कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाल विद्युत प्राधिकरणको मुनाफा ७ अर्ब २० करोड

विजय तिमल्सिना

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले आफ्नो खुद नाफा ७ अर्ब २० करोड पुर्‍याएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा कमाएको नाफा अघिल्लो वर्षको तुलनामा १ सय ४९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणको नाफा २ अर्ब ९० करोड थियो ।

नेपाल विद्युत प्राधिकरणको मुनाफा ७ अर्ब २० करोड

पछिल्लो दस वर्षमा तीन वर्षदेखि प्राधिकरण नाफामा जान थालेको थियो । आर्थिक वर्ष ६६/६७ मा प्राधिकरण ६ अर्ब ९७ करोड घाटामा थियो । यो बढेर आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड पुगेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेतृत्व लिएपछि प्राधिकरण नाफामा जान थालेको हो । करिब ९ अर्ब रुपैयाँ घाटामा रहेको अवस्थामा प्राधिकरणको नेतृत्वमा आएका घिसिङको पहिलो वर्ष प्राधिकरणले १ अर्ब ५० करोड खुद नाफा कमाएको थियो ।

आर्थिक वर्ष ७३/७४ मा डेढ अर्ब नाफा कमाएको प्राधिकरणले त्यसपछिको वर्ष २ अर्ब ८९ करोड नाफा कमाएको थियो । गत आर्थिक वर्ष नाफा उल्लेख्य बढेको हो ।

यो अवधिमा विद्युत् चुहावट पनि उल्लेख्य घटेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पछिल्लो तीन वर्षमा विद्युत् चुहावट १० दशमलव ४६ प्रतिशतले घटेको छ ।

अहिले प्राधिकरणको प्रणालीमा १५ दशमलव ३२ प्रतिशत चुहावट छ । तीन वर्षअघि चुहावट २२ दशमलव ९० प्रतिशत थियो । प्राधिकरणले पछिल्लो वर्ष चुहावट नियन्त्रणका लागि अभियान नै सञ्चालन गरिरहेको छ ।

१० वर्षअघि प्राधिकरणको प्रणालीमा करिब २९ प्रतिशत चुहावट थियो ।

गत आर्थिक वर्ष भारतबाट २३ अर्ब ३ करोडको विद्युत् आयात भएको प्राधिकरणको तथ्यांक छ । यस्तै भारततर्फ ३२ करोडको विद्युत् निर्यात भएको थियो ।

गत वर्ष भएको कुल खपतमध्ये ३७ प्रतिशत विद्युत् भारतबाट आयात भएको हो । निजी क्षेत्रबाट २९ र प्राधिकरणको आयोजनाबाट ३४ प्रतिशत योगदान रहेको तथ्यांक छ । निजी उत्पादकबाट गत वर्ष १४ अर्ब १३ करोडको विद्युत् खरिद गरिएको प्राधिकरणको तथ्यांक छ ।

गत वर्ष ७५७ सर्किट किमि प्रसारण लाइन निर्माण सकिएको प्राधिकरणले जनाएको छ । त्योमध्ये ५ सय ६ सर्किट किमि प्रसारण लाइन चार्ज भएको छ ।

गत वर्ष प्रसारण र वितरण प्रणालीतर्फ ९२० एमभीए क्षमता थप भएको प्राधिकरणको तथ्यांक छ । प्राधिकणले गत वर्ष ४० वटा नयाँ सबस्टेसन विस्तार र स्तरोन्नति गरेको थियो ।

लामो समयदेखि सम्पन्न हुन नसकेका ३८ वटा रुग्ण आयोजना गत वर्ष सकिएको प्राधिकरणको तथ्यांक छ । गत वर्ष पूरा भएका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘थ्री ए’ र काबेली करिडोर एक दशकभन्दा बढी समयमा सम्पन्न भएका आयोजना हुन् ।



प्रकाशित : श्रावण २८, २०७६ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?