घटाइँदै माछा आयात

विमल खतिवडा

काठमाडौँ — सरकारले दुई वर्षभित्र माछामा मुलुकलाई आत्मनिर्भर बनाउने अभियानस्वरूप आयात घटाउँदै लगेको छ । पन्ध्रौं योजना सम्म आयातलाई घटाएर ४ हजार टनमा झार्ने लक्ष्य सरकारको छ ।

केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र बाजालु काठमाडौंमा माछाको भुरा किसानलाई दिइँदै । तस्बिर : कविन अधिकारी/कान्तिपुर

०७३/०७४ मा ११ हजार २ सय २० टन माछा आयात भएकामा ०७५/०७६ मा १० हजार टनमा झरेको छ । पन्ध्रौं योजनाको ०८०/०८१ सम्ममा आयात घटाएर ४ हजार टनमा पुर्‍याउने लक्ष्य रहेको केन्द्रीय मस्त्य प्रवर्द्धन तथा संरक्षण केन्द्रका प्रमुख शिवनारायण चौधरीले बताए ।

‘सरकारको लक्ष्य दुई वर्षभित्र मुलुकलाई माछामा आत्मनिर्भर बनाउने भन्ने छ,’ उनले भने, ‘त्यहीअनुसार अहिले माछापालनको क्षेत्रफल वृद्धि गर्दै लगिएको छ ।’ उनका अनुसार ०७३/०७४ मा माछापोखरी ११ हजार ३ सय ९६ हेक्टर क्षेत्रफलमा थियो ।

०७५/०७६ मा १२ हजार ३ सय १८ हेक्टर क्षेत्रफल पुगेको छ । पन्धौं योजनासम्म १४ हजार ५ सय हेक्टर पुर्‍याइने केन्द्रको दाबी छ । केन्द्रका अनुसार ०७२/०७३ मा माछा पाल्नेको संख्या ५१ हजार ४ सय ३४ रहेकोमा पन्ध्रौं योजनासम्म ७१ हजार २ सय पुर्‍याउने योजना छ ।

‘माछापालनमा आकर्षण बढदो छ,’ उनले भने, ‘जसले रोजगार पनि बढाएको छ ।’ उनका अनुसार ०७२/०७३ मा प्रत्यक्ष रूपमा मत्स्यपालनमा १ लाख ३४ हजार ७ सय ३३ जनाले रोजगारी पाएका थिए । यसलाई ०८०/०८१ मा १ लाख ७० हजार २ सय ४५ पुर्‍याउने लक्ष्य रहेको छ ।

०७३/०७४ मा प्राकृतिक जलाशयमा माछा मारी जीविकोपार्जन गर्नेको संख्या ४ लाख ४८ हजार ७ सय ३३ रहेकामा ०८०/०८१ मा ४ लाख ८ हजार ९ सय २५ मा झार्ने योजना छ ।

०७५/०७६ मा ८८ हजार ९ सय ८४ टन माछा उत्पादन भएको थियो । ०८०/०८१ मा १ लाख ३ हजार १ सय ४९ टन पुर्‍याउने केन्द्रले जनाएको छ । ७ वटा प्रदेश मध्य सबैभन्दा बढी माछापालन २ नम्बर प्रदेशमा हुने गरेको छ । केन्द्रका अनुसार सबै स्थानीय तहबाट माछा उत्पादनको नयाँ तथ्यांक आइसकेको छैन । तथ्यांक आउने क्रम जारी छ । ०७४/०७५ को तथ्यांकअनुसार बढी माछा उत्पादन २ नम्बर र कम ६ नम्बर प्रदेशमा हुने गरेको छ ।

०७४/०७५ मा माछा उत्पादनमा ८ दशमलव ९६ प्रतिशतले बढेको र पोखरीको क्षेत्रफल १४ दशमलव ७१ प्रतिशतले विस्तार भएको छ । पछिल्लो समय रेन्बो ट्राउट माछापालनमा समेत आकर्षण बढदै गएको छ । केन्द्रका अनुसार उक्त माछापालनमा १५० जना प्रत्यक्ष संलग्नछन् ।

