नागढुंगा–सिस्नेखाला सुरुङमार्ग : धादिङतर्फ मुआब्जा वितरणमा सहमति

विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्ने खोला सुरुङमार्ग निर्माणका लागि धादिङतर्फ मुआब्जा वितरण गर्ने सहमति भएको छ । शनिबार काठमाडौं र सोमबार धादिङमा भएको सर्वपक्षीय छलफलपश्चात् मुआब्जा वितरणको प्रक्रिया अघि बढाउने निर्णय भएको हो ।

धादिङतर्फ सुरुङमार्ग निर्माणका लागि १०९ रोपनी जग्गा प्रयोग हुनेछ । जसमध्ये ४४ रोपनी स्थानीयको पर्छ । ४४ मा पनि करिब २६ रोपनी जग्गा ‘श्री ५ को वायु गुठी’ को रहेको नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले बताए ।

‘सामान्यतया गुठीको जग्गामा मोहीले एक तिहाइ पाउँछ,’ उनले भने, ‘हामीले शतप्रतिशत मुआब्जा मोहीलाई दिनका लागि मन्त्रिपरिषद्मा निर्णय गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत पहल हुनेछ ।’ गुठी विधेयक पारित भएको भए
मोहीले ५० प्रतिशत मात्र मुआब्जा पाउने थिए ।

‘गुठीको नाममा भएको जग्गा सरकारको नाममा ल्याउनुपर्ने र मुआब्जा दिनुपर्ने हुन्छ,’ उनले भने, ‘पहिला दुई तिहाइ गुठी संस्थानले लग्थ्यो, एकतिहाइ जनताले पाउँथे, अब शतप्रतिशत जनताले पाउने गरी निर्णय गराउन माग गरेका छौं ।’ उनका अनुसार सरकारले आफ्नै हिसाबले गुठी संस्थानलाई आवश्यकताअनुसार क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।

धादिङतर्फ एक वर्षअघि नै मुआब्जा वितरण गर्नेबारे सूचना प्रकाशित भएको थियो । गत वर्ष निर्धारण गरिएअनुसार नै मुआब्जा वितरण गरिनेछ । प्रमुख खरेलका अनुसार प्रतिआना ७ देखि ९ लाख निर्धारण गरिएको छ । ‘सरकारबाट गुठीबारे निर्णय हुन जग्गा खाली हुन्छ,’ उनले भने, ‘नियम पूरा भएपछि मुआब्जा वितरणमा पैसाको समस्या हुने छैन, नियमअनुसार मुआब्जा वितरण थालेर निर्माणका लागि अघि बढ्नेछौं ।’

सुरुङमार्ग निर्माणको ठेक्का एक महिनाभित्र लगाउने तयारीअनुसार काम भइरहेको छ । काठमाडौंतर्फको मुआब्जा वितरण टुंगिसकेको छ । गत आवबाट मुआब्जा वितरण थालिएको हो । काठमाडौंमा मात्र करिब ४ अर्ब २० करोड मुआब्जा वितरण भइसकेको छ । यहाँ २८६ देखि ३ सय रोपनीसम्म जग्गा सुरुङमार्ग निर्माणमा पर्छ । धादिङतर्फ त्रिभुवन राजपथको जग्गा बढी पर्छ ।

धादिङमा करिब एक अर्ब जति मुआब्जा वितरण गर्नुपर्ने हुन्छ । ठेक्कामा जापानी कम्पनी हाज्मा/एन्डो जेभी छनोट भएको छ ।
असारमै सम्झौता गर्ने भनिए पनि जापानी सहयोग नियोग (जाईका) को टोकियोमा सहमतिका लागि पठाएको पत्रको जवाफ आउन ढिलाइ हुँदा काम अघि बढ्न सकेको थिएन ।

सडक विभागको वैदेशिक समन्वय महाशखाका प्रमुख अर्जुनजंग थापाका अनुसार एक महिनाभित्र निर्माणको ठेक्का सम्झौता हुनेछ । ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम सक्नुपर्ने हुन्छ । जापान सरकारकै ऋण सहयोगमा सुरुङ मार्गको निर्माण गर्न लागिएको हो ।

सुरुङको लम्बाइ २ दशमलव ६८ किमि हुनेछ । नागढुंगाबाट सिस्नेखालासम्म मात्र सुरुङ निर्माण हुनेछ । सुरुङमार्ग गुर्जुधाराबाट पश्चिमतर्फ ६ सय मिटरको अकासे–पुल (फ्लाई ओभर) बन्नेछ । यो उत्तरतर्फ मोडिएर साढे २ की सडक बन्ने र जुन सुरुङ मार्गको मुखमा पुग्नेछ ।

सिस्नेमा सुरुङबाट निस्किँदा ५ सय मिटर नयाँ सडक बन्ने र जुन त्रिभुवन राजपथसँग जोडिनेछ । यो २२ अर्बको ठेक्का हो । मुआब्जा वितरण र परामर्श सेवा पनि यसैमा जोडिनेछ । जापान सरकारको करिब १६ अर्ब मात्र ऋण भएको र मुआब्जा नेपाल सरकार आफैंले तिर्नुपर्नेछ ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्

परीक्षण स्याउ खेती सफल

माधव अर्याल

पाल्पा — स्याउ खेती प्रायः हिमाली भेगमा गरिन्छ । पछिल्ला दिनमा भने हिमाल नजिक र पहाडी भेगका बस्तीमा पनि यसले सफलता पाएको छ । पाल्पाको रैनादेवी छहराका विभिन्न स्थानमा किसान आफैंले गरेको परीक्षणमा स्याउले राम्रो दाना लगाएको छ । छहरा, मुझुङ, बराङदी, पालुङमैनादीलगायत चिसा ठाउँमा स्याउ फलेको छ ।

