कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दूधकोसीको डीपीआर अन्तिम चरणमा

डम्बरसिं राई

खोटाङ — दूधकोसी जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण अन्तिम चरणमा पुगेको छ । खोटाङको उत्तरी क्षेत्रमा पर्ने रावाबेसी गाउँपालिका–३ लामीडाडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा दूधकोसी नदीस्थित रभुावाघाटबाट ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत आयोजनाको डीपीआर अन्तिम चरणमा पुगेको हो ।

दूधकोसीको डीपीआर अन्तिम चरणमा

आयोजना प्रमुख वसन्त श्रेष्ठले डीपीआरको काम धमाधम भइरहेको र कात्तिक/मंसिरभित्र पूरा भइसक्ने बताए । उनका अनुसार फिजिबिलिटी प्रतिवेदन, संरचनाको विस्तुत मस्यौदा, बोलपत्रको मस्यौदा लगायतको विज्ञ समूहद्वारा अध्ययन भएको छ । यसभित्र टिओआर र स्कोपिङ, वातावरणीय प्रभाव मुल्यांकन (आईईई) लगायतका अन्य थुप्रै कामहरु भइरहेको श्रेष्ठले सुनाए ।


इटली र जापानको संयुक्त इएलसी इलेक्ट्रो कन्सल्ट एसपीए इन एसोसिएसन विथ न्युजेक नामक कम्पनीले डीपीआर गरिरहेको छ । यसले २०७३ जेठ १७ गतेदेखि आयोजनाको विस्तृत इन्जिनियरिङ ढाँचा, सामाजिक तथा वातावरणीय प्रभाव र सम्भाव्यता अध्ययनको काम सुरु गरेको थियो । लामीडाडाको रभुँवाघाटमा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १३ दशमलव ५ किलोमिटर लामो सुरुङ मार्फत् धितुङमा पानी खसाएर विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढाइएको हो ।


उक्त जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सांसदहरुले माग गरेको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए । ‘ऊर्जामन्त्री वर्षमान पुनसमक्ष गएर आयोजनाबारे कुराकानी भएको छ ।’ सांसद भट्टराईले भने,‘यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश गर्न माग समेत गरिएको छ ।’


रभुावाघाटमा निर्माण गरिएको बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोसी किनारमा १०, खोटाङतर्फको रावाखोलामा ८ र ओखलढुंगाको ठोट्नेखोला किनारमा ४ किलोमिटर क्षेत्रफल डुबान हुने अनुमान छ । आयोजना सञ्चालनका लागि निर्माण गरिने बाँधले तीन जिल्ला खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका ८४ घर स्थानीयवासी विस्थापित हुने प्रारम्भिक अनुमान गरिएको आयोजना प्रमुख श्रेष्ठले बताए ।


जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजना अन्तरगत २०४२ मा पहिचान भएको आयोजनाको काम अघि बढाउन सिफारिस गरिएको विद्युत प्राधिकरणले जनाएको छ । आयोजना सञ्चालनमा आएपछि विद्युतीय सेवा लगायत दूधकोसी जलाशयमा डुंगा शयर, माछापालन लगायत पर्यटन विकास हुने अपेक्षा गरिएको छ ।


आयोजनाको सम्भाव्यता अध्ययनका साथै विस्तृत इन्जिनियरिङ ढाँचा, सामाजिक तथा वातावरणीय परीक्षण र टेन्डरका कागजपत्र बनाउन एडीबीले चालू आर्थिक वर्षमा ३५ करोड अनुदान दिएको छ । आर्थिक वर्ष २०७५/७६ को मध्यसम्ममा आवेदन (टेन्डर) आहृान र सम्झौता गरेर आर्थिक वर्ष २०७६/७७ देखि निर्माणको काम सुरु हुने विद्युत प्राधिकरणले जनाएको छ ।

यो पनि पढ्नुहोस्ः

दूधकोसी जलविद्युत्को डीपीआर तयार गरिने

प्रकाशित : श्रावण २८, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?