१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिचौलिया रोक्न कृषि उपज केन्द्र

नवीन पौडेल

नवलपुर — पूर्वी नवलपरासीको देवचुलीमा कृषि उपज बिक्री केन्द्र सञ्चालन गरिएको छ । किसानले उत्पादन गरेको तरकारी तथा अन्य उत्पादनलाई बिचौलियामार्फत नभई सोझै उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको हो । 

कृषि विकास निर्देशनालय गण्डकी प्रदेश देवप्रगति बहुउद्देश्यीय सहकारीको सहयोगमा २९ लाख १४ हजार रुपैयाँको लागतमा केन्द्र निर्माण गरेर बिक्री वितरण सुरु गरिएको सहकारीका अध्यक्ष हुकुमबहादुर सुवेदीले बताए । तराई भेगमा तरकारी खेती र जिल्लाको पहाडी भेगमा अदुवा खेतीको पकेट क्षेत्र भएकाले भण्डारण र बजारीकरणका लागि बिक्री केन्द्र स्थापना भएपछि किसान खुसी भएका छन् ।


केन्द्रमा कृषि चौतारी स्थापना गरिएको छ । निश्चित स्थानलाई चौतारीको नाम दिएर त्यहाँ किसानले आफ्ना उत्पादन निःशुल्क रूपमा भण्डारण गरेर बिक्री गर्न सक्छन् । लामो समयसम्म राख्नुपर्ने र भण्डारण गर्नुपर्ने भएमा सामान्य शुल्क तिरेर कारोबार गर्न सकिनेछ । पूर्व–पश्चिम राजमार्गको पहुँचमा रहेका बिक्री केन्द्र पहाडबाट सर्वसाधारण बजार आउने मुख्य स्थानमा पर्छ ।


पहाडी क्षेत्रमा उत्पादन हुने अदुवा, अम्रिसो, सुन्तलालगायत कृषि उपजको बजारीकरणका लागि उचित स्थान नहुँदा बिचौलियाले सस्तोमा खरिद गरेर बढी मूल्यमा बिक्री गरिरहेका थिए । सहकारीले कृषि उपज बिक्री केन्द्रसहित आगामी दिनमा शीतभण्डार र बीउ बैंकसमेत स्थापना गर्ने लक्ष्य लिएको सहकारीका उपाध्यक्ष गोमादेवी घिमिरेले बताइन् । स्थानीयलाई पनि टाढाटाढा पुगेर तरकारी किन्नुभन्दा एकै स्थानमा सबै प्रकारका उत्पादन पाएपछि सहज भएको छ ।


किसानको आफ्नै डेरी

बजारमा दूधको माग बढेसँगै व्यावसायिक पशुपालन पनि फस्टाउँदो छ । बिचौलियाकै कारण किसानले उचित मूल्य र उपभोक्ताले सहजै दूध पाएका छैनन् । किसानसँग सस्तोमा खरिद गरेर महँगोमा बेच्दा किसान र उपभोक्ता दुवै मारमा छन् ।


व्यावसायिक रूपमा सञ्चालित निजी डेरीलाई दूध बेच्दा समयमा भुक्तानी नपाउने समस्या पनि उस्तै छ । यस्तै समस्याबाट गुज्रिएका पूर्वी नवलपरासीका दूध उत्पादक किसानले सदरमुकाम कावासोतीमा डेरी सञ्चालन गरेका छन् ।


बिचौलियालाई सस्तोमा दूध दिनुपर्ने र समयमा भुक्तानी नपाएपछि व्यावसायिक रूपमा उत्पादन गर्ने किसान एकजुट भएर आफैंले संकलन गर्न थालेका हुन् । कावासोती नगरपालिकाभित्रका २५ पशुपालक किसानले डेरी सञ्चालन गरी आफूले उत्पादन गरेका दूध आफैंले बिक्री गर्न थालेका छन् ।

प्रकाशित : श्रावण २४, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?