जसको क्षेत्रफल ०७५/०७६ मा ३ दशमलव ३ रहेकामा ०८०/०८१ मा ४ दशमलव ५ हेक्टर पुर्‍याउने लक्ष्य छ । ‘दुई वर्षभित्रमा माछामा मुलुकलाई आत्मनिर्भर बनाउने भन्ने अभियान छ,’ केन्द्रकी वरिष्ठ मस्त्य विकास अधिकृत एवं सूचना अधिकारी सुमित्रा लौडारीले भनिन्, ‘यसका लागि माछापालनको क्षेत्रफल विस्तार गर्दैलगेका छौं ।’

यसका लागि उत्पादन बढाउनुपर्ने हुन्छ । किसानलाई माछापालनमा उत्प्रेरित गर्नका लागि ‘माछामा आत्मनिर्भर’ कार्यक्रम लागू गर्ने तयारीमा भएको उनले बताइन् । यो कार्यक्रम ५ करोड रुपैयाँको हो । उनका अनुसार बढीमा चार महिना लाग्न सक्छ । ‘नयाँ कार्यक्रम लागू भएपछि किसानले पोखरी खन्नका लागि ५० प्रतिशत अनुदान पाउनेछन्,’ उनले भनिन्, ‘५० प्रतिशत आफैंले ब्यहोर्नुपर्ने हुन्छ ।’ बजारीकरण गर्न केन्द्रले सहयोग गर्नेछ ।

अनुदानमा माछापालनमा प्रयोग हुने मेसिन किसानलाई दिइनेछ । ‘मुख्य रूपमा माछाको उत्पादन बढाउने र बजारीकरण गर्ने कार्यक्रम नै हुनेछ,’ उनले भनिन्, ‘अनुदानमा माछा सुकाउने प्रविधिसमेत दिइनेछ । भुरा ढुवानीमा सहुलियत दिइनेछ । माछा भारतबाट आयात हुने गरेको छ । ‘क्वारेन्टाइनमा केही कडाइ गरिएपछि भारतबाट फर्मालिन हालेर माछा आयात गर्न कम भएको छ,’ नेपाल मस्त्य व्यवसायी संघका अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले भने, ‘भारतबाट आउने माछालाई निर्मूल नै पार्न आवश्यक छ ।’ उनले माछापालनमा आकर्षण बढी रहेको समयमा सरकारले दिने अनुदान प्रक्रिया झन्झटिलो भएको बताए ।

जिउँदो माछा बिक्री गर्न थालिएपछि स्वाद लिने उपभोक्तासमेत बढेका छन् । ‘माछापालनलाई कृषिमा राख्नुपर्नेमा उद्योगमा राखिएको छ,’ उनले भने, ‘यसलाई उद्योगबाट हटाएर कृषिमा राख्नुपर्‍यो, उद्योगले जति विद्युत् महसुल तिर्छ त्यति नै हामीले पनि तिर्नुपर्ने बाध्यता छ ।’

सबैभन्दा बढी माछा पोखरीमा पालिने भएकाले पानी तान्न धेरै विद्युत् खपत हुँदै आएको छ । ‘विद्युत् महसुलमा कृषिको सिँचाइ मिटरसरह छुट दिनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘यसो भए महसुलमा ५० प्रतिशत छुट हुन्छ, उत्पादन बढाएर आयात घटाउने हो भने सहुलियत दिन अनिवार्य छ ।’

प्रकाशित : श्रावण ३१, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

विदेशबाट फर्केर होटलमा लगानी

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने मुक्तिनाथमा पर्यटक वृद्धि हुन थालेपछि धमाधम होटल थपिँदै छन् । विदेशमा बस्ने यहाँका अधिकांश स्थानीयले होटलमा लगानी गरिरहेका हुन् । 
दीपक परियार

