औद्योगिक पार्कबारे सरोकारवाला अनभिज्ञ

देवेन्द्र भट्टराई, अर्जुन राजवंशी

(बाह्रघरे, झापा) — प्रधानमन्त्री केपी शर्मा ओलीको महत्त्वाकांक्षी योजनामध्ये एक मानिएको औद्योगिक पार्क  झापाको दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाको २२ सय बिघामा निर्माण हुने चर्चा ४ वर्षयता चल्दै आए पनि गत साता मात्रै नेपाल लगानी बोर्डले लगानी स्वीकृत गरेको छ ।

बोर्डले पार्कको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनसमेत अनुमति दिएको छ । तर, यो विषयमा संघ, प्रदेश र स्थानीय तह वा सरकारको कुनै निकायले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

दमकको दोस्रो ठूलो दल राप्रपाका नेता राम थापाले औद्योगिक पार्क निर्माण केही व्यावसायिक लाभ लिने व्यक्तिले चलाएको हल्ला मात्र भएको आरोप लगाए । थापाले भने, ‘औद्योगिक पार्क बनाउने विषयमा आजसम्म केन्द्रीय, प्रदेश वा नगरपालिका कुनै पनि सरकारी निकायबाट छलफल र अन्तर्क्रिया भएको थाहा छैन । कसले बनाउने, कति बजेट, कस्तो औद्योगिक क्षेत्र हुने, केही थाहा छैन ।’ प्रतिनिधिसभा निर्वाचनमा ओलीका चुनावी प्रतिस्पर्धी खगेन्द्रपाण्डव अधिकारीले औद्योगिक पार्क बनाउने हल्ला मात्र फैलाइएको बताए ।

यसबारे सम्बन्धित क्षेत्रका बुद्धिजीवी, राजनीतिज्ञ, व्यापारीलगायतसँग कुनै पक्षले परामर्श नगरेको उनले पनि बताए । उनले भने, ‘औद्योगिक पार्क बन्नुपर्छ तर सबैको सहभागिता र सहमति हुन जरुरी छ ।’ कांग्रेस दमक नगरसभापति रोशन विष्टले औद्योगिक पार्क निर्माणका नाममा सरकारले आफ्ना कार्यकर्ता पोस्ने काम गरिरहेको आरोप लगाए । उनले भने, ‘जग्गा अधिग्रहणका नाममा आफ्ना कार्यकर्तालाई रकम वितरण गर्ने काम भइरहेको छ ।’

स्थानीय राजनीतिक कार्यकर्ताका अनुसार औद्योगिक पार्कका नाममा सबैजसो प्रम ओली, नगरप्रमुख रोम ओली वा नेकपा निकटस्थ कार्यकर्ता भर्ती गर्ने काम मात्रै भइरहेको छ । नगरप्रमुख ओलीको नातामा साला पर्ने गोविन्द थापा दमक क्लिन इन्डस्ट्रिज पार्क प्रालि (डीसीआईपी) का अध्यक्ष बनेका छन् भने अरू नातेदार पनि विभिन्न परियोजनामा जोडिएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहालले सुरुवातमा औद्योगिक क्षेत्र संघर्ष समिति बनेर केही विरोध उब्जिए पनि सबै प्रकारका समस्या र विवाद ‘सहज’ भइसकेको प्रतिक्रिया दिए ।

‘हामीले आपसी सहमतिमै अधिग्रहण गरिने जग्गाको मुआब्जा क्षतिपूर्तिका लागि खोलाबगरलाई २ लाख रुपैयाँ, काँसघारीलाई ८ लाख र आवादी जमिनलाई २२ लाख रुपैयाँ प्रतिबिघा मुआब्जा दिएका छौं,’ उनले भने, ‘यो सबै स्थानीय तहको सहमतिमै सम्भव भएको हो ।’

'प्रभावित' असन्तुष्ट
कमल गाउँपालिका–७, ठूलो बाह्रघरेका पदम सेढाइँको २ बिघा १२ कट्ठा खेतीयोग्य जमिन प्रस्तावित औद्योगिक क्षेत्रका लागि अधिग्रहण भएको करिब १ वर्ष हुन लागेको छ ।

