रेलको नाम के राख्ने ?

विमल खतिवडा

काठमाडौँ — भारतको जयनगर–जनकपुरअन्तर्गत कुर्था खण्डमा चार महिनाभित्र रेल चलाउने गरी काम भइरहेको छ । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् । 


चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । रेल गुड्ने ठाउँ तयार भयो । रेल सेट बन्दै छ । रेलको नाम के राख्ने भन्नेबारे पनि चर्चा चल्न थालेको छ । एउटा रेलको नाम ‘जानकी’ राख्ने कुरा भए पनि अर्को रेलको नाम के राख्ने ? सामाजिक सञ्जालमा यसको चर्चा चल्दै आएको छ । मन्त्रालय र विभागबीच पनि अनौपचारिक रूपमा यसबारे छलफल भइरहेको छ ।

‘रेल आएपछि के नाम राख्ने भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मेरो सामान्य छलफल भएको हो,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘रेल आएपछि राष्ट्रिय नाम नै राखिनेछ,जसले देशको पहिचान झल्काउनेछ ।’ दुईवटा ट्रेन सेट आउने र दुवैको नाम अलगअलग हुनेछ ।

‘के राख्ने भन्दा जनकपुरमा चल्ने भएकाले एउटाको नाम ‘जानकी’ राख्दा उपयुक्त होला भन्ने हो,’ उनले भने, ‘यसमा मन्त्री सकारात्मक हुनुहुन्छ, अर्कोको नाम पशुपति, सगरमाथा, बुद्ध, लुम्बिनीमध्ये कुनै एउटा राखिनेछ ।’ यसरी चर्चामा आएका सबै नाम उपयुक्त भएको उनले दाबी गरे । ‘यीभन्दा बढी नेपालका चिनारी दिने नाम के हुन सक्लान् ?’ उनले भने, ‘यही नाम राख्ने भनेर निर्णय भइसकेको छैन, छलफलकै क्रममा छ ।’ पेन्टिङ गर्ने समयमा रेलको नाम राखिनेछ ।

‘जयनगरदेखि कुर्थासम्म पहिलो लटमा रेल चल्नेछ, त्यसपछि कुर्थादेखि बिजलपुरासम्म पुग्नेछ,’ उनले भने, ‘३४ किमि क्षेत्रको कुर्थासम्म काम सकिसकेको छ, यसको परीक्षणसमेत गरिसकेका छौं ।’ कुर्थादेखि बिजलपुरासम्म रेल लिक बिछ्याउन बाँकी छ । वर्षातले समस्या भएको छ । ‘कुर्थादेखि बिजलपुरासम्म १७ किमि छ,’ उनले भने, ‘यो क्षेत्रमा बढीमा फागुनसम्ममा रेल गुड्नेछ ।’ बिजलपुरादेखि बर्दिबाससम्म रेल गुड्न भने समय लाग्नेछ । जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेल्वे नेटवर्क बन्नेछ ।

‘यो क्षेत्रमा जग्गा अधिग्रहणको काम हुँदै छ,’ उनलेभने, ‘रेल गुड्न अझै १/२ वर्ष लाग्न सक्छ ।’ भारतीय कम्पनीले बढीमा चार महिनाभित्र ट्रेन सेट बनाएर दिने कुरा भएको उनले बताए । ‘सेट आउने बित्तिकै रेल चल्नेछ,’ उनले भने, ‘खरिदका लागि कुल ८४ करोड ६५ लाखमध्ये २० प्रतिशत रकम हामीले दिइसकेका छौं ।’ बाँकी रकम ट्रेन सेट आएपछि दिने उनले बताए । दुई सेट रेल खरिदका लागि रेल विभाग र भारतको कोंकण रेलवेज कर्पोरेसन लिमिटेडबीच करिब २ महिनाअघि सम्झौता भएको थियो । रेलको एक सेटमा पाँचवटा डिब्बा रहनेछन् । ती डिब्बामा एकपटकमा करिब १३ सय यात्रु अटाउनेछन् ।

