कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महँगियो सुन, खस्कियो बजार

तीजको सिजन सुरु भइसक्यो ।दसैं नजिकिँदै छ । राजधानीका सुन पसलहरूमा भने पहिला जस्तो न ग्राहकको चहलपहल छ, न व्यापारीमा उत्साह ।
नुमा थाम्सुहाङ

काठमाडौँ — सुन छोइनसक्ने गरी महँगिएको छ । गत साताबाट तोलाकै ७० हजार रुपैयाँ पुगेको छ । मूल्य बढेसँगै किनबेच भने ओरालो लागेको लाग्यै छ । तीजको सिजन सुरु भइसक्यो । दसैं नजिकिँदै छ तर राजधानीका सुन पसलमा पहिला जस्तो न ग्राहकको चहलपहल छ, न व्यापारीमा उत्साह । किनबेच झन्डै ८० प्रतिशतले घटेको छ ।

महँगियो सुन, खस्कियो बजार

न्युरोडका सुन व्यवसायी रोमी शाक्यका अनुसार सुनको भाउ बढेदेखि दिनमा मुस्किलले २० प्रतिशत मात्र कारोबार हुने गरेको छ । ‘भाउ बढेपछि व्यापार खस्किएको छ,’ उनले भने, ‘तीजको सिजन सुरु भयो । दसैं पनि नजिकिँदै छ । सिजनकै सुरुवातमा व्यापारको अवस्था भने खस्कँदो छ ।’ यही भाउ केही समयसम्म स्थिर रह्यो भने व्यापारमा केही सुधार हुने तर फेरि भाउ घटबढ भएमा भन्न नसकिने शाक्यले बताए ।


‘पहिला पाँच तोला लिने ग्राहक अहिले दुई तोला लिएर जान्छन्,’ उनले भने, ‘आवश्यक पर्नेहरू मात्र किनेर लान्छन् । गतवर्ष पनि यही बेला सुनको भाउ बढेर ६४ हजार रुपैयाँ तोला पुगेको थियो । अहिलेको जस्तो व्यापार शून्य नै भएको थिएन ।’ हेरिटेज गोल्ड प्यालेसका राजेश ताम्राकारले पनि अहिले व्यापार डामाडोल अवस्थामा पुगेको बताए । ‘भाउ बढेदेखि मान्छे आएका छैनन् । सुनको भाउ स्थिर रह्यो भने व्यापारमा सुधार हुन सक्ने आशा छ । घडबढ भएमा ग्राहक अन्योलमा पर्नेछन्,’ उनले भने ।


सुनको सिजन नभए पनि तीज सुरु हुन लागेकाले व्यापारमा केही सुधार हुनुपर्ने उनको बुझाइ छ । कुनै पनि वस्तुको मूल्य बढेपछि किन्ने ग्राहक अवश्यै कम हुन्छन् । ठुलै आवश्यक परेमा मात्र यस्तोमा सुन किन्न आउने गरेको ताम्राकारले बताए । धरान गहना गृहकी सुजिना महर्जन व्यापार पहिलेको भन्दा २५ प्रतिशतभन्दा घटेको बताउँछिन् ।


‘तीज पनि आउँदै छ । बिहेको पनि समय हो तर सुनको व्यापार भने छैन,’ उनले भनिन् । पास्नी वा कसैलाई उपहार दिनुपर्ने अवस्थामा मात्र सुन किन्ने ग्राहक आउने गरेको उनले बताइन् । सुन र चाँदीको व्यापारै खस्किएको छ । कतिपय ग्राहक सुनको भाउ घट्छ कि भनेर पर्खिरहेको उनले सुनाइन् ।


‘सुनको भाउ बढेपछि धेरै फरक पारेको छ । हामीले गरेको रिपोर्टमा २५ प्रतिशतभन्दा कम व्यापार भएको पाएका छौं,’ नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘अहिले सुन किन्नेभन्दा पनि बेच्ने बढेका छन् । तोलाकै ७० हजार रुपैयाँ पाउने भएकाले आफूसँग भएको गहना बेच्ने बढेका हुन् ।’


सुनको भाउ स्थिर नभएकाले यो अवस्थामा जे पनि हुन सक्ने शाक्यले बताए । ‘भाउ स्थिर भए व्यापार सुधार हुन सक्छ,’ उनले भने, ‘ग्राहकहरू पर्ख र हेर को सिद्धान्तमा छन् । सुनको भाउ घटेन भने किन्न त परिहाल्छ । त्यो अवस्थामा व्यापारले बजार लिन्छ ।’

प्रकाशित : श्रावण २८, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?