अधिग्रहणपछि प्राप्त हुने मुआब्जा रकमबारे सेडाइँलाई थाहा छ । तर, उनी मुआब्जा रकम लिन मानिरहेका छैनन् । ‘औद्योगिक पार्क बनाउन लागेका छौं भनेर आजसम्म कसैले सोधीखोजी गरेन । यहाँको जग्गाको मूल्य र मूल्यांकन कति हो भनेर सामान्य छलफल समेत भएन,’ सेढाईंले भने, ‘एक बिघामा करिब सय मन धान फल्ने खेतीयोग्य जमिनको मुआब्जा २२ लाख रुपैयाँ दिन खोजिँदै छ । कसरी मान्नु ?’

उनीजस्तै ठूलो बाह्रघरे आसपासका करिब एक सय जग्गाधनीले मुआब्जा रकम बुझ्न मानिरहेका छैनन् । खेतीयोग्य जमिनको मूल्यांकन न्यून गरिएकाले मुआब्जा रकम नलिएको उनीहरूको भनाइ छ । औद्योगिक क्षेत्र निर्माणका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दमकमा कार्यालय राखेर जग्गा अधिग्रहण थालेको हो ।

नेकपा दमकका नेता हरि न्यौपानेले औद्योगिक पार्क निर्माणका लागि स्थानीय क्षेत्रसँग छलफल, परामर्श गर्न जरुरी रहेको बताए । ‘लगानी बोर्डले लगानी स्वीकृत गरिसकेकाले पार्क बन्नेमा शंका गर्नुपर्दैन’, उनले भने, ‘अब दमक नगरपालिकाले स्थानीय सरोकारवाला पक्षसँग छलफल र अन्तर्क्रिया अघि बढाउनेछभन्ने लागेको छ ।’

कहाँ कति भूभाग ?
प्रस्तावित औद्योगिक पार्कको ठूलो क्षेत्रफल कमल–७ मा पर्नेछ । कमलमा १३ सय बिघाभन्दा बढी क्षेत्रफल औद्योगिक पार्कमा समेटिने छ । गौरादह–५ मा २५० बिघा तथा दमक–१० नम्बर वडामा २५० बिघामा गरी करिब १९ सय बिघा जग्गा अधिग्रहण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको सीडीओ दाहालले जानकारी दिए । १६ सय ७६ बिघा जमिन लिमिटेडको नाममा प्राप्त भइसकेको छ । लिमिटेडले गौरादह र कमलको करिब ६११ बिघा जग्गाको मात्र मुआब्जा रकम वितरण गर्न लागेको हो । १२ सय ७५ बिघा ऐलानी र सरकारी जमिन भने निःशुल्क प्राप्त भएको सम्पर्क कार्यालयका प्रमुख सञ्जय थापाले जानकारी दिए ।

ऐलानी र सरकारी जमिन भएकाले दमक क्षेत्रमा जग्गा प्राप्तिका लागि मुआब्जा रकम वितरण गर्नु नपर्ने सम्पर्क कार्यालयका कर्मचारी रसिलाल राउतले बताए । पहिलो चरणमा ५ सय ९४ वटा कित्ताको ४ सय ११ बिघा २ कट्ठा सवा ४ धुर जग्गा अधिग्रहण गर्नेगरी मुआब्जा रकम वितरण भइरहेको छ ।

गत पुस १९ देखि मुआब्जा रकम वितरण थालिएकोमा साउन १२ गतेसम्म १०२ बिघा १२ कट्ठा साढे १७ धुर जमिनको १३ करोड ९२ लाख ६४ हजार रुपैयाँ मुआब्जा वितरण गरिएको राउतले जानकारी दिए । मुआब्जा रकम प्राप्त गर्ने सबै कमल–७ का जग्गाधनी मात्र छन् । दोस्रो चरणको सूचनापछि मात्र गौरादहका जग्गाधनीले मुआब्जा रकम प्राप्त गर्नेछन् । दोस्रो चरणको सूचना प्रकासनको अन्तिम चरणमा पुगेको लिमिटेडको दमकस्थित कार्यालयका प्रमुख सञ्जय थापाले जानकारी दिए ।

