३ सय ८० सम्पदाको पुनर्निर्माणमा २ अर्ब १२ करोड खर्च

विमल खतिवडा

काठमाडौँ — पुरातात्विक तथा सांस्कृतिक सम्पदा पुनर्निर्माणमा २ अर्ब १२ करोड ६२ लाख खर्च भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ३ सय ८० सम्पदाको निर्माण सम्पन्न भइसकेको छ । यो वर्ष थप १ सय ५० सम्पदाको पुनर्निर्माण हुनेछ । भूकम्पले क्षति पुर्‍याएपछि सम्पदाहरुको पुनर्निर्माण गरिएको हो । 


पुनर्निर्माण सम्पन्न पुरातात्विक सम्पदामध्ये विश्व सम्पदामा सूचीकृत ९६ वटा छन्। हनुमानढोका दरबार क्षेत्रका गद्दी बैठक, नाट्यश्वर मन्दिर, कृष्ण मन्दिर, नगरा घर, प्रताप मल्लको सालिक पुर्नस्थापना तथा तलेजु मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। भक्तपुर दरबार क्षेत्रका खौमा गेट, सिद्धिलक्ष्मी मन्दिर, नारायण मन्दिर, शंकरनारायण लगायतको पुनर्निर्माण भएको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको कार्य धेरै अघि बढिसकेको हुँदा पुरातात्विक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणलाई विशेष प्राथमिकता दिइएको बताए। पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले चालू आर्थिक वर्षभित्र १ सय ५० सम्पदाको पुनर्निर्माण गरिने छ।

पुनर्निर्माण भइरहेका मुख्य सम्पदाहरुमा रानीपोखरी, धरहरा, वसन्तपुरस्थित काष्ठमण्डप तथा नौतले दरबार, रातो मछिन्द्रनाथको मन्दिर, नुवाकोटस्थित सात तले दरबार लगायत छन्।

पुरातात्विक सम्पदाको पुनर्निर्माणमा नेपाल सरकारको स्रोतको अतिरिक्त विभिन्न राष्ट्रले पनि सहयोग गरेका छन्। भूकम्पबाट ८ सय ९१ वटा पुरातात्विक एवं सांस्कृतिक महत्वका सम्पदामा क्षति पुगेको थियो। ती मध्ये ७ सय ५३ वटा भूकम्पबाट अति प्रभावित १४ जिल्लाका छन्। त्यस्तै भूकम्प प्रभावित १७ जिल्लाका १ सय ३८ वटा सम्पदा रहेका छन्।

प्रकाशित : श्रावण २३, २०७६ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्

लौका परीक्षणको ८७ हजार !

राजु चौधरी

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लौका परीक्षण गरेको ८७ हजार राजश्व दाखिला गर्न पत्रचार गरेको छ । खाद्यले वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभागलाई उक्त रकम दाखिला गर्न पचत्रार गरेको हो ।

‘लौकामा विषादी प्रयोग भएको उजुरी परेपछि नमुना संकलन गरी खाद्य प्रविधिमा पठाएको थियो,’ आपूर्ति विभागका अनुगमन शाखा निर्देशक शोभाकर रेग्मीले भने, ‘तर लौका परीक्षण गरेको बिल ८७ हजार रुपैयाँ उठेको छ।’

खाद्य विभागका पत्र अनुसार प्रयोगशालाबाट ३ वटा लौकामा २९ पारामिटर परीक्षण गरिएको छ। उक्त लौकामा भने विषादी फेला परेको छैन। ‘लौका परीक्षणको प्रतिवेदन यही पत्रसँग पठाएका छौं। त्यहाँबाट प्राप्त पत्रमा गुणस्तर परीक्षण बापत लाग्ने शुल्क प्रतिवेदन प्राप्त भएपछि भुक्तानी गरिने भनिएकाले नेपाल सरकारबाट निर्धारण गरेको गैरकर राजश्व प्रति प्रस्टिसाइड १ हजारको दरले जम्मा ८७ हजार राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालामा राजश्व दाखिला गरी दिन हुन अनुरोध छ,’ खाद्य प्रविधिले आपूर्ति विभागलाई पठाएको पत्रमा उल्लेख छ।


आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार नख्खुका एक उपभोक्ताले प्रतिभा फलफूल तरकारी होलसेल बजारबाट लौका खरिद गरेको थियो। लौका पकाएपछि खानेबेला तितो स्वाद, वाकवाकी र पखाला चलेको उजुरी गरेको थियो। ‘अर्को एक उपभोक्ताले सोही तरकारी खादा त्यस्तै भएको उजुरी आयो। एक जना अस्पतालमा भर्ना गरेको उजुरी परेपछि राति साढे ८ बजे नै टोली खटायो,’ विभागका महानिर्देशक गौचनले भने, ‘ती उपभोक्ताले खरिद गरेको पसलबाट लौका परीक्षण गर्न दिएका थियौ। परीक्षण गरेको राजश्व ८७ हजारको पत्र आएको छ।’

खाद्य प्रविधि विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले अर्थ मन्त्रालयले स्वीकृत गरेको नियमअनुसार शुल्क लिएको बताए। उनले लौकाको तीन वटा नमुना परीक्षण गर्दा ८७ हजार भएको दाबी गरे। ‘३ वटा नमुनाको २९ वटा पारामिटरको परीक्षण गर्दा ८७ हजार भएको हो,’ प्रवक्ता महर्जनले भने, ‘यो नियम नै हो।’ उनका अनुसार खाद्य प्रविधिका निरीक्षक अधिकृतले अनुगमन र संकलन गरेको नमुनामा भने शुल्क लाग्दैन। अन्य निकाय र सर्वसाधारणले परीक्षणको लागि ल्याउने नमुनामा प्रति पारामिटर १ हजार लाग्ने उनले बताए।

प्रकाशित : श्रावण २३, २०७६ १७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्