२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

मध्यपहाडी राजमार्ग : निर्माण सामाग्री अभावमा काम ठप्प

लालप्रसाद शर्मा

पोखरा — सरकारी निकायकै अवरोधका कारण राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) राजमार्गको कास्की खण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिकामा निर्माणको काम ठप्प भएको छ । निर्माण सामग्री (ग्राभेल) नभएपछि काम रोकिएको निर्माण व्यवसायीले दाबी गरेका छन् । 

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय कास्की, सबडिभिजन वन कार्यालय ढिकुरपोखरीले ढुंगा, गिट्टी ननिकाल्न भनेपछि काम रोकिएको हो । सुरुमा अन्नपूर्ण गाउँपालिकाले पनि काममा अवरोध गरेकामा केही रकम पाएपछि अहिले काम गर्न अनुमति दिएको छ । दुई महिनायता स्थानीय निर्माण सामग्री अभावमा काम गर्न नपाइएको निर्माण कम्पनी श्रेष्ठ दीपा एपेक्स जेभीका साइट म्यानेजर काशीराज बोहोराले बताए ।


बोहोराका अनुसार अन्नपूर्ण गाउँपालिकाको ढाँवा क्षेत्रमा ग्राभेल निकालिएको थियो । स्थानीय तहसँग समन्वय गरी ग्राभेल निकालेकामा गाउँपालिका र डिभिजन वन कार्यालयले वन क्षेत्र भन्दै उत्खननमा रोक लगाए । अहिले ठेकेदार कम्पनीले पालिकालाई २५ लाख रुपैयाँ बुझाएपछि उसले अवरोध हटाएको छ ।


तर वन कार्यालयको अवरोध भने कायमै रहेको बोहोराले बताए । ‘चट्टानी एरिया फोड्ने र पालिकास्तरीय सरकारी कार्यालय बनाउन मिल्ने गरी सम्याउने सहमतिअनुसार काम भइरहेको थियो,’ बोहोराले भने, ‘यसले निर्माण सामग्री पनि उपलब्ध हुने र अर्कोतर्फ चट्टान फोडिएर ठाउँ पनि राम्रो बन्ने थियो । तर काम हुँदाहुँदै रोकियो ।’


डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले प्रदेश मन्त्रालयले तुरुन्त रोक्न भनेकाले रोकिएको बताए । ‘सरकारी र निजीले गर्ने कुनै पनि काम प्रक्रियामा रहेर हुन्छ । राष्ट्रिय प्राथमिकताप्राप्त गौरवको आयोजनाले पनि नीति नियम सबैले मान्नुपर्छ,’ उनले भने, ‘वन क्षेत्रको जग्गामा नियमअनुसार अनुमति लिनुपर्छ । तर लिइएन । वन जंगलमा उत्खनन गर्न खोजेकाले रोक्नुपरेको हो ।’


कार्यालयको भन्दा पनि मन्त्रालयको आदेशअनुसार उत्खनन नगर्न भनेकाले रोकिएको भन्दै उनले मन्त्रालयले मुद्दासमेत लगाउनु भनेको बताए । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले यस विषयमा आवश्यक समन्वय गर्ने बताए ।


अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवर कच्चा पदार्थ अभावमा काम रोकिनु दुर्भाग्य भएको भन्दै राज्यले प्राकृतिक स्रोतसाधन उपयोगबारे स्पष्ट नीति बनाउनुपर्ने बताउँछन् । ‘त्यसै बगेर गइरहेको सामग्री सहज रूपमा प्रयोग गर्न पाउनुपर्छ,’ उनले भने, ‘ठूलो वन क्षेत्र होइन । यसरी वन कार्यालयले रोक्नु गलत हो ।’


बोहोराका अनुसार २ किलोमिटर सडक पिच भइसकेको छ । ५ किमि पिचका लागि तयारी भएको तर वर्षायामका कारण रोकिएको हो । ‘स्थानीय कच्चा पदार्थ अभावमा अरू काम रोकिएको हो,’ उनले भने ।


पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका योजना प्रमुख आशेष थापामगरका अनुसार तीव्र गतिका साथ काम भइरहेका बेला कास्की खण्डमा स्थानीय निर्माण सामग्री अभावमा काम रोकिएको बताए । ‘स्थानीय र प्रदेशसरकारबीच आवश्यक समन्वय अभावले पनि असर गरेको छ,’ उनले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा बाधा अवरोध नगर्ने संघीय सरकारको नीति भए पनि यहाँ भने भयो ।’


तीन वर्षमा सक्ने गरी कास्की र पर्वतमा पर्ने साविकको पोखरा–बागलुङ राजमार्ग खण्डमा २०७४ भदौमा सम्झौता भएर काम थालिएको थियो । २०७६ भदौसम्म ७५ प्रतिशत काम सक्ने लक्ष्य लिइएकामा स्थानीय अवरोधका कारण सम्भव नभएको थापामगरको भनाइ छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?