादेवी मण्डलले भनिन् ।

भारतबाट आउने तरकारीको तुलनामा बढी महँगो भए पनि ग्राहकले स्थानीय खेतबारीकै उत्पादन छान्ने गरेको उनले बताइन् । ‘भारतको हो भन्न बितिकै दामै नसोधी हिँडिहाल्छन्,’ मण्डलले भनिन्, ‘म त आफ्नै गाउँको खेतबारीबाट किनेर ल्याइबेच्छु ।’ उनी विद्युतीय रिक्सामा दैनिक साढे चार क्विन्टल तरकारी बोकेर विराटनगरको दैनिक हाट बजार पुग्छिन् ।

पुँजी, ढुवानी र आफ्नो श्रमलगायत सबै खाले खर्च काटेर उनले मासिक ३५ हजार रुपैयाँ आम्दानी गर्छिन् । स्वदेशी तरकारीको माग हवात्तै बढेकाले मोरङको जहदा गाउँपालिका–४ मधुरा बस्तीकी मण्डलले यसपालिदेखि श्रीमान् ४२ वर्षीय विजयसँग मिलेर आफ्नै ६ कट्ठा जग्गामा तरकारीको खेती गर्ने सुसरसार गरेकी छिन् ।

मण्डल दम्पतीले अर्को वर्षदेखि आम्दानी चौबर बढ्ने आशा गरेका छन् । प्रदेश १ को राजधानी विराटनगरस्थित ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ ले पनि स्वदेशी उत्पादनमा विषादी निकै कम पाइएको जनाएको छ । प्रयोगशालाका प्राविधिकहरूले तरकारीमा हुने अर्गानोफस्फेट र कार्बामेटको मात्रा परीक्षण गर्छ । यसलाई प्राविधिक भाषामा ‘रुकावट प्रतिशतको अध्ययन’ भनिन्छ ।

रुकावट प्रतिशत ३५ भन्दा कम भएमा खान योग्य मानिने प्रयोगशालाका प्राविधिक सहायक सीता बरालले बताइन् । उक्त प्रयोगशालाले २४ असारदेखि २८ असारसम्म विराटनगरको स्थानीय बजारमा बिक्रीमा राखिएको १२ वटा तरकारीको नमुना संकलन गरी परीक्षण गरेको थियो ।

प्रयोगशालाका अनुसार रुकावट प्रतिशत भेंडे खुर्सानीमा २३, परवलमा १२, गोलभेडामा १७, भिन्डीमा ४, सिमीमा २, काँक्रामा २ देखि ५ प्रतिशत, बन्दा र भान्टामा ३/३ प्रतिशत र पिरो खुर्सानीमा ३ प्रतिशत भेटिएको छ ।‘जुनसुकै तरकारीमा पनि विषादी त भइहाल्छ तर कुरा कम र बढीको मात्र हो,’ उनले भनिन्, ‘विषादीको मात्रा बढी भएको तरकारी खाँदा स्वास्थ्यलाई जोखिममा पार्छ ।’

तरकारीमा अर्गानोफस्फेट र कार्बामेटको मात्रा बढी हुँदा वान्ता आउने, छाला चिलाउने, टाउको दुःखने, रिंगटा लाग्ने, बेहोस हुने, चिढिने र दिक्क लाग्नेजस्ता लक्षणहरू देखापर्ने नायब प्राविधिक बरालले बताइन् । उनको अनुसार दीर्घकालीन असरमा क्यान्सर, दम, पक्षाघात, सुस्त मनस्थिति एवं पाचनतन्त्रलाई खत्तम पार्न सक्छ ।

प्रकाशित : भाद्र ३, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?