मुस्ताङ — मुक्तिनाथ बसपार्कबाट ओर्लिएर उकालो लाग्दा देब्रेपट्टि देखिन्छ तीनतारे होटल । अमेरिकामा रहेका गैरआवासीय नेपाली सोनाम लामाको लगानीमा ‘लोमान्थाङ हिमालय’ होटल निर्माण भइरहेको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ रानीपौवामा बन्दै गरेको होटल लोमान्थाङ हिमालय । तस्बिर : दीपक/कान्तिपुर 

विदेश बसेर मुक्तिनाथ क्षेत्रमा लगानी गर्ने सोनाम एक्ला होइनन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने मुक्तिनाथमा पर्यटक वृद्धि हुन थालेपछि धमाधम होटल थपिँदै छन् । विदेशमा बस्ने यहाका अधिकांश स्थानीय होटलमा लगानी गरिरहेका छन् ।

तीन वर्षको जापान बसाइपछि मुक्तिनाथ रानीपौवाका सुरज गुरुङ पनि घर फर्केर होटलमा लगानी गरे । चार वर्षअघि बनेको उनको होटल ‘ग्रान्ड साम्बाला’ मुक्तिनाथमै धेरै चल्ने होटलमध्येमा पर्छ । उनका अनुसार युरोप, अमेरिका, जापानलगायत देशमा बसेका स्थानीयले पर्यटनको सम्भावना देखेर होटलमा लगानी गरिरहेका छन् । ‘विदेशको रेमिट्यान्स होटल बनाउन प्रयोग भइरहेको छ,’ उनले भने, ‘काठमाडौं, पोखरामा व्यापार गरिरहेकाहरूले पनि यहीँ फर्केर लगानी गरिरहेका छन् ।’

पर्यटकीय संरचना थपिए पनि कामदारको भने अभाव भएको गुरुङले बताए । मुस्ताङका स्थानीय व्यापारमा व्यस्त हुने भएकाले बाहिरी जिल्लाबाट कामदार मगाउनुपर्ने बाध्यता रहेको उनले सुनाए । गोरखा, रामेछाप, सिन्धुली, रुकुम, रोल्पा, नुवाकोट, धादिङ, मकवानपुरलगायत जिल्लाबाट कामदार मुक्तिनाथ पुग्छन् ।

‘विकट भूगोल भएकाले कामदार टिकाउँदै गाह्रो छ,’ गुरुङले भने, ‘यताउता जाने, मन बहलाउने ठाउँ नभएर पनि होला । काठमाडौं, पोखराका होटलमा भन्दा दोब्बर तलब दिँदासमेत कामदार टिक्दैनन् ।’

रानीपौवामा सामान्य र सुविधा सम्पन्न गरी २६ होटल छन् । तिनले दैनिक १५ सय पर्यटक थेग्छन् । ४ ठूला होटल थपिँदै छन् । साम्बालाकै आडैमा जापानबाटै फर्किएका जम्लिङ गुरुङले होटल बनाउँदै छन् । रानीपौवामै प्रेम गुरुङको होटल डे पुराङ निर्माणाधीन अवस्थामा छ । काठमाडौंमा व्यापार गरिरहेका उनले आफ्नै ठाउँमा लगानी गरेका हुन ।

होटलमा हाल ७० करोड रुपैयाँ लगानी रहेको स्थानीय जनप्रिय युवा क्लबका अध्यक्षसमेत रहेका व्यवसायी सुरज गुरुङ बताउँछन् । निर्माणाधीन होटल सम्पन्न भएपछि लगानी १ अर्ब रुपैयाँ पुग्ने उनले बताए । ‘अहिले एउटा होटल बनाउन १ देखि ५ करोड रुपैयाँसम्म खर्च हुन्छ,’ उनले भने, ‘पर्यटक बढदै गएकाले पनि लगानी थपिएको छ ।’