दोस्रो चरणमा करिब २ सय बिघाको सूचना प्रकाशनको तयारी गरिरहेको उनले बताए । मुआब्जाका लागि २१६ बिघा ५ कट्ठा ३ धुर जग्गाको लगतकट्टा भइसकेको छ । पहिलो सूचनामा १६१ वटा कित्ताको जग्गाधनी पहिचान नखुलेका थिए । जसमध्ये २३ वटा कित्ताको पहिचान खुलेकाले ती कित्ता नम्बरका जग्गाधनीलाई पनि मुआब्जा रकम वितरण गर्ने मुआब्जा रकम निर्धारण समितिले साउन १७ मा निर्णय गरेको छ ।

पार्कका लागि जग्गा अधिग्रहण भइरहेको क्षेत्र रतुवा खोला किनार आसपास पर्छ । खोलाको बाढीले सयौं घरपरिवारलाई विस्थापित बनाएर सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो । नदी उकासको जमिनलाई अहिले लिमिटेडले ‘ऐलानी र सरकारी’ भनेर आफ्नो नाममादर्ता गरेको हो ।

मालपोत मूल्यांकनभन्दा कम मुआब्जा
मुआब्जा रकम न्यून भएको भन्दै आधाभन्दा बढी जग्गाधनीले मुआब्जा रकम बुझेका छैनन् । असन्तुष्ट एक सयभन्दा बढी स्थानीयले पुनर्मूल्यांकनको माग गर्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडविरुद्ध सर्वोच्च अदालतमा रिट समेत हालेका थिए । तर, अदालतले लिमिटेडकै पक्षमा फैसला गर्‍यो । ‘हामी विकास विरोधी होइनौं’, कमल–७, ठूलो बाह्रघरेका हिमलाल गौलीले भने, ‘२२ लाखको दरले मुआब्जा लिदा म सुकुम्बासी बन्छु ।’

औद्योगिक पार्क बन्ने क्षेत्रमा उनको २ बिघा १० कट्ठा जमिन परेको छ । १० कट्ठाको ११ लाख मुआब्जा लिएका उनले २ बिघाको बुझेका छैनन् । ‘हामी आन्दोलनकारी होइनौं तर जग्गाको मूल्यांकन सही गर्नुपर्छ,’ स्थानीय सञ्जीव बस्नेतले भने । मुआब्जा निर्धारण समितिले सम्बन्धित जग्गाधनीसँग एकपटक छलफल समेत नगरी जग्गाको मूल्यांकन गरेको उनीहरूको आरोप छ । ‘कम्तीमा एकपटक छलफल गर्नुपर्थ्यो,’ गौलीले भने, ‘मालपोतमा ३५ लाख बिघा मूल्यांकन रहेको जग्गाको २२ लाख मात्र कसरी बुझ्नु ?’

उनले औद्योगिक पार्कको सीमांकन पनि ‘भनसुन गर्नेको जमिन छाडेर’ आफूखुसी गरिएको बताए । ऐलानी र सरकारी जमिन लिमिटेडले आफ्नो नाममा दर्ता गरेपछि वर्षौंदेखि जोतभोग गर्दै आएका स्थानीय भने बिचल्लीमा परेका छन् । दमक–१० सेतुमारीमा ६० भन्दा बढी घरपरिवार विस्थापित हुने भएका छन् । ‘हामी यो क्षेत्रमा ३०/३५ वर्ष अघिदेखि बसोबास गर्दै आएका छौं । अब हामी यहाँबाट हट्नुपर्ने रे,’ ७८ वर्षीया तेलाई धिमालले भनिन्, ‘अब हामी कहाँ गएर बस्नु ?’

