किबीले तानिए कृषक

सुजता लामा

सिन्धुलीमाढी — तीनपाटन गाउँपालिका ८ बाहुनतिल्पुङका गुञ्जबहादुर देवकोटाले व्यावसायिक किबी खेती सुरु गरेका छन् । बजार भाउ राम्रो भएकाले खेती सुरु गरेको उनले बताए । ‘किबीको माग धेरै छ । मैले उत्पादन गरेको किबी त धेरै जसो गाउँघरमै बिक्री हुन्छ,’ उनले भने, ‘बजारको कुनै चिन्ता छैन । एक किलोकै ४ सयदेखि ४ सय ५० रुपैयाँसम्ममा बिक्री हुन्छ ।’

पछिल्लो समय सिन्धुलीका किसान व्यावसायिक रूपमा किबी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । बाहुनतिल्पुङकै जितबहादुर तामाङले पनि व्यावसायिक रूपमा किबी खेती गरेका छन् । उनको बारीमा ५० बोटभन्दा बढी किबी छ । एक बोटमा ५ देखि ७ केजीसम्म फल्ने उनले बताए ।


जिल्लामा किबी उत्पादन गर्ने कृषक कम हुँदा जताततै यसको माग रहेको तामाङले बताए । ‘किबी खाँदा स्वास्थ्यमा पनि धेरै नै फाइदा पुग्ने भएकाले माग धेरै छ । किबीले मुटु र सुगर रोग निको हुने तथा शरीरलाई कयौं रोगहरूबाट मुक्त गरी लामो आयु दिने विश्वास गरिन्छ । त्यसैले पनि मानिसहरू किबी घरमै किन्न आइपुग्छन्,’ तामाङले भने । किबी खेतीबाट वार्षिक रूपमा उनले ४ देखि ५ लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।


पछिल्लो समय जिल्लाको बाहुनतिल्पुङ, महादेवडाँडा, रतनचुरा, रत्नावती, तोस्रामखोला, जलकन्या, मझुवालगायतका महाभारत क्षेत्रका साविकका गाविसका कृषकहरू व्यावसायिक रूपमा किबी खेती गर्न थालेका छन् । जिल्लामा किबी खेतीका लागि उपयुक्त वातावरणसमेत रहेको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?