१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

किसानलाई ठगेर संस्थाका प्रतिनिधि सम्पर्कविहीन

कान्तिपुर संवाददाता

भोजपुर — फलफूलका बिरुवा तथा सहुलियतमा अनुदान दिने भन्दै किसानबाट लाखौं रुपैयाँ संकलन गरी एसोसियसन अफ एग्रिकल्चर नेपालका प्रतिनिधि बेपत्ता भएका छन् । जिल्लाका १ हजार ३ सय कृषकबाट १९ लाख ८ हजार रुपैयाँभन्दा बढी रकम उठाएर संस्थाका प्रतिनिधि सम्पर्कविहीन भएका हुन् । 

भोजपुर नगरपालिका–७ को च्याविनीचोकमा कार्यालय स्थापना गरेर उक्त संस्थाले वन संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, वन विकाससम्बन्धी धारणा विकास, उन्नत जातका बीउबिजन निःशुल्क वितरण, पशुपालनमा ५० प्रतिशतमा निर्ब्याजी ऋण उपलब्ध गराउने लगायतका कार्यक्रम गर्ने जनाएको थियो ।


संस्थाले कृषक समूह गठन गरी रकम उठाउने काममा पठाएको कर्मचारीहरूले बताए । भोजपुर नगरपालिका, पौवादुम्मा गाउँपालिका, रामप्रसाद राई, आमचोक र साल्पासिलिछो गाउँपालिकामा कृषक समूह गठन गरेर प्रति कृषक ५ सयदेखि २ हजार रुपैयाँसम्म संकलन गरिएको पीडितले बताए ।


करारमा काम गर्दै आएका कर्मचारीको समेत चैतदेखि ४ महिनाको तलब नदिएपछि उनीहरू बिचल्लीमा परेका छन् । कर्मचारीहरूले गाउँगाउँ गएर विभिन्न जातका फलफूल तथा रूखका बिरुवा दिने सर्तमा रकम संकलन गरेका थिए । रकम संकलन गरेर कार्यालयमा बुझाएपछि सञ्चालकहरू फरार भएको त्यही कार्यरत चासुम राईले बताए ।


कर्मचारीले संकलन गरेको रकमसमेत लिएर फरार भएपछि पीडित कर्मचारीहरूले कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनमा निवेदन दिएका छन् । कर्मचारीहरू चासुम राई, अञ्जना कटुवाल, सोमित खत्री, मनोज गिरी, वमप्रसाद राई, मनिका मगर, मीना कार्कीले निवेदन दिएका हुन् ।


निवेदनमा ४ महिनाको तलबसमेत नदिई कृषकहरूको रकम लिएर फरार भएको उल्लेख छ । संस्थाका केन्द्रीय अध्यक्ष गणेश दत्त, भोजपुर शाखा प्रमुख सुरजबहादुर थापा र कार्यक्रम संयोजक भद्रा खत्रीलगायत माथि छानबिन गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालयले पत्र प्राप्त भएपछि आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ । सम्पर्क समन्वय गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।


कोठा भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको संस्था जेठ २६ देखि बन्द छ । शाखाप्रमुख सुरजबहादुर थापा श्रीमती बिरामी भएको र उपचार गराउन जान्छु भन्दै हिँडे पनि कार्यालय नफर्केको कर्मचारी अञ्जना कटुवालले बताइन् । भाडामा लिएको घरको ५ महिनाको ७८ हजार भाडा लिन बाँकी रहेको घरधनीले बताए ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?