मुस्ताङ पुगेका पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया पर्यटन व्यवसायको विकास र विस्तारमा मुक्तिनाथमा निजी क्षेत्रको संलग्नता सुखद् रहेको बताउँछन् । ‘निजी क्षेत्रले सेवा र आतिथ्यतामा लगानी गर्ने र सरकारले पर्यटकको सुरक्षालाई प्रत्याभूति दिन आवश्यक छ,’ उनी भन्छन्, ‘सुरक्षा र प्रशासनिक सुविधा पुर्‍याउने काम राज्यको हो ।’
८० प्रतिशत आन्तरिक पर्यटकको पहिलो रोजाइ मुस्ताङ भएको उनले बताए ।

व्यवसायीले गरेको लगानीको प्रतिफल सुरक्षित गर्न सरकारले पर्यटकीय पूर्वाधारमा लगानी गर्नुपर्ने उनी बताउँछन् । ‘पूर्वाधार राम्रो भए पर्यटकका लागि टाढा वा नजिक भन्ने हुँदैन,’ उनी भन्छन्, ‘सहर केन्द्रित पर्यटन अब बिस्तारै मुस्ताङ, मनाङलगायत हिमाली भेगमा छरिँदै छ ।’

विसं २०६२ मा म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक खुल्यो । सडक खुले पनि बाटो त्यति सहज थिएन । मनाङबाट थोरङलापास हुँदै मुक्तिनाथ निस्कने पदयात्री मात्रै त्यतिखेरका पर्यटक थिए । बिस्तारै आन्तरिक पर्यटकको संख्या वृद्धि हुन थाल्यो ।

सन् १९९५ मा १५ हजार ३ सय ९४ विदेशी पर्यटक मुस्ताङ भित्रिए । मुक्तिनाथमा धार्मिक पर्यटक बढ्न थाले । हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल भएकाले पनि तीर्थयात्रीको संख्यामा वृद्धि हुँदै गयो । गत वर्षको वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द मोदीको मुक्तिनाथ भ्रमणपछि भारतीय तीर्थयात्री हवात्तै बढे ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका पर्यटन सहायक युङड्र्युङ छेवाङका अनुसार सन् २०१८ मा ६० हजार विदेशी पर्यटक मुस्ताङ पुगे । तीमध्ये ५५ प्रतिशत भारतलगायत सार्क मुलुकका तीर्थयात्री हुन् ।

करिब ५० वर्षअघि मुक्तिनाथमा होटल थिएन । हाल होटलले भरिएको स्थान पहिले पुराङ गाउँमा स्थानीयले भेंडीगोठ राख्ने लेक थियो । २ सय वर्षअघि बनेको धर्मशाला रानीपौवा मात्रै थियो । त्यसैको नामबाट त्यस ठाउँलाई रानीपौवा भन्न थालियो । फाट्टफुट्ट पर्यटक आउन थालेपछि स्थानीय रानीपौवामा सरे ।

मुक्तिनाथ क्षेत्रमा पहिलो होटल खोल्ने छिरिङ ठकुरी हुन् । उनले रानीपौवामा सामान्य चियापसल खोलेर बसेका थिए । एक दिन विदेशी आएर ‘नर्थ पोल’ नामकरण गरिदिए । हाल उनको नाति पुस्ताले नर्थ पोल होटल सञ्चालन गरिरहेका छन् । रानीपौवामा हाल १३० घरधुरी छन् ।

मुक्तिनाथ मन्दिर समुद्र सतहदेखि ३ हजार ७ सय १० मिटरको उचाइमा छ । मन्दिरलाई हिन्दुले मुक्ति क्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी) भन्छन् । तिब्बती बौद्धमार्गीका २४ तान्त्रिक स्थानमध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरमध्ये पर्छ । हिन्दुले चार धाम पुगेपछि मुक्तिनाथ नआई दर्शन पूरा नहुने धार्मिक मान्यता भएकाले पनि अधिकांश भारतीय तीर्थयात्री आउने क्रम बढ्दो छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्