‘विषादी प्रयोगबारे कृषकमा जानकारी कम’

कान्तिपुर संवाददाता

सुनसरी — विषादी प्रयोगबारे कृषकमा कम ज्ञान रहेको एक सर्वेक्षणमा पाइएको छ । कृषकहरूले लगाएको बालीनालीमा लाग्ने कीटपतंग नाश गरेर बढी उत्पादन गर्न कीटनाशक विषादी प्रयोग गर्दै आएका छन् ।

पूर्वका विभिन्न स्थानमा हालै भएको सर्भेका अनुसार विषादी प्रयोगबारे कृषकहरूमा खासै ज्ञान नभएको पाइएको छ । फोरम फर हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट (एफएचआरडी) का अध्यक्षसमेत रहेका केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका माइक्रोबायोलोजी विभाग प्रमुख धिरेन लिम्बुले भने, ‘सर्भेमा विषादी प्रयोग गर्ने कृषकमध्ये विषादीले मानव स्वास्थ्यमा पार्ने असरबारे ६३ दशमलव ८ प्रतिशत अनभिज्ञ रहेको पाइयो ।’

कतिपय विषादीको असर तत्कालै नदेखिने भएकाले जथाभावी बिक्री वितरण र प्रयोगलाई निरुत्साहित गर्नुपर्ने लिम्बुले बताए । उनले भने, ‘आज प्रयोग गरिएको विषादीको परिणाम लामो समयपछि पनि देखिन सक्छ ।’

कतिपयले विषादी प्रयोग गर्दा सुरक्षाको उपायबारे जानकार नभएको बताएका थिए । ८५ दशमलव ४१ प्रतिशत कृषकलाई विषादी प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षाबारे कुनै जनाकारी नभएको पाइएको लिम्बुले बताए । कृषकले विषादी प्रयोग गर्दा विषादी बिक्री गर्ने पसलले र छिमेकीले भनेको भरमा अन्नबाली फलफूल तरकारीमा प्रयोग गर्ने गरेको पाइएको छ । उनले भने, ‘विषादी प्रयोग गर्ने तर तालिम भने १ दशमलव ३८ प्रतिशतले मात्र लिएको पाइयो ।’ सर्भेमा १ सय ४४ कृषक सहभागी थिए ।

धनकुटामा रहेका ७ विषादी पसल सबैले आधिकारिक रूपमा दर्ता गरेका भए पनि धरानका २० विषादी पसलमध्ये सातवटाले दर्ता नगरी सञ्चालन गरेको पाइएको थियो । सर्भेमा किराना पसलले पनि विषादी बिक्री गर्ने गरेको पाइएको थियो ।

कृषकहरूलाई विषादी प्रयोग गर्ने सही तरिका सिकाउनु जरुरी छ । रासायनिक विषादीको सट्टा जैविक विषादीको प्रयोग गर्न सरोकारवालाहरूले प्रेरित गर्नुपर्ने एफएचआरडीले सुझाव दिएको छ । रासायनिक विषादीको सट्टा जैविक विषादीका रूपमा विभिन्न जीवजन्तुको मूत्र, सिस्नु, तितेपाती, अंगेरी, निम, मौवा, टिमुर, अदुवा, लसुन, मित्र शक्ति जीवाणु वेसिलस थुरेनजेनेसिस, विभिन्न ढुसीहरू प्रयोग गर्न सकिन्छ । कृषकहरूलाई रासायनिक विषादीको असर र प्रयोगबारे जानकारी दिनु आवश्यक छ ।

विषादीको अत्यधिक प्रयोगले क्यान्सर, स्नायु विकासमा असर, छालामा समस्या, गर्भपतन, विकलांग बच्चा जन्मने, बच्चाको वृद्धि विकासमा अनियमितता, वातावरणीय असर पुर्‍याउने भएकाले सरकारले विभिन्न १४ कडाखाले विषादी प्रयोग गर्न पूर्ण प्रतिबन्ध गरेको छ ।

प्रतिबन्धित विषादी जमिनमा लामो समयसम्म रहने र त्यसले विभिन्न असर पार्ने विभिन्न अध्ययनले देखाएका छन् ।नेपालमा क्लोरोडेन, टोक्साफेन, डीडीटी, बीएचसी, डाइअल्ड्रिन, लिण्डेन, इन्डिन, फस्मामिडन, अल्ड्रिन, मिथायल पाराथायन, हेप्टाक्लोर, अर्गेनो मर्करी क्लोराइड, मिरेक्स र मेनोक्रोटोफसलगायत विषादी पूर्ण प्रतिबन्ध गरिएको छ ।

प्रकाशित : श्रावण ३०, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्

संवैधानिक इजलासमा थप ६ न्यायाधीश 

कान्तिपुर संवाददाता

काठमाडौँ — न्यायपरिषद्ले सर्वोच्च अदालतको संवैधानिक इजलासका लागि थप ६ जना न्यायाधीशहरुको नाम सिफारिस गरेको छ । मंगलबारको न्यायपरिषद बैठकले यसअघि ५ जनामात्रै तोकिएको इजलासमा थप ६ जनाको नाम सिफारिस गरेको हो ।

परिषदको सिफारिसमा बनेको सूचीबाट सर्वोच्च अदालतको संवैधानिक इजलासको गठन हुनेछ । संवैधानिक इजलासमा ५ जना सदस्यहरु हुन्छन् ।

सिफारिस भएका थप न्यायाधीशमा विश्वम्भर श्रेष्ठ, इश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ल छन् ।

यसअघि प्रधानन्याायधीश चोलेन्द्रशम्सेर जबरासहित दीपककुमार कार्की, केदार चालिसे, मिरा खड्का र हरिकृष्ण कार्की मात्रै संवैधानिक इजलासमा थिए । अव भने प्रधानन्यायाधीशलाई न्यायाधीश छानेर संवैधानिक इजलास गठन गर्ने बाटो खुलेको छ ।

नेपालको संविधानको धारा १३७ मा सर्वोच्च अदालतमा संवैधानिक इजलास रहने व्यवस्था छ ।

प्रकाशित : श्रावण ३०, २०७६ ०७:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्