प्रस्तावित दमक औद्योगिक क्षेत्र भनेर गरिएको प्रचारप्रति कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले आपत्ति जनाए । औद्योगिक पार्कको ठूलो क्षेत्रफल कमलमा पर्ने भएकाले सबैको भावना समेट्नुपर्ने उनले बताए । ‘यो विषयमा हामीले पटकपटक कुरा राखेका छौं,’ उनले भने, ‘कमलतिर धेरै जमिन पर्ने भएकाले पछि पार्कको व्यवस्थापकीय जिम्मेवारीमा धेरै दाबी गर्छौं ।’
आगामी भदौभित्रमा पार्कको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न गर्ने दमक क्लिन इन्डस्ट्रिज पार्क प्रालि (डीसीआईपी) का अध्यक्ष गोविन्द थापाले जानकारी दिए । ईआईए लगत्तै डीपीआर पनि सार्वजनिक गर्ने उनले बताए ।

पार्कमा कस्मेटिक, जडीबुटी, विद्युतीय गाडी, इलेक्ट्रोनिक, मोबाइललगायत दक्षिण एसिया र युरोपका बजारमा खपत हुने किचनदेखि बेडरुमसम्मका सामानको उत्पादन गर्ने करिब ९० वटा उद्योग स्थापना हुने थापाले दाबी गरे । औद्योगिक पार्क २ वर्षभित्र बनाइसक्ने उनको दाबी छ ।
पार्क निर्माण भए करिब एक लाख श्रमिकले रोजगारी पाउने उनले बताए । नदी नियन्त्रणको काम औद्योगिक पार्क परियोजनाको जिम्मेवारी हुने उनको भनाइ छ । उनले जग्गा अधिग्रहणपछि विस्थापित हुने सुकुम्बासीका लागि पनि सरकारले कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतका अनुसार चिनियाँ कम्पनीले नेपाल सरकारसँग ५० वर्षका लागि जमिन लिजमा लिएर औद्योगिक पार्क बनाउन लागेको हो । ‘चिनियाँ कम्पनीले पहिलो चरणमा ५ सय बिघा जमिनमा भौतिक पूर्वाधार निर्माण थाल्ने भनेको छ । हामी असोजपछि पार्क शिलान्यास गराउने गरी काममा जुटिरहेका छौं,’ उनले भने ।

प्रकाशित : श्रावण २९, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्

भैरहवा हुँदै मोटरसाइकल आयात बढ्यो

कान्तिपुर संवाददाता

भैरहवा — दुईपांग्रे सवारी साधनको आयात बर्सेनि बढिरहेको छ । भैरहवा नाका भएर जिप, कार, भ्यान, बस र ट्रकको आयात घटे पनि मोटरसाइकल र स्कुटरको भने बढेको हो ।

मधेस आन्दोलनका बेला वीरगन्ज नाका महिनौंसम्म अवरुद्ध हुँदा यहाँबाट चारपांग्रे सवारी साधनको आयात बढेको थियो । वीरगन्ज नाका सहज भएपछि उतैबाट गाडी आयात हुन थालेका छन् । अहिले भैरहवाबाट ठूला सवारी साधनको आयात घटेको देखिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले बताए ।

आर्थिक वर्ष ०७५/७६ मा यस नाकाबाट १ लाख ४५ हजार ८ सय ७९ वटा मोटरसाइकल र स्कुटर आयात भएका छन् । यसको मूल्य १२ अर्ब २९ करोड रुपैयाँ हुन्छ । यी सवारी साधनबाट भन्सार राजस्वसमेत सबैभन्दा धेरै संकलन भएको छ । यो संख्या अघिल्लो आव ०७४/७५ को भन्दा ४४ प्रतिशतले बढी हो ।

अघिल्लो वर्ष ८ अर्ब ४९ करोड रुपैयाँ मूल्यका मोटरसाइकल र स्कुटर आयात भएका थिए । पछिल्लो समय हिरो, होन्डा, टीभीएस, बजाजलगायत कम्पनीका दुईपांग्रे सवारी साधनको भण्डारणसमेत यसै क्षेत्रमा हुने गरेको छ । कार, जिप, भ्यान, ट्रक, मिनी ट्रक र बसको भण्डारण पनि भैरहवा र आसपासमा धेरै हुने गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७६ ११:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्