८३ प्रतिशतले लिए तेस्रो किस्ता

भूकम्पबाट अति प्रभावित १४ मध्ये रसुवा र ओखलढुंगाका ८३ प्रतिशतले तेस्रो किस्ता लिइसकेकाले बढी प्रगति गर्ने जिल्लामा परेका छन्
कुम्भराज राई

ओखलढुंगा — भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये रसुवा र ओखलढुंगा प्रतिशतको हिसाबले सबैभन्दा बढी प्रगति गर्ने जिल्लामा परेका छन् । यी दुवै जिल्लामा ८३ प्रतिशतले तेस्रो किस्ता लिइसकेका छन् । गोरखा र सिन्धुपाल्चोक दोस्रो स्थानमा छन् । यी जिल्लामा ८० प्रतिशतले तेस्रो किस्ता लिएका छन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाईले वार्षिक समीक्षामा कामको प्रगतिबारे प्रस्तुति दिँदा अन्य जिल्लाको समेत तथ्यांक समेटिएको हो । सबैभन्दा थोरै प्रतिशतले तेस्रो किस्ता लिनेमा भक्तपुर र काठमाडौं छन् । यी जिल्लामा जम्मा २९ प्रतिशतले मात्र तेस्रो किस्ता लिएका छन् । सम्झौता नगर्ने लाभग्राही धेरै भएको जिल्ला मकवानपुर छ ।

पहिलो किस्ता नलिने लाभग्राही धेरै भएको जिल्लामा काठमाडौं रहेको छ । अनुदान रकम फिर्ता गर्ने जिल्लामा नुवाकोट रहेको छ । नुवाकोटका २१ हजार ७ सयले रकम फिर्ता गरेका थिए । प्राविधिक पुग्नुअघि घर बनिसकेकामध्ये ललितपुरमा बढी बनेको देखिएको छ । ललितपुरमा नौ सयले प्राविधिक पुग्नुअघि घर बनाइसकेका थिए । काठमाडौंमा प्राविधिक पुग्नुअघि कसैले घरै नबनाएको तथ्यांक पुनर्निर्माण प्राधिकरणसँग छ ।

भूकम्पपछिको पुनर्निर्माण सुरु भएपछिको चार वर्षमा यहाँको कुल लाभग्राहीमध्ये ८३.१७ प्रतिशतले तेस्रो किस्ता लिएका छन् । पहिचान भएका कुल २१ हजार ३ सय ६७ लाभग्राहीमध्ये १७ हजार ७ सय ७९ ले तेस्रो किस्ता लिइसकेका हुन् । तथ्यांकमा दोस्रो किस्ता लिनेको संख्या १९ हजार १ सय ५६ र पहिलो किस्ता लिने २३ हजार ६८ उल्लेख गरिएको छ ।

‘९० प्रतिशतभन्दा बढीले पहिलो किस्ता लिएका थिए,’ आयोजना प्रमुख युवराज खरेलले भने, ‘चार वर्षमा भएको पुनर्निर्माणको अवस्था सन्तोषजनक नै मान्नुपर्छ ।’ प्रबलीकरणतर्फ भने कुल ४ हजार ५६ लाभग्राहीमध्ये २ हजार ७ सय ७४ ले पहिलो किस्ता लिएका छन् । २०७६ असार मसान्तसम्म पनि अनुदान सम्झौता गर्न नआएर लाभग्राहीको सूचीबाट हटाइएको संख्या २ हजार ३ सय ३५ रहेका छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

उपेक्षामा अनुसन्धान केन्द्र, न वैज्ञानिक न बजेट

रमेशचन्द्र अधिकारी

धनकुटा — कृषि, पशु, बागबानी र माटो परीक्षणलगायत अनुसन्धान गर्ने निकायमा जनशक्ति र बजेट कटौती भएपछि काम प्रभावित भएको छ । पाख्रिबासस्थित कृषि अनुसन्धान केन्द्र र राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रममा त्यसको असर देखिएको हो । २० जना वैज्ञानिक दरबन्दी रहेको केन्द्रमा अहिले चारजना मात्र कार्यरत छन् ।

