बाढीले कालंगामा क्षति

बुधबार बिहानको बाढीले आयोजनाको निर्माणाधीन नहर, भण्डारण गरिएका सिमेन्ट, छड, गिट्टि, बालुवा लगायतका सामाग्री बगाएको छ 
वसन्तप्रताप सिंह

(बझाङ) — लगातारको वर्षापछि आएको बाढीले निर्माणाधीन कालंगा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । बाढीले आयोजनाका निर्माण सामग्री, मेसिन उपकरण र केही संरचनामा क्षति पुगेको हो । 

बुधबार बिहानको बाढीले आयोजनाको निर्माणाधीन नहर, नहर निर्माणका लागि भण्डारण गरिएका सिमेन्ट, छड, गिट्टि, बालुवा बगाएको छ । निर्माण स्थलमा सञ्चालित दुईवटा क्रसर पनि बगेको र ५ वटा ट्याक्टर, जिप, दुईवटा डोजरलाई पुरेको आयोजनाले जनाएको छ । ‘पाउटामा रहेको क्याम्पमा सुरक्षाकर्मी र कामदारहरु सुतिरहेका थिए,’ आयोजनाका प्रबन्ध निर्देशक विवश अमात्यले भने, ‘एकाएक नदीमा ठूलो आवाज आयो । के भयो भनेर बाहिर आउँदा निर्माणाधीन नहर, निर्माण सामग्री र उपकरण बगाइसकेको रहेछ । हेर्दाहेर्दै क्याम्पको केही भाग पनि बगायो ।’

बाढी आएपछि मध्यरातमा क्याम्पमा भागदौड मच्चिएको थियो । ६ महिनाभन्दा बढी समय लगाएर गरेको नहरको काम बाढीले क्षतिग्रस्त बनाएको अमात्यले बताए । करिब ७५ मेगावाट क्षमताको यो जलविद्युत् आयोजना निजी क्षेत्रको लगानीमा बन्दै गरेको देशकै पहिलो ठूलो आयोजना मानिन्छ । तीन ठाउँमा एकैपटक संरचना निर्माण हुँदै छ । २०७७ असोजसम्म सकिने गरी काम भइरहेको छ । हालसम्म आयोजनाको ७० प्रतिशत काम पूरा भइसकेको छ ।

बुधबार कालंगा नदीमा आएको बाढी हालसम्मकै ठूलो भएको स्थानीयले बताए । ‘यति ठूलो बाढी आएको सम्झना छैन । मेरो जीवनमा कालंगा यसरी उर्लिएको पहिलो पटक देखेको हुँ,’ खोला किनारको बस्ती पाउटाका ५५ वर्षीय मनवीर बोहराले भने । उनले खोला किनारको बस्ती नै बगाउने डरले राती धेरै स्थानीयले घरमा भएको मालसामान सुरक्षित ठाउँमा ओसारेको र गोठमा बाँधेका पशु चौपायालाई समेत सुरक्षित ठाउँमा सारेको बताए ।

नदीको सतह घटेपछि बिहीबार दिउँसो मात्र यहाँका स्थानीय घरभित्र पसेका थिए । कालंगामा आएको बाढीले खोला छेउका करिब ८० रोपनी जति जग्गा र त्यसमा लगाएको धानबालीसमेत नष्ट गरेको छ । फेरि पनि बाढी आउन सक्ने चिन्ताले खोला छेउका बस्तीहरुमा त्रास कायमै रहेको स्थानीयले बताए ।






प्रकाशित : श्रावण २३, २०७६ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्

दुई उपसचिवसहित १८ जनाविरुद्ध मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालय भवन निर्माणका क्रममा ८ लाख ४७ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

मुद्दा दायर गरिएकामा पोखरेलका अतिरिक्त साविक जिविसका लेखा अधिकृत रामकुमार पौडयाल, इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब–इन्जिनियर दोर्णप्रसाद रजौरे, असिस्टेन्ट ओभरसियर फलेन्द्र डीसी, तत्कालीन गाविस सचिव टेकबहादुर डाँगी, नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक कृष्णबहादुर घर्ती, निमित्त प्रधानाध्यापक खलबहादुर चलाउने क्षेत्री, उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष क्रमशः कर्णबहादुर रावत, डम्मरबहादुर पुन र निमाकुमारी विक छन् । अभियोगपत्रमा उनीहरूले मिलेमतोमा नेपाल राष्ट्रिय माविको भवन निर्माणका क्रममा झूटो बिलभर्पाइ र कागजात पेस गरेको उल्लेख छ ।

अख्तियारले डिभिजन वन कार्यालय, सुर्खेतका कार्यालय प्रमुख (उपसचिव प्राविधिक) भक्तबहादुर लामाविरुद्ध मुद्दा दायर गरेको छ । लामाले काठ दाउराको छुट पूर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग ४ लाख रुपैयाँ घूस लिएको अभियोगपत्रमा उल्लेख छ । अख्तियारले लामाको निवासबाट बरामद अतिरिक्त ५ लाख ५० हजार रुपैयाँका सम्बन्धमा सम्पत्तिसम्बन्धी छुट्टै अनुसन्धान गर्ने निर्णयसमेत गरेको छ ।

अख्तियारले सल्यानको साविक काप्रेचौर गाविसका तत्कालीन गाविस सचिव टेकबहादुर डाँगी र बाल संरक्षण तथा संवर्द्धन उपसमितिका संयोजक खगेन्द्र बस्याल सार्कीविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरुले लक्षित वर्गका बालबालिकाको कार्यक्रमका लागि छुट्ट्याइएको रकमबाट ३३ हजार ८ सय ६० रुपैयाँ हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट कोशी कटान, सुनसरीका प्रहरी नायब निरीक्षक (सई) भीमबहादुर कटुवाल र जवान भरत कटुवालविरुद्ध पनि मुद्दा दायर भएको छ । कटुवालद्वयले काँकडभिट्टा–काठमाडौं चल्ने गाडी सञ्चालकसित ५ हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ ।

अख्तियारले नापी कार्यालय, चितवनका सर्वेक्षक राजेश कर्माचार्यविरुद्ध जग्गाको कित्ताकाटबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको आरोपमा मुद्दा दायर गरेको छ ।
यसैगरी अख्तियारले कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाको श्री माध्यमिक विद्यालयका प्रावि शिक्षक सुशीलादेवी गौतमविरुद्ध समेत भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतमले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको अभियोगपत्रमा दाबी गरिएको छ । मुद्दा दायर भएसँगै उपभोक्ता समितिका चारबाहेक १४ जना सरकारी सेवाबाट निलम्बित भएका छन् ।

प्रकाशित : श्रावण २३, २०७६ १९:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्