१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चिनियाँ प्रदर्शनीमा नेपालको ३० स्टल

लक्ष्मी लम्साल

बेइजिङ — नेपालसहित ४० देशका ६ सयभन्दा बढी उद्योगी/व्यवसायीको संलग्नतामा बुधबारबाट चीनको छिङ्हाई प्रान्तमा पाँच दिने अन्तर्राष्ट्रिय गलैंचा तथा हस्तकला प्रदर्शनी सुरु भएको छ । तिब्बतसँग सीमा जोडिएको छिङ्हाई प्रान्तमै सबैभन्दा ठूलो मानिने यस प्रदर्शनीमा एसिया, युरोप, अफ्रिका लगायतका देशका व्यवसायीसागै बेइजिङस्थित विभिन्न देशका कूटनीतिज्ञहरू प्रदर्शनी स्थलमा पुगेका छन । प्रदर्शनीमा नेपालले २५ हस्तकला र ५ वटा गलैंचा स्टल पाएको छ ।

चिनियाँ प्रदर्शनीमा नेपालको ३० स्टल

सन् २०१२ देखि नेपालले यो प्रदर्शनीमा भाग लिँदै आए पनि यसपटक भारत पनि सहभागी भएको छ । विशेषगरी कार्पेट उत्पादन गर्ने अरेबिक मुलुकहरूको दबदबा यस मेलामा देखिएको छ । गलैंचा उत्पादन गर्ने देशहरूमध्ये नेपालको गलैंचा औपचारिक क्षेत्रबाट निर्यात नहुने र तिब्बती बाटो भएर चीन पुग्दा नेपाली कार्पेटको पहिचान नै गुमेको नेपाली व्यवसायीको गुनासो छ ।


मेलामा सहभागी भएका विवेक कार्पेट भक्तपुरका व्यवसायी छत्रलाल श्रेष्ठले कर वा व्यवस्थापनको सम्पूर्ण जिम्मा व्यवसायी आफैंले गर्नुपर्ने तर सरकारले नहेर्ने भएकाले नेपाली गलैंचाले अन्तर्राष्ट्रिय बजारमा प्रतिपर्धाका लागि आत्मविश्वास गुमाएको बताए । उनले भने, ‘अन्य देशमा निर्यात गर्ने व्यवसायीलाई सरकारले पठाउँछ । सरकारले आफैँले पहलकदमी लिन्छ । हाम्रोमा पूरै बेवास्ता गरिन्छ ।’


उनका अनुसार नेपाली कार्पेट हस्तनिर्मित र ऊनीबाट बनिने भएकाले पनि तिब्बतीहरूले मन पराउँछन ्। अन्य देशमा सिल्कबाट बनाउने भएकाले महँगो र गुणस्तरीय हुने गरेको उनको ठहर छ । मेलामा अफगानिस्तान, भारत, इरान, बंगलादेश लगायतका देशबाट भित्रिएका गलैंचाले पनि यसपािल नेपाली गलैंचा क्षेत्रलाई छाायामा पारेको देखिन्छ । नेपाली कार्पेटले छुट्टै पहिचान स्थापित गर्न संघर्ष गर्नुपर्ने स्थिति देखिएको प्रदर्शनीमा सहभागी गलैंचा व्यापारीहरूले बताए ।


मेलामा नेपाली गलैंचाभन्दा हस्तकला चम्किएको छ । करिब २ दर्जनजति व्यवसायीहरूको सहभागिताले नेपाली हस्तकलामा विविधता झल्किएको छ भने अरू देशको हस्तकलालाई उछिन्न सक्ने हैसियत देखाएको छ । नेपाल हस्तकला महासंघले पनि प्रदर्शनीमा थाङका, मूर्तिलगायत प्रदर्शनी गरेको छ । महासंघले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सामग्री समावेश गरेको हस्तकला महासंघका सदस्य रवीन्द्र शाक्यले बताए ।


चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) को भावनामा रहेर चीन तथा विभिन्न मुलुकबाट पुगेका कूटनीतिज्ञ, व्यवसायी तथा उद्योगी नेताहरूले अन्तरक्रिया पनि गरेका छन् । अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले नेपालको पर्यटन, लगानी वातावरण, सरकारले दिएको सहुलियत, सरकारका वैदेशिक लगानीसम्बन्धी नीति, नेपाल भ्रमण वर्ष २०२० का लागि उपयुक्त गन्तव्य तथा आकर्षक क्षेत्रहरूबारे जानकारी दिएका छन् । प्रदर्शनी आइतबार सकिने छ ।

प्रकाशित : श्रावण २२, २०७६ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?