निर्यात ठप्प, आयात अत्यधिक

ठाकुरसिंह थारु

बर्दिया — पहिले यहाँका किसानले उत्पादन गरेको कृषि उत्पादन भारतका विभिन्न बजारमा निर्यात हुन्थ्यो । धान, तोरी, मसुरो, गहुँ, केराउ, चनालगायतका उत्पादन नेपालगन्जसँग सीमा जोडिएको रूपैडिहा, बाबागन्ज र बर्दियानजिकै पर्ने मिहीपुरवा बजार पुग्थे ।

किसानको उत्पादन भारतमा निर्यात हुन थालेपछि सरकारले नेपाल–भारत सीमामा छोटी भन्सार स्थापना गर्‍यो । छोटी भन्सारले कृषिजन्य वस्तु भारत निर्यात गरेबापत कर असुली गर्थ्यो । अहिले निर्यातको इतिहास उल्टिएको छ । निर्यात ठप्प छ । आयात सुरु भएको छ । अहिले यहाँबाट कृषिजन्य वस्तु आयात अत्यधिक बढेको छ ।

बर्दियाका आधा दर्जन नाकाबाट विभिन्न वस्तु निर्यात गरिँदै आएको थियो । ती नाकालाई छोटी भन्सारको नाम दिइयो । त्यति बेला सडक र यातायातको साधन नहुँदा गोरु गाडाबाट निर्यात गरिन्थ्यो । त्यसका लागि छोटो बाटो रोजिन्थ्यो । ‘त्यतिबेला गाडी मोटर थिएन । गोरु लडियामा धान बिक्री गर्न भारतको रूपैडिहा र मिहीपुरवासम्म पुग्थ्यो । २०/२५ रुपैयाँ बोरी धान बिक्री गरेर फर्किन्थ्यौँ,’ बढैयाताल गाउँपालिका–५ का रामलाल चौधरीले भने, ‘अन्न बाली बिक्री गर्न जान र घर फर्किन तीन दिनसम्म लडिया कुदाउनुपर्थ्यो ।’ उनका अनुसार कृषिजन्य वस्तु भारत निर्यात गर्दा ५० पैसादेखि एक रुपैयाँसम्म छोटी भन्सारमा कर तिर्नुपर्थ्यो ।


बढैयातालबाट रूपैहिडा र मिहीपुरुवा पुग्न कम्तीमा ३६ किलोमिटर कच्ची बाटो पार गर्नुपर्ने बाध्यता थियो । त्यतिबेला बर्दियाबाट कति कृषिजन्य वस्तु भारत निर्यात गरिन्थ्यो, त्यसको आधिकारिक अभिलेख नभए पनि एउटै गाउँबाट एक सय बढी गोरुगाडा कृषिजन्य वस्तु बोकेर भारतका बजार पुग्थे ।


त्यस्तै गुलरिया क्षेत्रका किसानले मुर्तिहा नाका र पश्चिम राजापुर क्षेत्रका किसान छोटी भन्सार हुँदै भारतीय बजारमा निर्यात गर्दै आएका थिए । भारतीय बजारबाट किसानहरूले नुन र मटीतेल किनेर फर्किन्थे । खाद्यवस्तु कहिल्यै किन्नु परेन । ‘अन्नबाली जति पनि उत्पादन हुन्थ्यो । धान, गहुँ बिक्री भारतमा गर्दै आएका थियौं,’ रामलालले भने, ‘अहिले त उल्टो भयो । भारतबाट चामल, पिठो किनेर ल्याएको देख्छु ।’


नेपालगन्जको जमुनाहामा ६३ वर्षअघि ०१३ सालमा मूल भन्सार स्थापना गरिएको थियो । सडक नहुँदा मूल भन्सारको मातहत रहने गरी बाँके र बर्दियाका ग्रामीण नाकामा त्यसपछि छोटी भन्सार राखियो । करिब ४५ वर्षअघिसम्म नेपाली किसानले भारतमा राम्रैगरी कृषिजन्य वस्तु निर्यात गरे । हाल भने सबैथोक भारतीय बजारबाट नेपालमा निर्यात हुन थालेको छ ।


नेपाली कृषिजन्य वस्तुको अहिले भारततर्फ निर्यात पूर्ण रूपमा ठप्प छ । कृषि उत्पादनमा कमी आएपछि भारतीय बजारले नेपाली गाउँलाई पूर्ण रूपमा च्यापिसकेको छ ।


नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले हाल छोटी भन्सार बन्द भइसकेको बताए । उनका अनुसार सडक यातायातका साधन बढेसँगै बन्द गरिएको हो । नेपालबाट कृषि उत्पादन भारतमा निर्यात हुने क्रम घटदै गएपछि मूल नाकामा मात्रै भन्सारको व्यवस्था मिलाइएको छ । ‘हाल सहरमा मात्रै भन्सार छ । गाउँका नाका बन्द छन्,’ उनले भने, ‘मूल नाकाबाट कृषिजन्य वस्तु भारतमा निर्यात भएको देखिँदैन ।’


मूल भन्सार राजापुर, छोटी भन्सार ताराताल र गुलरियामा छ । कोठियाघाट र पडेरिया, गणेशपुर र पश्चिम छेदापुर, धनौरा, कोठियाघाट र ईश्वरीगन्ज नाकामा रहेका छोटी भन्सार अन्यत्र सारिए । जमुनीस्थित पडेरिया नाका पनि अहिले बन्द छ । बन्द गरिएका नाकाबाट पनि छिटफुट रूपमा सीमावर्तीका सर्वसाधारणले भारतबाट दाल, चामललगायतका खाद्यान्न ल्याउने गरेका छन् ।


नेपालगन्ज र राजापुरको मूल भन्सारबाट दैनिक करोडौंको खाद्यान्न नेपाल भित्रिने गरेको हो । त्यससँगै जिल्लाको पूर्वी क्षेत्रका सयौं सर्वसाधारण खाद्यान्न लिन नेपालगन्ज नाका हुँदै भारतको रूपैडिहा पुग्छन् । यो नाकाबाट मात्रै भारतबाट दैनिक सात करोड रुपैयाँको खाद्यान्नलगायतका वस्तु आयात हुने गरेको छ ।


‘हाम्रो पालामा भारतीय बजारमा गएर धान, गहुँ, मकै बिक्री गर्थ्यौं । अहिलेको पुस्ता खेती गर्न छोडिसकेकाले भारतको भर पर्नुपरेको हो,’ धान बिक्री गर्न बुबासँगै भारतको रूपैडिहासम्म पुगेका बाँसगढी नगरपालिका माछागढका भोमप्रसाद थारूले भने, ‘खेती किसानी गर्ने चलन करिब हट्न थाल्यो । त्यही भएर यो अवस्था आएको हो ।’

प्रकाशित : श्रावण ३२, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?