१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

व्यावसायिक खेतीमा किसान

डिल्लीराम खतिवडा

उदयपुर — केही वर्षयता जिल्लामा व्यावसायिक खेती गर्ने किसानको संख्या बढेको छ । तरकारीसँगै कुरिलो, बाँस, सुन्तला, बेसार, अदुवा, अम्लिसो र तेजपातलगायतको व्यावसायिक खेती गर्ने बढेका हुन् ।

किसानले जमिनको प्रकृति र माटो सुहाउँदो खेतीको सुरुवात गरेका छन् । प्राविधिकलाई माटोको परीक्षण गराई उनीहरूकै सल्लाहमा खेती गरिने भएकाले विगतको तुलनामा दोब्बर बढी उत्पादन हुन थालेको छ । परम्परागत खेती प्रणालीबाट जीविकोपार्जनमा समस्या उत्पन्न भएपछि चार वर्षदेखि माटोको अवस्था र बजार मागलाई ध्यान दिँदै उत्पादन सुरु गरिएको किसानले बताए ।


‘आफ्नो उत्पादन बजारसम्म लैजान नसक्दा खेतीपातीबाट निराश भइसकेका थियौं,’ रौतामाई गाँउपालिका–६ नामनताका किसान तिलकबहादर मगरले भने, ‘गाउँमा यातायातका साधन पुगेपछि व्यावसायिक खेतीमा लागेका छौं ।’ यातायात सञ्चालनपछि किसानले थोरै खर्चमै उत्पादन बजारसम्म लैजान पाएका छन् । गाँउघरको तुलनामा दोब्बर बढी आम्दानी लिन थालेका छन् ।


‘गत वर्ष बाँस बेचेर झन्डै अढाइ लाख रुपैयाँ कमाइयो,’ चौदण्डीगढी नगरपालिका–१ चौदण्डीका नरमान चाम्लिङ राईले भने, ‘भिरालो र ओसिलो पाखोबारीमा बाँसका झाङबाहेक अरू केही नसप्रिँदा दिक्क लाग्थ्यो । अहिले त्यसैले आम्दानी दिलायो ।’ कच्ची सडक गाँउमै पुगेपछि बाँस बेचेर कल्पनै नगरेको रकम हात लागेको उनले बताए ।


गाँउघरमा खेर गइरहेको सिस्नो खरिदका लागि घरघरमै मान्छे पुग्न थालेपछि त्रियुगा नगरपालिका–१५ खाबुमा सिस्नोको व्यावसायिक उत्पादन सुरु भएको छ । सिस्नोको माग सहरमा अत्यधिक भएको र उत्पादन सजिलै बिक्री हुन थालेपछि खाबु क्षेत्रका महिलाले व्यावसायिक उत्पादन सुरु गरेर संकलन केन्द्र नै खोलेका हुन् ।


‘पहिले सुँगुरको आहाराका लागि मात्र प्रयोग गरिने सिस्नु टिपेर केन्द्रमा ल्याउनेलाई अहिले ५० रुपैयाँ प्रतिकिलो दिने गरेका छौं,’ लेकाली महिला सिस्नु संकलन केन्द्रकी व्यवस्थापक मैया विकले भनिन्, ‘प्रशोधन गर्ने उपकरणको अभावमा अहिले संकलन गरिएको सिस्नो सुकाएर बिक्री गर्दै आएका छौं ।’ ओसिलो ठाउँमा सुकाइएको सिस्नु औषधि र तरकारीका लागि प्रतिकेजी हजार रुपैयाँका दरले बिक्री भइरहेको उनले बताइन् ।


साउने र खाबुका महिलाले अहिले सिस्नो बेचेर दैनिक ७ सय रुपैयाँ आम्दानी गरिरहेको संकलन केन्द्रकी अध्यक्ष शान्ता मगरले बताइन् । ‘एकजना महिलाले दैनिक १४ केजीसम्म सिस्नु संकलन गरिरहेका छन्,’ उनले भनिन्, ‘सडक यातायातको अभावमा सस्तो भएको सिस्नो अहिले हाम्रा लागि सुनभन्दा मूल्यवान् छ ।’

प्रकाशित : भाद्र २, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?