१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रदेश सीमामा विषादी परीक्षण 

सुवास बिडारी

मकवानपुर — तरकारी तथा फलफूलमा बढ्दो विषादी प्रयोगलाई न्यूनीकरण गर्न प्रदेश ३ सरकारले पाँच जिल्लामा विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मकवानपुर, चितवन, ललितपुर, काभ्रेपलाञ्चोक र नुवाकोटमा सोमबारबाट विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो । 

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको हेटौंडाको औद्योगिक क्षेत्रमा स्थापना भएको प्रयोगशालाको उद्घाटन गर्दै पाँचै जिल्लाका लागि आवश्यक ल्याबसम्बन्धी सामग्री हस्तान्तरण गरे ।


मुख्यमन्त्री पौडेलले नेपालमा उत्पादन भएको तरकारीले मात्र माग धान्न नसक्ने भएका कारण छिमेकी मुलुक भारतबाट पनि तरकारी आयात भइरहेको कारण प्रदेशका सिमानामा परीक्षणको व्यवस्था मिलाउन जरुरी रहेको औंल्याए । ‘प्रयोगशाला स्थापना भएर मात्र भएन । हामीले दैनिक उपभोग्य खाद्यान्नको गुणस्तर र विषादीको परीक्षण गरेर कारबाही गर्नुपर्ने भए सोहीअनुसार अगाडि बढ्न आग्रह गर्दछु,’ उनले भने ।


मन्त्रालयले पाँचवटै कार्यालयमा तीन/तीनजना प्राविधिकलाई प्रयोगशाला सञ्चालनसम्बन्धी तालिमको व्यवस्था गरेको र निकट भविष्यमा मन्त्रालयले नियुक्त गर्ने युवा कृषि स्वयंसेवक प्रत्येक प्रयोगशालामा दुई/दुईजना परिचालन गर्ने जनाएको छ । कृषि मन्त्रालयका प्रवक्ता निर्मलकुमार गदालका अनुसार प्रत्येक प्रयोगशालामा ३६ लाख रुपैयाँ मूल्य बराबरको दसभन्दा बढी आधुनिक र सुरक्षित उपकरणहरू जडान गरिएको छ । ‘प्रयोगशालाले प्रतिघण्टा २०–३० वटा तरकारी तथा फलफूलको नमुना परीक्षण गर्नेछ,’ गदालले भने । उनका अनुसार तरकारी तथा फलफूल थोक तथा खुद्रा बिक्रेता, कृषक र उपभोक्ताहरूले निःशुल्क विषादी परीक्षण सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।


प्रदेश सरकारको गत आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार ‘विषादी अवेशष द्रुत विश्लेषण कार्यविधि–२०७५’ तयार पारेर मन्त्रालयले विषादीसहित माटो परीक्षण र भेटेरिनरी एम्बुलेन्स सञ्चालनका लागि करिब ५ करोड ६८ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेको मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिए ।


‘परीक्षण गरिएको नमुना उपभोग गर्न योग्य तहभन्दा बढी पाइएमा त्यस्ता कृषि उपजलाई विसर्जन वा डम्पिङ गर्ने प्रावधान रहेको छ । प्रयोगशालालाई थप व्यवस्थित गर्दै आवश्यक कानुन निर्माण गरी प्रयोगशालालाई प्रदेशभर विस्तार गरिनेछ,’ सचिव कार्कीले भने ।


माटो परीक्षण प्रयोगशाला

प्रदेश सरकारले पाँचवटा स्थानीय तहमा माटो परीक्षण प्रयोगशाला स्थापना गरेको छ । कृषि मन्त्रालयले चितवनको खैरहनी, नुवाकोटको विदुर, काभ्रेको पाँचखाल, धादिङको सिद्धलेक तथा मकवानपुरको गढी गाउँपालिकामा माटो परीक्षण प्रयोगशाला स्थापना गरेको हो ।


स्थानीय तहले प्रयोगशाला कक्ष, जनशक्ति र सञ्चालन खर्च व्यहोर्ने गरी मागका आधारमा मन्त्रालयले आवश्यक उपकरणको व्यवस्था गरेर तालिमसहित प्रयोगशाला सञ्चालनमा ल्याएको भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिए ।


उनका अनुसार पाँचवटा स्थानीय तहलाई ३२/३२ लाख रुपैयाँका दरले आवश्यक मेसिन करिब १ करोड ६० लाख रुपैयाँ बराबरको हस्तान्तरण गरिएको छ । ‘प्रदेश सरकारले पाँच वर्षभित्र सबै स्थानीय तहमा माटो परीक्षण प्रयोगशाला स्थापना गर्ने नीति अवलम्बन गरेको छ । कृषिको विकासबिना समृद्धि सम्भव छैन । त्यसकारण प्रदेश सरकारले कृषिको विकासमा काम गरिरहेको छ,’ मन्त्री लामाले भने ।


प्रयोगशालामा दैनिक एक सयवटा माटोको नमुना परीक्षण गर्न सकिनेछ । पछिल्लो तथ्यांकअनुसार नेपालमा कृषियोग्य जमिनमध्ये ५० प्रतिशत अम्लीय रहेको पाइएको र दिगो माटो व्यवस्थापनका लागि मन्त्रालयले प्रांगारिक मलको प्रयोग बढाउन र आवश्यक सहयोग स्थानीय तहलाई गर्दै लैजाने बताए ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?