पाख्रिबासस्थित कृषि अनुसन्धान केन्द्रमा अलैंची बेर्नाको टनेल । तस्बिर : रमेशचन्द्र /कान्तिपुर

केन्द्र प्रमुखसमेत रहेका वैज्ञानिक अमरबहादुर पुनसहित रमेश साह, रितेश साह र अमृत पौडेल मात्र कार्यरत रहेको सूचना अधिकारी दिप्ती अधिकारीले जानकारी दिइन् ।

पुन र पौडेल बागबानीतर्फ र साहद्वय पशु विज्ञानका वैज्ञानिक हुन् । पछिल्लो एक दशकदेखि केन्द्र उपेक्षामा पारिएको विज्ञको गुनासो छ । केन्द्रमा कुल ९६ दरबन्दी रहे पनि हाल ४४ पद रिक्त छन् ।

‘अनुसन्धान गर्ने थलोमा जनशक्ति अभाव हुनुले उपेक्षा गरिएको महसुस हुने गर्छ,’ कार्यालय प्रमुख पुनले भने, ‘कम्तीमा आवश्यक जनशक्ति र बजेटको व्यवस्था त गरिनुपर्छ ।’ कृषि अनुसन्धानका लागि सम्मानजनक व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । बागबानीतर्फका वैज्ञानिक पर्शुराम भिन्तना र कृष्ण पौडेल भने पीएचडीका लागि चीन गएका छन् । १२ प्राविधिक अधिकृत र १६ प्राविधिक दरबन्दीसमेत रिक्त छ ।

कृषि अनुसन्धान केन्द्र र व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम दुई फरक निकाय हुन् । दुवै कार्यक्रम जनशक्ति अभावले प्रभावित बनेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत सम्बन्धित निकायमा यसबारे जानकारी गराए पनि सुनुवाइ नभएको कर्मचारीको गुनासो छ ।

नार्कअन्तर्गतको व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई प्रदेशस्तरीय अनुसन्धान केन्द्रका रूपमा प्राथमिकतामा राखिएको छ ।
आवश्यक बजेट तथा जनशक्ति भने व्यवस्थापन गरिएको छैन । २०६३ देखि सुरु गरिएको कृषि अनुसन्धान कार्यक्रमलाई अब अलैंची तथा चिया अनुसन्धानका रूपमाप्राथमिकतामा राखिएको स्रोतले जनाएको छ ।

कृषि अनुसन्धान केन्द्र र कार्यक्रम दुवैको प्रमुखका रूपमा समेत पुनले अख्तियारी सम्हाल्दैआएका छन् ।दुई दशकअघिसम्म बृटिस सरकारले अनुसन्धानका लागि बजेट उपलब्ध गराउँदै आएको थियो । त्यो बेला वार्षिक १० करोड रुपैयाँ उपलब्ध हुन्थ्यो । अहिले भने सरकारले ५ करोड १५ लाख रुपैयाँ मात्र विनियोजन गरेको छ । यसबाट पनि कृषि अनुसन्धानका लागि सरकारी उपेक्षा सहजै अनुमान गर्न सकिने यहाँ कार्यरत वैज्ञानिकको भनाइ छ ।

नेपालमा कालो बंगुर उत्पादन गरेर विश्वमाझ नाम कहलाएको अनुसन्धान केन्द्रमा अहिले पनि बंगुर, कुखुरा र उन्नत जातका बाख्राबारे अनुसन्धान गरिँदै छ । केन्द्रले अकबरे खुर्सानी, बोयर र खरी जातका बाख्राबाट उन्नत जातका खसी, बाख्रा उत्पादन, एवोकाडो, घैया धान, अलैंचीलगायत कृषि तथा पशुसम्बन्धी अनुसन्धान गर्दै आएको छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्