२ महिनापछि उदयपुर सिमेन्ट सञ्चालन

डिल्लीराम खतिवडा

उदयपुर — दुई महिनोदखि बन्द उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि सञ्चालनमा अएको छ । उद्योग बन्द हुँदा करिब ३९ करोड रुपैयाँ नोक्सानी भएको छ । विद्युत् भोल्टेजमा गडबडीले हाइटेन्सन मोर्टरमा क्षतिपुगेपछि क्लिंकर उत्पादन रोकिएको थियो ।

‘मोटर जडान गरेसँगै सिमेन्ट उत्पादन सुरु भइसकेको छ,’ उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले भने, ‘गैंडा छापा सिमेन्ट पूर्ववत् रूपमै बिक्री वितरण सुरु भयो ।’ उद्योगले गत आर्थिक वर्ष २०७५/०७६ मा १ लाख ३२ हजार टन क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको थियो ।


१ लाख २२ हजार टन क्लिंकर उत्पादन भएकामा लक्ष्यमा पुग्नै लाग्दा हाइटेन्सन मोटरमा क्षति पुगेपछि उत्पादन बन्द भएको हो । ‘मोटरमा क्षति नपुगेको भए आर्थिक वर्षको अन्तसम्म १ लाख ४२ हजार टन क्लिंकर उत्पादन हुने थियो,’ साहले भने, ‘मोटर बिग्रिनुभन्दा पहिले र त्यसको दुई सातासम्म दैनिक १० हजारदेखि १२ हजार बोरासम्म सिमेन्ट बिक्री भइरहेको थियो । उनका अनुसार क्लिंकर उत्पादन बन्द भए पनि भकारीमा क्लिंकर मौज्दात रहेकाले लामो समयसम्म बिक्री रोकिएको थिएन ।’


दैनिक ७ सय ५० देखि ८ सय टन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले मोर्टर बिग्रिएपछि दैनिक ७५ लाख रुपैयाँ उत्पादन घाटा व्यहोर्नुपरेको थियो ।


उद्योगले गत आर्थिक वर्षमा २२ लाख ७५ हजार बोरा सिमेन्ट बिक्री गरेको थियो । २०४४ मा स्थापना भएको उद्योगले सुरुका वर्षमा जापान सरकारबाट सञ्चालन हुँदा ८ सय टनसम्म सिमेन्ट उत्पादन गरेको थियो । त्यसपछिका वर्षहरूमा विद्युत् अभाव तथा कटौतीका कारण दैनिक ६ सयदेखि ६५० टन मात्र सिमेन्ट उत्पादन गर्दै आएकामा गत वर्ष पुराना पार्टपुर्जाको मर्मत गरिएपछि उत्पादन बढेर ७५० देखि आठ सय टन पुगेको हो ।


नेपाल सरकारलाई २०५१ सालमा हस्तान्तरण भएलगत्तै महाप्रबन्धक र अध्यक्ष पद राजनीतिक नियुक्तिका आधारमा हुन थालेपछि उत्पादन ह्वात्तै घटेर २ सयदेखि २५० टनमा सीमित हुँदै आएको थियो । दुई वर्षअघिसम्म वार्षिक १० करोडभन्दा माथि घाटामा रहेको उद्योगको भौतिक र प्राविधिक व्यवस्थापनपछि नाफामा गएको छ ।


उदयपुर सिमेन्ट र हेटौंडा सिमेन्ट उद्योगले सरकारी साख धानिरहे पनि बजारमा सरकारी सिमेन्टको हिस्सा ५ प्रतिशत मात्र छ ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?