अरुण तेस्रोको काम २२ प्रतिशत सकियो

कान्तिपुर संवाददाता

काठमाडौँ — ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम २२ प्रतिशत सकिएको छ । आयोजनाको प्रवर्द्धक एसजेभीएन लिमिटेड (सतलज) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आइतबार उर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुनलाई भेटेर आयोजनाको प्रगतिबारे जानकारी गराएका हुन् । एसजेभीएनमा भारत सरकारको पनि लगानी छ । 

भेटमा मन्त्री पुनले समयमै आयोजना सकिने अपेक्षा राखेको सचिवालयद्वारा विज्ञप्तिमा जनाइएको छ । उनले आयोजनामा समस्या देखिए सहजीकरणको लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको विज्ञप्तिमा उल्लेख छ ।


एसजेभीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले आयोजना समयमै सकिन प्रतिबद्धता जनाए । उनका अनुसार सुरुङको १२ प्रतिशतसहित आयोजनाको कूल २२ प्रतिशत काम सकिएको छ । भेटमा मन्त्री पुनले सुरुङ निर्माण, आयोजनाको अवस्था, सुरक्षा व्यवस्थालगायतको बारे जिज्ञासा राखे ।


वैशाख अन्तिम साता प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाट भिडियो कन्फ्रेन्समार्फत आयोजनाको शिलान्यास गरेका थिए । सतलजले २०६५ साउन ३ गते आयोजना सर्वेक्षण अनुमति पाएको थियो ।


आयोजना निर्माणका लागि १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । पीडीए सम्झौताअनुसार नेपालले अरुण तेस्रोबाट उत्पादित बिजुलीको २१ दशमलव ९ प्रतिशत अर्थात् १ सय ९७ मेगावाट निःशुल्क पाउनेछ । बाँकी बिजुली प्रवर्द्धक कम्पनीले भारत निर्यात गर्नेछ ।


आयोजनाबाट नेपालले कुल १ खर्ब ६ अर्बभन्दा बढी रोयल्टी पाउने र ७७ अर्ब बढी राजस्व पाउने लगानी बोर्डको बोर्डको आंकलन छ । बोर्डको तथ्यांकअनुसार आयोजनाबाट नेपाललाई कुल ३ खर्ब ३८ अर्बभन्दा बढी आर्थिक लाभ हुनेछ ।


विश्वव्यापी खुला प्रतिस्पर्धाबाट सतजलले यो आयोजना निर्माणको जिम्मा पाएको हो । आयोजना संखुवासभामा पर्छ ।

प्रकाशित : श्रावण १९, २०७६ १४:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मालपोत कार्यालयको काम अनलाइनबाट  

रमेशचन्द्र अधिकारी

धनकुटा — मालपोत कार्यालय धनकुटाको सेवा आजदेखि भू–अभिलेख सुचना व्यवस्थापन प्रणाली (अनलाइन) बाट थालिएको छ । भूमि प्रशासनलाई प्रविधिमैत्री बनाइने उद्देश्यले अनलाइन प्रणालीमार्फत मालपोतको अभिलेख थालिएको जनाइएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले औपचारिक रुपमा अनलाइन प्रणालीको उद्घाटन गरेका छन् ।

सेवाग्राहीलाई मालपोतमा गरिने कारोबार सुरक्षित गर्न अनलाइन प्रणालीले सघाउ पुर्याउने दुवाडीले बताए । एक पटक प्रयोग गरिएको अभिलेख अर्को कारोबार गर्दा सेवाग्राहीबारेको आवश्यक जानकारी अनलाइनबाटै लिन सकिने भएको छ ।

‘औंठा छाप, फोटो तथा सेवाग्राहीको विवरण अनलाइनमा सुरक्षित रहने छ,’ महानिर्देशक दुवाडीले भने, ‘कारोबार गर्दा मालपोतका सेवाग्राहीको मोबाइलमा म्यासेज जाने भएकोले अब जग्गाको सुरक्षा समेत हुने भएको छ ।’

विगतमा पुरानो पद्धतिबाट गरिदै आएका कार्यमा ढिलाईका साथै थाहै नपाई अर्को व्यक्तिबाट जग्गा किनबेच गर्ने समेतका गतिविधिको अनलाइन पद्धतिले न्यूनीकरण गर्ने जनाइएको छ । मुलुकभरी भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गतका १ सय ३१ मालपोत कार्यालय मध्ये धनकुटा मालपोत ७८ औं शाखाको रुपमा अनलाइन थालनी गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।

मालपोतमा समेटिएका विवरण स्थानीय तहका जनप्रतिनिधि लगायत सम्बन्धित कर्मचारीले समेत अनलाइनबाट सहजै थाहा पाउन सक्ने छन् । मालपोतमा लिने शुःल्क तथा राजश्वबारे अब अनलाइनबाटै सेवाग्राहीले थाहा पाउने भएको छन् । प्रविधिमैत्री भएपछि छिटोछरितो सेवा प्रवाह हुने नापी कार्यालयका प्रमुख मिथलेश यादवले बताए ।

पहिलो सेवाग्राही सम्मानित
मालपोत कार्यालयमा थालिएको अनलाइन सेवा लिने पहिलो सेवाग्राही सम्मानित भएका छन् । जग्गा खरिदका लागि आएकी लक्ष्मी तामाङ र उनलाई जग्गा बिक्रि गर्ने कर्णबहादुर तामाङलाई सम्मान गरिएको हो । किनबेचपछि जग्गा धनीपुर्जा पहिलो पटक अनलाइन प्रणालीबाट भरिएको छ ।

प्रकाशित : श्रावण १९, २०७६ १४:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×