कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

साटिएनन् मन्दिरका सिक्का

‘सिद्धबाबा मन्दिर व्यवस्थापन समितिले साट्ने झन्झटले सिक्का माग्न आउने श्रद्धालुलाई नदिन स्थानीय व्यापारीलाई आग्रह गरेको छ’
सन्जु पौडेल

रूपन्देही — सिक्का प्रयोगमा कमी आएपछि रूपन्देहीका मठमन्दिरमा थुप्रो लागेको छ । मन्दिर सञ्चालकले भक्तजनले चढाएका सिक्का बोरामा हालेर चाङ लगाएका छन् । यस्ता सिक्का व्यापारीले लिन छाडेपछि थुप्रिएका हुन् । स्थानीय बैंकले पनि साट्न छाडेका छन् ।

मन्दिरमा पूजाआजाका लागि श्रद्धालुले सिक्का चढाउने गर्छन् । यहाँका दर्जनभन्दा धेरै धार्मिक मठमा अहिले पनि दिनहुँ सिक्का चढाउने गरिन्छ । बजारमा चल्न छाडेपछि मन्दिरमा चढाइने सिक्का भार बनेको पर्रोहा बोलबम धामका अध्यक्ष बलिराम चौधरीले बताए । ‘पोहोरसम्म समस्या थिएन,’ उनले भने, ‘तुलादान गर्नका लागि सिक्का लैजाने गर्थे, अहिले स्थानीय व्यापारीले पनि सिक्का पैसा लिन नमान्ने भएकाले समस्या भएको हो ।’


बैंकले साट्न नमान्दा पनि समस्या भएको उनले बताए । चौधरीका अनुसार दुई/चार हजार चाहिने व्यक्तिले लैजाने गरेका छन् । ‘चार/पाँच लाख रुपैयाँका सिक्का बोरामा थक्याउन बाध्य छौं,’ उनले भने, ‘धेरै सिक्का भण्डारण गर्दा राखिएको स्थान र भवनमा समस्या हुने डर छ ।’ सिक्का सटहीका लागि केही न केही उपाय निकालेर समस्या समाधान गर्नेतर्फ समिति लागिरहेको उनले बताए ।


बुटवलस्थित सिद्धबाबा मन्दिरमा सिक्का धेरै जम्मा हुन थालेपछि साट्न समस्या भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङले बताए । ‘अहिले मन्दिर व्यवस्थापन समितिले सिक्का पैसा माग्ने श्रद्धालुलाई नदिन यहाँस्थित पसलका व्यापारीलाई आग्रह गरेको छ,’ उनले भने, ‘पहिले पहिले धोएर सफा पारी जम्मा गरेर दिँदा पसलमा लिने गर्थे, अहिले कहीँ लिँदैनन्, समस्या हुन्छ ।’ मन्दिरमा चढाइराखेको अवस्थाको पैसा निकाल्दै मिलाउँदै गर्न नभ्याइने भएकाले पनि यसको सटहीमा समस्या भएको उनले जनाए ।


साउनमा भीड लाग्ने नयाँगाउँस्थित मुक्तिनाथ धाममा भने सिक्का पैसा मन्दिरको बैंक खातामा जम्मा गर्न लगाइने र तिर्नपर्ने ठाउँमा सिक्का पैसासँगै नोट दिइने भएकाले समस्या नभएको प्रचार संयोजक गोपाल पाण्डेले बताए । ‘मन्दिरबाट दिइने भएकाले लिने व्यापारीले आनाकानी गर्दैनन्,’ उनले भने, ‘सामग्री खरिद र अन्य तिरनतारनमा सिक्का पैसा दिने गरिन्छ । यसले गर्दा समस्या देखिएको छैन ।’ सिक्का पैसा जम्मा हुनेबित्तिकै १ सय, ५ सय गरी थैलो बनाएर दिने गरेको उनले जनाए । राष्ट्र बैंक सिद्धार्थनगर शाखाका प्रमुख राजेन्द्र भट्टराईले बैंकले निरन्तर सिक्का पैसा साटिरहेको बताए । ‘प्रयोगकै लागि बनेका सिक्का पैसा सटहीमा बैंकमा समस्या हुँदैन,’ उनले भने, ‘जति नै सिक्का भए पनि बैंकले साट्ने गरेको छ ।’

प्रकाशित : श्रावण २८, २०७६ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?