विभिन्न स्थानमा परीक्षणका लागि लगाएका स्याउमा राम्रो फल लागेको छ । बोट हुर्केका छन् । किसानका अनुसार यसलाई सफल परीक्षण मान्न सकिन्छ । रैनादेवी–४ छहराका लक्ष्मण रायमाझीको घरमा लगाएको स्याउका बोटमा तीन सयभन्दा बढी दाना फलेका छन् । ‘गत वर्ष एउटै बोटमा ४ सयभन्दा बढी दाना फल्यो,’ उनले भने, ‘यसरी फल्छ/फल्दैन भन्ने कुरामा दोधारमा भएर बिरुवा लगाइएको हो ।’

उनले घरमै स्याउ फलेर सफलता पाएपछि खुसी लागेको बताए । मुस्ताङ घुम्न जाँदा बोटमै टिपेर स्याउ खाएको अनुभव अहिले घरमै लिन पाएको सुनाए । यहाँ फलेको स्याउको स्वाद पनि मिठो छ । मुस्ताङको मार्फामा र घरमै टिपेर खाएको अनुभव उस्तै लागेको उनको अनुभव छ ।

कृषिविज्ञका अनुसार स्याउ मध्यम चिसो, चिसो र हिमाली भेगमा फल्छ । मध्यम चिसोका लागि आवश्यक पर्ने जात कृस्पिन, रेड जुन, कक्स, अरेन्ज पिपिनलगायत छन् । जुन स्याउ १ हजार ५ सयदेखि २ हजार मिटरसम्को उचाइमा उपयुक्त हुन्छ । कम चिसो आवश्यक पर्ने जातमा अन्ना भोरिड, ट्रपिकल ब्युटीलगायत १ हजार २ सयदेखि १ हजार ५ सयसम्मको उचाइमा फल्छन् ।

ती जातका विषयमा कोही कसैले पनि जानकारी नदिएको किसान मीना रायमाझीले बताइन् । उनको घरमा पनि स्याउका बोट हुर्केका छन् । ‘गत वर्षदेखि फल दिएको छ, हिमालतिर मात्र फल्छ भन्थे,’ उनले भनिन्, ‘अहिले हाम्रै घरमा फलेको छ । घरकै स्याउ टिपेर खान पाउँदा खुसी लागेको छ ।’

स्याउ खेतीका लागि मलिलो, पानीको राम्रो निकास भएको जग्गा आवश्यक पर्छ । माटोमा हावाको सञ्चार राम्रो भएको दोमट वा बलौटे माटोमा स्याउको बिरुवा हुर्कन्छ । स्याउ खेतीका लागि सकेसम्म दक्षिण मोहडा भएको पारिलो जग्गा उपयुक्त हुन्छ । रैनादेवी छहराका विभिन्न स्थानमा हिमाली क्षेत्रबाट ल्याएर झन्डै सयवटा स्याउका बोट लगाइएका छन् ।

आगामी वर्षमा कलमी गरेर बिरुवा पनि उत्पादन गर्ने सोच किसानको छ । किसान आफैंले स्थानीयस्तरमा तयार गरेर पनि बिरुवा लगाएका छन् । कतिपयले डोल्पा, मनाङबाट ल्याएका बिरुवा हुर्किएका छन् । परीक्षणमै लटरम्म फलेपछि अब स्याउको व्यावसायिक खेती गर्न सकिने किसान रायमाझीले बताइन् । परीक्षणका क्रममा किसानले प्राविधिकको सल्लाह भने पाउन सकेका छैनन् ।

दुई वर्षमै बोट अग्लो र त्यसमा लटरम्म फलेपछि किसान पनि उत्साहित छन् । स्थानीय मेहलढाब, छहराको छहरा, दह, काफलबुटालगायत स्थानमा व्यावसायिक खेती गर्न सकिने भएपछि उनीहरू उत्साहित भएका हुन् । यहाँ फलेको स्याउको स्वाद पनि हिमाली भेगको जस्तै भएको रैनादेवी छहरा–४ का वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए ।

‘स्वादमा फरक नभएपछि र परीक्षण पनि सफल भएपछि किसानले यसलाई व्यावसायिक रूप दिने तयारी गरेका छन्,’ उनले भने । परीक्षणकै लागि लगाइएको बोटमा दुई वर्षमै स्याउ फलेको हो । गाउँका सबैलाई स्याउप्रति उत्साहित बनाएको छ । किसान आफैँले तयार गरेको बिरुवा पनि सहज तरिकाले सरेकाले झन् उत्साही भएका छन् । स्याउ खेती विस्तारमा कृषि ज्ञान केन्द्र र स्थानीय सरकारले भने अहिलेसम्म कुनै योजना बनाएका छैनन् ।

रैनादेवी छहराले कृषिमा बजेट विनियोजन गरे पनि स्याउका विषयमा अहिलेसम्म कुनै सोच नभएको गाउँपालिकाका प्रवक्तासमेत रहेका पोखरेलले बताए । यहाँ उत्पादन भएको स्याउ पाक्दा निकै रसिलो र मिठो भएकाले पनि यसको बजारमा कुनै समस्या नहुने किसानको दाबी छ । बिरुवा उत्पादन, खेती गर्ने तरिका र यस क्षेत्रको भौगोलिक अध्ययनका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने किसानको माग छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्