कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

चर्को ब्याज असुलीको मारमा व्यवसायी

ठाकुरसिंह थारू

(बर्दिया) — बैंक तथा वित्तीय संस्थाले मनपरी ब्याज असुली गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । आठ प्रतिशत ब्याजमा लगानी गरेको ऋणको ब्याज १७ प्रतिशतसम्म तिर्नुपरेको उनीहरूको गुनासो छ । बैंकले ऋणीलाई अकस्मात् बोलाउँदै ब्याज बढाएको पत्र थमाइरहेका छन् ।

चर्को ब्याज असुलीको मारमा व्यवसायी

‘करोडौंको ऋण लिएको व्यवसायीलाई एक्कासि बोलाएर ब्याज बढ्यो भनेर पत्र दिइन्छ । समय दिइएको भए व्यवसायीले ऋण तिरेर अर्को बैंक रोज्थे होला,’ बाँसगढी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बद्री बरालले भने, ‘ब्याजका नाममा लुट मच्चाइएको छ । हामीलाई बैंक छान्ने समय पनि दिइएको छैन ।’


यस क्षेत्रमा सञ्चालनमा रहेका सबै बैंकले ग्राहकबाट उच्च ब्याज लिइरहेको उनीहरूको गुनासो छ । बढैयाताल उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष बालकृष्ण लामिछानेले सेवा दिने नाममा बैंकले चर्को ब्याज असुल गरिरहेको बताए । उनले व्यवसायीलाई चौतर्फी आक्रमण भइरहेको जनाए । ‘विभिन्न कर तिरेकै छौं । बैंकको ब्याजले झन् मारमा पारेको छ,’ उनले भने, ‘आठ प्रतिशतमा लिइएको ऋण १७ प्रतिशतसम्म पुगेको छ । बैंकले सेवाग्राहीसँग छलफल नगरी एकाएक ब्याज बढाउँदै लगेका छन् ।’


व्यवसायीले बैंकको ब्याज नियन्त्रणका लागि सरकारसँग आग्रह गरेका छन् । उनीहरूले यसैगरी ब्याज बढदै गए व्यवसाय धराशयी हुने जनाए । ब्याज बढेका कारण ऋण तिर्न सक्ने अवस्था नरहेको उनीहरूको दाबी छ । ‘ब्याज बढेपछि तिर्नै धौधौ छ,’ लामिछानेले भने, ‘एकपल्ट ऋण लिने जोकोही बैंकको फन्दामा परेका छन् । सरकारले नियन्त्रणका लागि तत्काल पहल गर्न आवश्यक छ ।’


राजापुर उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष कृष्ण रेग्मीले वाणिज्य तथा विकास बैंकले सुरुमा सस्तो ब्याजमा ऋण दिने आश्वासन दिने तर पछि बढाउँदै लगेको आरोप लगाए । उनले एक प्रतिशत ब्याज बढे पनि व्यवसायीले ठूलो आर्थिक भार खेप्नुपरेको सुनाए । ‘सस्तो ब्याज भन्दै ऋण लिइयो । हाल आएर १७ प्रतिशतसम्म ब्याज असुली भइरहेको छ,’ उनले भने, ‘सरकारले तत्काल नियन्त्रणको प्रयास थाल्नुपर्छ ।’ विकास बैंकले ब्याज बढाएको भन्दै व्यवसायीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मुक्तिनाथ सापकोटाले बैंक तथा वित्तीय संस्थाको ब्याजमा हस्तक्षेप गर्न नमिल्ने बताए । उनले बजारको अवस्था हेरेर ब्याज तलमाथि हुने गरेको जनाए । बैंकबीच प्रतिस्पर्धा भएकाले ब्याजदर सस्तो हुनुपर्ने उनको भनाइ छ ।


प्रकाशित : श्रावण २९, २०७६ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?