यता जोगबनी–विराटनगरमा पनि १८ किमि क्षेत्रमा रेलमार्ग निर्माण हुँदै छ । जसमध्ये १० किमि क्षेत्रमा रेलमार्ग निर्माण भइसकेको छ । ‘केही जग्गाको काम बाँकी छ, वर्षातपछि यो काम पनि सकिनेछ,’ उनले भने, ‘१८ किमि पूरा हुन एक/डेढ वर्ष लाग्ने अनुमान गरेका छौं ।’ दुवै ठाउँको रेलमार्ग भारत सरकारले निर्माण गरिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म रेल चल्ने भएकाले उक्त स्थानमा निर्माणको काम तीव्र रूपमा भइरहेको बताए ।

प्रकाशित : श्रावण २४, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

बिचौलिया रोक्न कृषि उपज केन्द्र

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको देवचुलीमा कृषि उपज बिक्री केन्द्र सञ्चालन गरिएको छ । किसानले उत्पादन गरेको तरकारी तथा अन्य उत्पादनलाई बिचौलियामार्फत नभई सोझै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो । 

कृषि विकास निर्देशनालय गण्डकी प्रदेश देवप्रगति बहुउद्देश्यीय सहकारीको सहयोगमा २९ लाख १४ हजार रुपैयाँको लागतमा केन्द्र निर्माण गरेर बिक्री वितरण सुरु गरिएको सहकारीका अध्यक्ष हुकुमबहादुर सुवेदीले बताए । तराई भेगमा तरकारी खेती र जिल्लाको पहाडी भेगमा अदुवा खेतीको पकेट क्षेत्र भएकाले भण्डारण र बजारीकरणका लागि बिक्री केन्द्र स्थापना भएपछि किसान खुसी भएका छन् ।

केन्द्रमा कृषि चौतारी स्थापना गरिएको छ । निश्चित स्थानलाई चौतारीको नाम दिएर त्यहाँ किसानले आफ्ना उत्पादन निःशुल्क रूपमा भण्डारण गरेर बिक्री गर्न सक्छन् । लामो समयसम्म राख्नुपर्ने र भण्डारण गर्नुपर्ने भएमा सामान्य शुल्क तिरेर कारोबार गर्न सकिनेछ । पूर्व–पश्चिम राजमार्गको पहुँचमा रहेका बिक्री केन्द्र पहाडबाट सर्वसाधारण बजार आउने मुख्य स्थानमा पर्छ ।

पहाडी क्षेत्रमा उत्पादन हुने अदुवा, अम्रिसो, सुन्तलालगायत कृषि उपजको बजारीकरणका लागि उचित स्थान नहुँदा बिचौलियाले सस्तोमा खरिद गरेर बढी मूल्यमा बिक्री गरिरहेका थिए । सहकारीले कृषि उपज बिक्री केन्द्रसहित आगामी दिनमा शीतभण्डार र बीउ बैंकसमेत स्थापना गर्ने लक्ष्य लिएको सहकारीका उपाध्यक्ष गोमादेवी घिमिरेले बताइन् । स्थानीयलाई पनि टाढाटाढा पुगेर तरकारी किन्नुभन्दा एकै स्थानमा सबै प्रकारका उत्पादन पाएपछि सहज भएको छ ।

किसानको आफ्नै डेरी
बजारमा दूधको माग बढेसँगै व्यावसायिक पशुपालन पनि फस्टाउँदो छ । बिचौलियाकै कारण किसानले उचित मूल्य र उपभोक्ताले सहजै दूध पाएका छैनन् । किसानसँग सस्तोमा खरिद गरेर महँगोमा बेच्दा किसान र उपभोक्ता दुवै मारमा छन् ।

व्यावसायिक रूपमा सञ्चालित निजी डेरीलाई दूध बेच्दा समयमा भुक्तानी नपाउने समस्या पनि उस्तै छ । यस्तै समस्याबाट गुज्रिएका पूर्वी नवलपरासीका दूध उत्पादक किसानले सदरमुकाम कावासोतीमा डेरी सञ्चालन गरेका छन् ।

बिचौलियालाई सस्तोमा दूध दिनुपर्ने र समयमा भुक्तानी नपाएपछि व्यावसायिक रूपमा उत्पादन गर्ने किसान एकजुट भएर आफैंले संकलन गर्न थालेका हुन् । कावासोती नगरपालिकाभित्रका २५ पशुपालक किसानले डेरी सञ्चालन गरी आफूले उत्पादन गरेका दूध आफैंले बिक्री गर्न थालेका छन् ।

प्रकाशित : श्रावण २४, २०७६ ०८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्