१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

विदेशबाट फर्केर होटलमा लगानी

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने मुक्तिनाथमा पर्यटक वृद्धि हुन थालेपछि धमाधम होटल थपिँदै छन् । विदेशमा बस्ने यहाँका अधिकांश स्थानीयले होटलमा लगानी गरिरहेका हुन् । 
दीपक परियार

मुस्ताङ — मुक्तिनाथ बसपार्कबाट ओर्लिएर उकालो लाग्दा देब्रेपट्टि देखिन्छ तीनतारे होटल । अमेरिकामा रहेका गैरआवासीय नेपाली सोनाम लामाको लगानीमा ‘लोमान्थाङ हिमालय’ होटल निर्माण भइरहेको छ ।

विदेशबाट फर्केर होटलमा लगानी

विदेश बसेर मुक्तिनाथ क्षेत्रमा लगानी गर्ने सोनाम एक्ला होइनन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने मुक्तिनाथमा पर्यटक वृद्धि हुन थालेपछि धमाधम होटल थपिँदै छन् । विदेशमा बस्ने यहाका अधिकांश स्थानीय होटलमा लगानी गरिरहेका छन् ।


तीन वर्षको जापान बसाइपछि मुक्तिनाथ रानीपौवाका सुरज गुरुङ पनि घर फर्केर होटलमा लगानी गरे । चार वर्षअघि बनेको उनको होटल ‘ग्रान्ड साम्बाला’ मुक्तिनाथमै धेरै चल्ने होटलमध्येमा पर्छ । उनका अनुसार युरोप, अमेरिका, जापानलगायत देशमा बसेका स्थानीयले पर्यटनको सम्भावना देखेर होटलमा लगानी गरिरहेका छन् । ‘विदेशको रेमिट्यान्स होटल बनाउन प्रयोग भइरहेको छ,’ उनले भने, ‘काठमाडौं, पोखरामा व्यापार गरिरहेकाहरूले पनि यहीँ फर्केर लगानी गरिरहेका छन् ।’


पर्यटकीय संरचना थपिए पनि कामदारको भने अभाव भएको गुरुङले बताए । मुस्ताङका स्थानीय व्यापारमा व्यस्त हुने भएकाले बाहिरी जिल्लाबाट कामदार मगाउनुपर्ने बाध्यता रहेको उनले सुनाए । गोरखा, रामेछाप, सिन्धुली, रुकुम, रोल्पा, नुवाकोट, धादिङ, मकवानपुरलगायत जिल्लाबाट कामदार मुक्तिनाथ पुग्छन् ।


‘विकट भूगोल भएकाले कामदार टिकाउँदै गाह्रो छ,’ गुरुङले भने, ‘यताउता जाने, मन बहलाउने ठाउँ नभएर पनि होला । काठमाडौं, पोखराका होटलमा भन्दा दोब्बर तलब दिँदासमेत कामदार टिक्दैनन् ।’


रानीपौवामा सामान्य र सुविधा सम्पन्न गरी २६ होटल छन् । तिनले दैनिक १५ सय पर्यटक थेग्छन् । ४ ठूला होटल थपिँदै छन् । साम्बालाकै आडैमा जापानबाटै फर्किएका जम्लिङ गुरुङले होटल बनाउँदै छन् । रानीपौवामै प्रेम गुरुङको होटल डे पुराङ निर्माणाधीन अवस्थामा छ । काठमाडौंमा व्यापार गरिरहेका उनले आफ्नै ठाउँमा लगानी गरेका हुन ।


होटलमा हाल ७० करोड रुपैयाँ लगानी रहेको स्थानीय जनप्रिय युवा क्लबका अध्यक्षसमेत रहेका व्यवसायी सुरज गुरुङ बताउँछन् । निर्माणाधीन होटल सम्पन्न भएपछि लगानी १ अर्ब रुपैयाँ पुग्ने उनले बताए । ‘अहिले एउटा होटल बनाउन १ देखि ५ करोड रुपैयाँसम्म खर्च हुन्छ,’ उनले भने, ‘पर्यटक बढदै गएकाले पनि लगानी थपिएको छ ।’


