सुनको मूल्य हालसम्मकै उच्च

आइतबार प्रतितोला ६६ हजार ३ सय रुपैयाँमा कारोबार
यज्ञ बञ्जाडे

काठमाडौँ — घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको छ । आइतबारका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला ६६ हजार ३ सय रुपैयाँ सुनको मूल्य तोकेको हो । विश्व बजारमा सुनको मूल्य बढेर १ हजार ४ सय ४१ डलर प्रतिऔंस पुगेपछि नेपाली बजारमा पनि हालसम्मकै उच्च बनेको हो । 

सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य अकासिएसँगै बजारमा सुनको कारोबार ७५ प्रतिशतले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । शुक्रबार नेपाली बजार प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा सुन कारोबार भएको थियो ।


पछिल्ला महिनामा सुनको मूल्य निरन्तर उकालो लागे पनि कारोबार ठप्पजस्तै भएको शाक्यले बताए । ‘ग्राहकले आफूसँग भएको सुन धमाधाम बिक्री गरिरहेका छन्,’ उनले भने, ‘व्यवसायीले पनि महँगो मूल्यमा सुन किनेर स्टक गर्न छोडेका छन्, धेरै व्यवसायीले आफूसँग भएको स्टकबाटै काम चलाइरहेका छन् ।’


उच्च मूल्यका कारण सुनको कारोबार ओरालो लागेको सुनचाँदी तथा रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए । ‘मूल्य निरन्तर बढिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा सुनको रिर्टन फ्लो बढेको छ ।’ बजारमा माग नभएकै कारणले बैंकको सुन नबिकेको उनले बताए । ‘बैंकको सुन बिक्रीका लागि बजारमा सुन माग हुनुपर्‍यो नि ?’ उनले भने, ‘कारोबार नै छैन अनि कसरी विकोस त बैंकको सुन ?’ बजारमा गैरकानुनी सुन भित्रिएकाले बैंकको सुन नबिकेको हो भन्ने कान्तिपुरको जिज्ञासामा उनले भने, ‘त्यो होइन, गैरकानुनी सुन आएको जानकारी छैन ।’


खासगरी चीन र अमेरिककाको व्यापार युद्धका कारण सुनको मूल्य अकासिएको जानकारहरू बताउँछन् । पछिल्लो समय अमेरिककाले चीनसँगको व्यापारमा कडाइ गरेपछि लगानीकर्ताले सुनमा लगानी बढाएका छन् । केही महिनायता अमेरिकाले तीनपटकसम्म चीनबाट आयात हुने समग्रीमा कर बढाइरकेको छ । चीन र अमेरिकाको युद्धकै कारण विश्व बजारमा सुनको मूल्य महँगो भएको र त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको जानकारहरू बताउँछन् ।


बैंकमा थुप्रियो पौने आठ सय किलो सुन

करिब १ महिनायता बैंकले सुन आयात रोकेका छन् । यसअघि आयात भएको सुन बिक्री नभएपछि बैंकले गत असार २० देखि सुन आयात रोकेका हुन् । आइतबारसम्म करिब ७७० किलो सुन थुप्रिएको बैंकर्स संघले जनाएको छ ।


स्टकमा रहेको सुन बिक्री हुन छोडेपछि बैंकहरूले सुन आयात रोकेका हुन् । बैंकहरूमा दैनिक कुल ६ सय किलोभन्दा बढी

सुन थुप्रिन थालेपछि असार २० गतेदेखि कुनै पनि बैंकले सुन आयात नगरेका संघले बताएको छ । अनौपचारिक माध्यमबाट भित्रिएको सुन बजारमा छ्यापछ्याप्ती भएपछि बैंकको सुन बिक्री नभएको विज्ञहरू बताउँछन् ।


गत जेठ १५ देखि सुनको बिक्रीमा कमी आए पनि पछिल्ला दिनमा ठप्प भएको बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । ‘करिब एक महिनादेखि सुन बिक्री भएको छैन,’ उनले भने, ‘आइतबारसम्म स्टकमा ७७० किलो सुन थुप्रिएपछि आयात रोकिएको छ ।’ हाल स्टकमा रहेको सुन वर्षकै सबैभन्दा धेरै भएको उनले बताए । विवाहको सिजनमा सुनको माग बढ्नुपर्नेमा झन् घटदै गएकाले शंका उत्पन्न भएको उनको भनाइ छ ।


‘जेठ १० गते स्टकमा ९० किलो सुन थियो, १७ मा ७५ किलो पुग्यो, असार १५ मा आउँदा ५ सय ९० किलो हुँदै २० सम्म ६७२ किलो पुगेको छ,’ उनले भने, ‘अब यो सुन बिक्री नहुँदासम्म आयात गरिँदैन ।’ यो बीचमा गत असार मसान्तमा एक वाणिज्य बैंकले भने सुन आयात गरेको उनले बताए ।


हाल वाणिज्य बैंकले मात्र सुन आयात गर्न पाउने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार २२ वटा वाणिज्य बैंकहरूले पालोअनुसार दैनिक २० किलोका दरले सुन आयात गर्दै आएका छन् । यसको व्यवस्थापन बैंकर्स संघले गर्छ ।


नेपालमा प्रभावकारी नियमन हुन नसकेकाले उपभोक्ता मर्कामा परेको जानकारहरू बताउँछन् । सुन आयातयोग्य वस्तु भएकाले त्यसको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार नै समायोजन हुने तर सोअनुसार तत्कालै नेपालमा मूल्य समायोजन हुन नसक्नु, ठूलो परिणाममा अनौपचारिक अर्थतन्त्र रहनुलगायत कारण सुन बजारमा समस्या देखिँदै आएको जानकारहरू बताउँछन् ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?