उपेक्षामा अनुसन्धान केन्द्र, न वैज्ञानिक न बजेट

रमेशचन्द्र अधिकारी

धनकुटा — कृषि, पशु, बागबानी र माटो परीक्षणलगायत अनुसन्धान गर्ने निकायमा जनशक्ति र बजेट कटौती भएपछि काम प्रभावित भएको छ । पाख्रिबासस्थित कृषि अनुसन्धान केन्द्र र राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रममा त्यसको असर देखिएको हो । २० जना वैज्ञानिक दरबन्दी रहेको केन्द्रमा अहिले चारजना मात्र कार्यरत छन् ।

पाख्रिबासस्थित कृषि अनुसन्धान केन्द्रमा अलैंची बेर्नाको टनेल । तस्बिर : रमेशचन्द्र /कान्तिपुर

केन्द्र प्रमुखसमेत रहेका वैज्ञानिक अमरबहादुर पुनसहित रमेश साह, रितेश साह र अमृत पौडेल मात्र कार्यरत रहेको सूचना अधिकारी दिप्ती अधिकारीले जानकारी दिइन् ।

पुन र पौडेल बागबानीतर्फ र साहद्वय पशु विज्ञानका वैज्ञानिक हुन् । पछिल्लो एक दशकदेखि केन्द्र उपेक्षामा पारिएको विज्ञको गुनासो छ । केन्द्रमा कुल ९६ दरबन्दी रहे पनि हाल ४४ पद रिक्त छन् ।

‘अनुसन्धान गर्ने थलोमा जनशक्ति अभाव हुनुले उपेक्षा गरिएको महसुस हुने गर्छ,’ कार्यालय प्रमुख पुनले भने, ‘कम्तीमा आवश्यक जनशक्ति र बजेटको व्यवस्था त गरिनुपर्छ ।’ कृषि अनुसन्धानका लागि सम्मानजनक व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । बागबानीतर्फका वैज्ञानिक पर्शुराम भिन्तना र कृष्ण पौडेल भने पीएचडीका लागि चीन गएका छन् । १२ प्राविधिक अधिकृत र १६ प्राविधिक दरबन्दीसमेत रिक्त छ ।

कृषि अनुसन्धान केन्द्र र व्यावसायिक कृषि अनुसन्धान कार्यक्रम दुई फरक निकाय हुन् । दुवै कार्यक्रम जनशक्ति अभावले प्रभावित बनेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लगायत सम्बन्धित निकायमा यसबारे जानकारी गराए पनि सुनुवाइ नभएको कर्मचारीको गुनासो छ ।

नार्कअन्तर्गतको व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमलाई प्रदेशस्तरीय अनुसन्धान केन्द्रका रूपमा प्राथमिकतामा राखिएको छ ।
आवश्यक बजेट तथा जनशक्ति भने व्यवस्थापन गरिएको छैन । २०६३ देखि सुरु गरिएको कृषि अनुसन्धान कार्यक्रमलाई अब अलैंची तथा चिया अनुसन्धानका रूपमाप्राथमिकतामा राखिएको स्रोतले जनाएको छ ।

कृषि अनुसन्धान केन्द्र र कार्यक्रम दुवैको प्रमुखका रूपमा समेत पुनले अख्तियारी सम्हाल्दैआएका छन् ।दुई दशकअघिसम्म बृटिस सरकारले अनुसन्धानका लागि बजेट उपलब्ध गराउँदै आएको थियो । त्यो बेला वार्षिक १० करोड रुपैयाँ उपलब्ध हुन्थ्यो । अहिले भने सरकारले ५ करोड १५ लाख रुपैयाँ मात्र विनियोजन गरेको छ । यसबाट पनि कृषि अनुसन्धानका लागि सरकारी उपेक्षा सहजै अनुमान गर्न सकिने यहाँ कार्यरत वैज्ञानिकको भनाइ छ ।

नेपालमा कालो बंगुर उत्पादन गरेर विश्वमाझ नाम कहलाएको अनुसन्धान केन्द्रमा अहिले पनि बंगुर, कुखुरा र उन्नत जातका बाख्राबारे अनुसन्धान गरिँदै छ । केन्द्रले अकबरे खुर्सानी, बोयर र खरी जातका बाख्राबाट उन्नत जातका खसी, बाख्रा उत्पादन, एवोकाडो, घैया धान, अलैंचीलगायत कृषि तथा पशुसम्बन्धी अनुसन्धान गर्दै आएको छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

किबीले तानिए कृषक

सुजता लामा

सिन्धुलीमाढी — तीनपाटन गाउँपालिका ८ बाहुनतिल्पुङका गुञ्जबहादुर देवकोटाले व्यावसायिक किबी खेती सुरु गरेका छन् । बजार भाउ राम्रो भएकाले खेती सुरु गरेको उनले बताए । ‘किबीको माग धेरै छ । मैले उत्पादन गरेको किबी त धेरै जसो गाउँघरमै बिक्री हुन्छ,’ उनले भने, ‘बजारको कुनै चिन्ता छैन । एक किलोकै ४ सयदेखि ४ सय ५० रुपैयाँसम्ममा बिक्री हुन्छ ।’

पछिल्लो समय सिन्धुलीका किसान व्यावसायिक रूपमा किबी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । बाहुनतिल्पुङकै जितबहादुर तामाङले पनि व्यावसायिक रूपमा किबी खेती गरेका छन् । उनको बारीमा ५० बोटभन्दा बढी किबी छ । एक बोटमा ५ देखि ७ केजीसम्म फल्ने उनले बताए ।

जिल्लामा किबी उत्पादन गर्ने कृषक कम हुँदा जताततै यसको माग रहेको तामाङले बताए । ‘किबी खाँदा स्वास्थ्यमा पनि धेरै नै फाइदा पुग्ने भएकाले माग धेरै छ । किबीले मुटु र सुगर रोग निको हुने तथा शरीरलाई कयौं रोगहरूबाट मुक्त गरी लामो आयु दिने विश्वास गरिन्छ । त्यसैले पनि मानिसहरू किबी घरमै किन्न आइपुग्छन्,’ तामाङले भने । किबी खेतीबाट वार्षिक रूपमा उनले ४ देखि ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

पछिल्लो समय जिल्लाको बाहुनतिल्पुङ, महादेवडाँडा, रतनचुरा, रत्नावती, तोस्रामखोला, जलकन्या, मझुवालगायतका महाभारत क्षेत्रका साविकका गाविसका कृषकहरू व्यावसायिक रूपमा किबी खेती गर्न थालेका छन् । जिल्लामा किबी खेतीका लागि उपयुक्त वातावरणसमेत रहेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्