मुस्ताङ पुगेका पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया पर्यटन व्यवसायको विकास र विस्तारमा मुक्तिनाथमा निजी क्षेत्रको संलग्नता सुखद् रहेको बताउँछन् । ‘निजी क्षेत्रले सेवा र आतिथ्यतामा लगानी गर्ने र सरकारले पर्यटकको सुरक्षालाई प्रत्याभूति दिन आवश्यक छ,’ उनी भन्छन्, ‘सुरक्षा र प्रशासनिक सुविधा पुर्‍याउने काम राज्यको हो ।’

८० प्रतिशत आन्तरिक पर्यटकको पहिलो रोजाइ मुस्ताङ भएको उनले बताए ।


व्यवसायीले गरेको लगानीको प्रतिफल सुरक्षित गर्न सरकारले पर्यटकीय पूर्वाधारमा लगानी गर्नुपर्ने उनी बताउँछन् । ‘पूर्वाधार राम्रो भए पर्यटकका लागि टाढा वा नजिक भन्ने हुँदैन,’ उनी भन्छन्, ‘सहर केन्द्रित पर्यटन अब बिस्तारै मुस्ताङ, मनाङलगायत हिमाली भेगमा छरिँदै छ ।’


विसं २०६२ मा म्याग्दीको बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक खुल्यो । सडक खुले पनि बाटो त्यति सहज थिएन । मनाङबाट थोरङलापास हुँदै मुक्तिनाथ निस्कने पदयात्री मात्रै त्यतिखेरका पर्यटक थिए । बिस्तारै आन्तरिक पर्यटकको संख्या वृद्धि हुन थाल्यो ।


सन् १९९५ मा १५ हजार ३ सय ९४ विदेशी पर्यटक मुस्ताङ भित्रिए । मुक्तिनाथमा धार्मिक पर्यटक बढ्न थाले । हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल भएकाले पनि तीर्थयात्रीको संख्यामा वृद्धि हुँदै गयो । गत वर्षको वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द मोदीको मुक्तिनाथ भ्रमणपछि भारतीय तीर्थयात्री हवात्तै बढे ।


अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका पर्यटन सहायक युङड्र्युङ छेवाङका अनुसार सन् २०१८ मा ६० हजार विदेशी पर्यटक मुस्ताङ पुगे । तीमध्ये ५५ प्रतिशत भारतलगायत सार्क मुलुकका तीर्थयात्री हुन् ।


करिब ५० वर्षअघि मुक्तिनाथमा होटल थिएन । हाल होटलले भरिएको स्थान पहिले पुराङ गाउँमा स्थानीयले भेंडीगोठ राख्ने लेक थियो । २ सय वर्षअघि बनेको धर्मशाला रानीपौवा मात्रै थियो । त्यसैको नामबाट त्यस ठाउँलाई रानीपौवा भन्न थालियो । फाट्टफुट्ट पर्यटक आउन थालेपछि स्थानीय रानीपौवामा सरे ।


मुक्तिनाथ क्षेत्रमा पहिलो होटल खोल्ने छिरिङ ठकुरी हुन् । उनले रानीपौवामा सामान्य चियापसल खोलेर बसेका थिए । एक दिन विदेशी आएर ‘नर्थ पोल’ नामकरण गरिदिए । हाल उनको नाति पुस्ताले नर्थ पोल होटल सञ्चालन गरिरहेका छन् । रानीपौवामा हाल १३० घरधुरी छन् ।


मुक्तिनाथ मन्दिर समुद्र सतहदेखि ३ हजार ७ सय १० मिटरको उचाइमा छ । मन्दिरलाई हिन्दुले मुक्ति क्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी) भन्छन् । तिब्बती बौद्धमार्गीका २४ तान्त्रिक स्थानमध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्णव सम्प्रदायको पनि प्रमुख मन्दिरमध्ये पर्छ । हिन्दुले चार धाम पुगेपछि मुक्तिनाथ नआई दर्शन पूरा नहुने धार्मिक मान्यता भएकाले पनि अधिकांश भारतीय तीर्थयात्री आउने क्रम बढ्दो छ ।

प्रकाशित : श्रावण ३१, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?