२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बाढीले पुल र सडकमा अर्बौं क्षति

विमल खतिवडा

काठमाडौँ — बर्खाको बाढीले देशभर ४५ वटा पुलमा क्षति पुगेको छ । सडक विभागअन्तर्गत पुल महाशाखाका अनुसार मुख्य र निर्माणाधीन सडकका पुलमा क्षति भएको हो ।

बाढीले पुल र सडकमा अर्बौं क्षति

यसरी बाढीले क्षति पुर्‍याएका पुलमध्ये केही मर्मत गरी सञ्चालनमा ल्याइएको छ । केही पुल भने मर्मत हुन सकेको छैन । महाशाखाले तयार पारेको प्रारम्भिक तथ्यांकअनुसार पुलमा करिब ५० करोड क्षति भएको छ ।

‘सबैभन्दा बढी पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासस्थित भाब्सी पुलमा क्षति भएको हो,’ पुल महाशाखाका प्रमुख दीपक भट्टराईले भने, ‘अन्यत्र ठूलो क्षति भएको छैन, क्षति सबैतिर छ तर सामान्य छ ।’

प्रारम्भिक तथ्यांकअनुसार ४७ करोड ३४ लाख मूल्य बराबरको क्षति भएको उनले बताए । ‘कतै पुल बगेको छ, कतै पुलसँगैको सडक बगेको छ,’ भट्टराईले भने, ‘अधिकांश पुल मर्मत गरेर चलाइएको छ ।’ सबैभन्दा बढी क्षति सडक डिभिजन कार्यालय झापाअन्तर्गतका पुलमा भएको छ ।

जहाँ ७ वटा पुलमा २ करोड ३५ लाख रुपैयाँको क्षति भएको छ । डिभिजन सडक कार्यालय लहानअन्तर्गत ६ वटा पुलमा १ करोड रुपैयाँको क्षति भएको छ । सडक डिभिजन खुर्कोट सिन्धुलीका ५ र सडक डिभिजन विराटनगरका तीनवटा पुलमा क्षति पुगेको छ ।

जहाँ १ करोड २५ लाख रुपैयाँको क्षति भएको कार्यालयले जनाएको छ । जनकपुर ५, सडक डिभिजन हेटौंडा ३ वटा पुलमा क्षति भएको छ । डिभिजन कार्यालय हेटौंडाका अनुसार बाढीबाट पुलको भौतिक संरचनामा २ करोड १० लाख रुपैयाको क्षति भएको हो । ‘सवारी साधनको बढी चाप हुने मुख्य राजमार्गका ३ वटा पुलमा क्षति पुगेको छ,’ सडक डिभिजन हेटौंडाका इन्जिनियर एवं सूचना अधिकारी जयराम अधिकारीले भने, ‘कतै ग्याबिन बगाएको छ, कतै पुल छेउको माटो बगाएको छ ।’


बाढीले क्षति पुर्‍याएका पुल सामान्य मर्मत गरेर सञ्चालन गरिएको उनले बताए । यस्तै मध्य पहाडी लोकमार्ग निर्माणाधीन दुईवटा पुलमा क्षति पुगेको छ । सडक डिभिजन नेपालगन्जमा ३, दमौलीअन्तर्गत एउटा पुलमा क्षति पुगेको विभागले जनाएको छ । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत ७ वटा पुलमा २ करोड ५० लाखको क्षति भएको जनाइएको छ ।

यस्तै देशका मुख्य तथा सहायक सडकमा बाढीले गर्दा क्षति भएको छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार अहिलेसम्म सडकमा २ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ । ‘प्रारम्भिक तथ्यांक हो, अझै क्षतिको विवरण आउने क्रम छ,’ उनले भने, ‘बाढीले क्षति पुर्‍याएका सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको छ ।’

यस्तै प्रतिनिधिसभाअन्तर्गत संसदको विकास तथा प्रविधि समितिले बाढी र पहिरोका कारण बिग्रिएका सडक दसैंअघि नै मर्मत गरेर चलाउन निर्देशन दिएको छ । ‘चाडबाडमा राजधानीबाट बाहिरिने यात्रुको संख्या धेरै हुन्छ,’ समिति सभापति कल्याणीकुमारी खड्काले भनिन्, ‘यो समयमा यात्रुलाई कुनै सास्ती नहोस् भनेर बिग्रिएका सडक मर्मत गरेर चलाउन निर्देशन दिएका हौं ।’

प्रकाशित : श्रावण ३२, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?